अपडेट 
२०७८ बैशाख ११, शनिबार ०९:४३

जनता समाजवादी पार्टीका पूर्व राजपा पृष्टभूमिका युवानेता किसोर गुरुले १९ अप्रिल अर्थात् गत सोमवार विहान आफ् नो फेसबूक प्रखालमा सगौरव लेखेका थिए – ‘ मन्त्रीपरिषद बैठकले मधेश/थारु आन्दोलनको क्रममा लगाइएका मन्त्रीपरिषद्बाट फिर्ता गर्न मिल्ने मुद्दाहरु फिर्ता गरेको छ । धन्यवाद छ महन्त ठाकुरज्यु र राजेन्द्र महतोज्युलाई । ’ प्रतिउत्तरमा उपेन्द्र यादव पक्षधर अर्का युवा नेता आतीश मिश्रले सोही दिन सरकारी पत्रिका गोरखापत्रको अनलाईन संस्करमा छापिएको समाचार पोष्ट गरे । जसको लिड निम्न अनुसार थियो –‘ सरकारले जनता समाजवादी पार्टी (जसपा) नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिनेबारे कुनै निर्णय नगरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभयो ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मधेश तथा थरुहट–थारुवान आन्दोलनका क्रममा संलग्न भएका राजपा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिनेबारे कुनै निर्णय नभएको सूचना प्रविधिमन्त्री गुरुङले गोरखापत्र अनलाइनसंग भन्नुभयो । ’ कुरा यतिकैमा रोकिएन । कांक्रो जस्तै भित्र चिरा चिरा भएको तर वाहिरी आवरणमा एउटै देखिएको जसपाका अन्य नेता कार्यकर्ताहरुले त नगद र उधारोको तिखो शब्दवाणसमेत हान्न भ्याए । पूर्व राजपा पृष्टभूमिका नेता कार्यकर्ताहरुले लेखे – मधेस र मधेसीको मांग नगदीमा पूरा भयो । ओली नेतृत्वको सरकार मधेस र थरुहट आन्दोलनका मांगहरु पूरा गर्यो । पूर्व फोरम पृष्टभूमिका नेताहरुले लेखे– ‘ खोई नगदीमा पूरा भएको । यो त उधारो पो हो । मन्त्रीपरिषद् को बैठकले कुनै निर्णय नै गरेको छैन । चुरो कुरा थाहै नपाई उफ्रिने , दुखी हुने अनि लेख्ने–बोल्ने हाम्रो पुरानो वानी हो । राजनीतिमा स्थायी मित्र र दुश्मन कोही हुदैन । मित्रता र दुश्मनीको आधार समय र मुद्दा हुन्छ । मुद्दा मिल्नेसंग सहकार्य र नमिल्नेलाई वहिष्कार गरिन्छ । ‘चलु जनकपुर । भरु जनकपुर ’ नारा दिने वेला तत्कालीन नेकपा अध्यक्ष ओली तथा प्रचण्ड मधेसी दलको निसानामा थिए । आन्दोलनमा तत्कालीन फोरम र राजपा दुबैको टाउको र जिब्रो एउटै थियो । तर आम निर्वाचन पश्च्यात् टाउको पनि छुट्टियो , जिब्रो पनि ताछियो । उपेन्द्र यादवजी ओली सरकारका सहयात्री बने । उप्रधानमन्त्री बने । संगै निर्वाचन लडेका । संविधान संशोधनको लागी संगै आन्दोलन गरेका महन्थजी र उपेन्द्रजीको कित्ता विभाजन भयो ।

एउटा सडकमा पुगे । अर्को सरकारमा रमाए । आन्दोलनको क्रममा ज्यान गुमाएका विर सहिदहरुको आत्माके के भनेको होला ? उनिहरुलाई हेक्का रहेन । ओली नेतृत्वको सरकारमा उपेन्द्रजी र उनी नेतृत्वको पार्टी सहभागी भई रहदा पनि नगदी र उधारोको विषय नउठेको होइन । त्यतिवेला आजका आतीशजीहरु सत्तासमिकरणको पक्षमा उभेका थिए । सत्ता समिकरण नगदीमा भएको ठोकुवा गर्दै थिए अनि सरकार बन्नु पूर्व भएको लिखित समझौताको प्रतिलिपि बोकेर हिड्ने तथा मधेसी र थारुको मांग यथाशिघ्र पूरा हुने आश्वासन बाड्दै थिए । तर अहिले गंगा उल्टो बगेको छ । अचेल किसोर गुरुहरु मांग नगदीमा पूरा भएको दावी गर्दैछन् । मधेस र मधेसीको मांगहरु पूरा हुने आश्वासन बाड् दैछन अनि सत्तासमिकरणका विधि विधानहरुलाई जायज भन्दै उफ्रिदै छन् । परिस्थिती अनुसार राजनीतिक समिकरण बनाउनु , सत्तारोहन गर्नु अस्वाभाविक होइन । कारण राजनीति साधु बन्न गरिदैन । पाए मन्त्री–प्रधानमन्त्री बन्ने ध्येय सबैको हुन्छ । यो स्वाभाविक पनि हो तर दुनियामा महात्मा गांधी जस्ता नेता पनि भए , जो भारतको प्रधानमन्त्री वा राष्ट्रपति त भएनन तर राष्ट्रपिता चहि भए । हाम्रै गणेशमान सिंह मुलुकको प्रधानमन्त्री नभएर पनि नेपाली राजनीतिमा श्रद्धाका पात्र चहि बनेका छन् । मधेस आन्दोलनको लामै इतिहास छ । आन्दोलनको वलिवेदीमा मधेसीले प्राप्त गरेको उपलब्धि मध्यम भएपनि आन्दोलनको क्रममा सहादत दिने शहिदहरुको सूचि भने लामै छ । शहिदहरुको सहादतको नाममा मन्त्री–जन्त्री , सांसद,मेयर उपमेयर आदि बन्नेहरुको सूचि त झन लामो छ । हो , आन्दोलनकारी मधेस केन्द्रित दल तथा अन्य दल एवं विभिन्न कालका सरकारहरुसंग गरिएका लिखित तथा मौखिक समझौताहरुको फिहरिस्त पनि लामै छ ।

समझौताहरु कार्यान्वयन नभएको गुनसोको पोको पनि ठुलै छ । गुमाउने वेला मधेसले गुमाए । थरुहटले गुमाए तर प्राप्त गर्ने वेला यिनै मुठीभर कहबैकाहरुले प्राप्त गरे – जो पञ्चायतकालमा पनि प्राप्त गरेका थिए । काग्रेस र कम्युनिष्ट कालमा पनि प्राप्त गरेका थिए । ल भन्नौस – आम मधेसीले के पाए ? अव नगदी र उधारोको एउटा ताजा घटनाको विश्लेषण गरौं । सरकार र जसपा बीच नगदीमा समझौता भएको झ्याली पिटिदै गरेको दिन लुम्बिनी प्रदेशमा गजवको नाटक मञ्चन भयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको विरोधमा अविश्वासको प्रस्ताव दर्ता गराउने निधो काग्रेस र माओवादी केन्द्रका नेताहरुले गरेका थिए । विहान जसपाका नेताहरु पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरे । अनि वेलुका जसपाका चार प्रदेशसभा सदस्य शंकर पोख्रेलको मन्त्रीमण्डलमा मन्त्री बने । अविश्वासको प्रस्तावको ऐसीकि तैसी भयो । नगदी र उधारोको चक्रव्युहमा फंसेका मधेसी नेता तथा कार्यकर्ताहरुसंग मैले त्यसैदिनदेखि एउटा सवाल सोध्न मन लागेको छ – मधेस र थरुहट आन्दोलनकारीहरुको मुद्दा फिर्ता भयो ? रेशम चौधरी जेलमुक्त भए ? अनि शंकर पोख्रेलको सरकार जोगियो कि जोगेन ? हो , प्रधानमन्त्री ओलीजीले मधेसी र थारुहरुको मांग पूरा गर्ने आश्वासन दिनु भएको हो । भोली मांग पूरा पनि हुन्छ होला । तर के यो नगदी हो ? होइन । उधारो हो तर जसपाले सोहि दिन शंकर पोख्रेलको सरकार बचाई दिएर नगदी व्यवहार गरेको छ ।

आफ् ना नेताहरुलाई मन्त्री बनाई दिएर नगदी व्यावहार गरेको छ । मधेस केन्द्रित दलका नेताहरुको काम कार्यवाहीलाई आम मधेसी ट्वाल्ल परेर हेर्दै छन् अनि भन्दै छन् – नगदी भनेको एक हातले दिने अनि अर्को हातले लिने होईन र नेताजीहरु ?

Comment


Related News

Latest News

Trending News