अपडेट 
२०७८ बैशाख १०, शुक्रबार ०७:२७

प्रदेश २ को नामाकरणका लागि ६ र राजधानीका ७ वटा प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको छ ।

काँग्रेसले अन्तिम समयमा बिहीवार मिथिला–भोजपुरा नाम प्रस्ताव दर्ता गराए । शिवचन्द्र चौधरीले प्रस्ताव गरेको मिथिला–भोजपुरामा सांसद मञ्जु कुमारी यादव र प्रमिला देवी दासले समर्थन जनाएकी थिइन् । यसअघि सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा माओवादी केन्द्रले मधेस प्रदेश नाम प्रस्ताव गरिसकेको छ । नेकपा एमाले भने जानकी प्रदेश तोक्न प्रस्ताव दर्ता गराएको छ । यस्तै एमालेकै शारदादेवी थापाले जनक र नेपाली काँग्रेसका राजेश्वर प्रसाद साहले मध्य मधेस प्रदेश नाम प्रस्ताव दर्ता गराएका हुन् । उनी दुईजना पार्टीको निर्णय विपरित प्रस्ताव दर्ता गराएको बुझिएको छ । यस्तै राजधानीका लागि सत्तारुढ जसपा, माओवादी केन्द्र, नेकपा एमाले र नेपाली काँग्रेसले पार्टीको निर्णय बमोजिम जनकपुरधामलाई स्थायी राजधानीको प्रस्ताव दर्ता गराएको छ । काँग्रेस साँसद राजेश्वर प्रसाद साह र जसपा साँसद सिंहाशन साह कलवारले वीरगञ्जलाई स्थायी राजधानी तोक्न प्रस्ताव दर्ता गराएका छन् । जसपा साँसद कलवारसँगै प्रह्लाद गिरी, भिमा यादव र करिमा बेगमले पनि राजधानी वीरगंजको लागि प्रस्ताबमा समर्थन जनाएका छन् । प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव दर्ता गराउन प्रदेशसभाले वैशाख २ मा सातदिने सूचना जारी गरेको थियो ।

सूचना अनुसार प्रदेशको नामाकरण र राजधानी तोक्नेबारे प्रस्ताव दर्ता भएपछि शुक्रवार बस्ने प्रदेशसभामा बैठकमा टेबल गरिने प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि ०७६ चैत ४ मा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने विषयमा प्रदेशसभामा मतदान नै भएको थियो । तर सत्तारुढ जसपाले मात्र प्रस्ताव गरेको मधेस प्रदेशमा सहमती नजुट्दा राजधानीको पनि टुङ्गो लागेन । जबकी राजधानी जनकपुरधामलाई तोक्ने विषयमा प्रदेशसभामा रहेका सबै दलबीच सहमती बनिसकेको थियो । यसपटक पनि लगभग नाममा सहमती जुट्ने सम्भावना कमै देखिन्छ । नामको विषयमा भने दलहरुले फरक फरक प्रस्ताव दर्ता गराएका कारण सहमती जुट्ने सम्भावना न्यून रहेको छ । नाम र राजधानी प्रस्ताव पारित गर्न दुईतिहाई बहुमत चाहिने कानूनी प्रावधान छ । प्रदेशसभामा १०७ साँसद थिए । जसमध्ये आफ्ना चार साँसदलाई माओवादी केन्द्रले पदमुक्त गरिसकेको छ । अहिले सत्तारुढ जसपाको ५५, माओावादी केन्द्रको ७, नेपाली काँग्रेसको १९, नेकपा एमालेको २१ र नेपाल संघीय समाजवादी पार्टीका १ गरी कुल १०३ साँसद छन् । यसको दुईतिहाई ६९ साँसद हुन्छ । मधेस प्रदेशको प्रस्ताव गरेका सत्तारुढ जसपा र प्रतिपक्षी माओवादी केन्द्रको साँसद जोड् दा ६२ पुग्छ ।

मधेस प्रदेश पारित गराउन अझै ७ साँसद आवश्यक पर्छ । दुईतिहाई बहुमत पुर्याएर प्रदेशको नाम मधेस प्रदेश राख्न काँग्रेस र एमालेको सहयोग लिनुपर्ने हुन्छ ।

Comment


Related News

Latest News

Trending News