अपडेट 
२०७८ बैशाख १४, मंगलवार १०:३५

मौसम, कोरोना र राजनीति, तीनवटैको गर्मीको ग्राफ बढदो छ । बढदो गर्मीको कारण पानीको मुहानहरु सुकेर पानीको हाहाकार हुने स्थिति बन्दै छ । कोरोनाको ग्राफले मानिसको जीवन धरापमा पार्दैछ । हरेक दिन कोरोना संक्रमित र यस रोगबाट मर्नेको संख्या बढदै गएको छ । विगत दसदिनपहिले दुई अंकमा देखिने कोरोना संक्रमितको संख्या तीनहजार नाघी सकेको छ र हरेक दिन तीन अंकमा छलाङ्ग हानेर मानवीय जीवनलाई भयग्रस्त बनाउँदै छ । स्वास्थ्य सुरक्षाको पूर्वाधारमा चामत्कारिक परिवर्तन भएन भने महामारीको अकल्पनीय त्रासदीको भयावह परिकल्पना सरकारी स्वास्थ्य प्रवक्ताहरुले नै गर्न थालेका छन् ।

देशमा कोरोना संक्रमितको संख्या तीनहजार नाघेसंगै सरकारको स्वास्थ्य विभागले अहिलेकै स्वास्थ्य सुरक्षाको स्थितिमा कोरानासंग लड्न नसक्ने भनेर हात उठाई सकेका छन् । अहिलेसम्म कोरोना संक्रमणको सबैभन्दा बढी मार खप्नु परेको बाँके जिल्लाको कोरोना अस्पतालको एकसय पचास बेडमा चारजना नर्सहरुले धानेको देखेर स्थितिको भयावहताको अनुमान गर्नसकिन्छ । त्यहाँको डाक्टर, नर्स र बिरामीका आफन्तका अनुभूति सुन्दा आङ्ग नै सिरिङ्ग हुन्छ । एउटा बिरामी बेडमा असहाय मरिरहेको छ र अर्को बिरामी बाहिर बेड खाली हुने प्रतीक्षामा छ — कतिखेर बेड खाली हुने हो र आफू त्यस बेडमा जाने ! मानौ एउटा रोगी अर्को रोगी मर्ने प्रतिक्षा गरीरहेको हुन्छ । कस्तो भयावह र पीडादायी मानवीय अनुभूति ? पोहोरसाल कोरोना संक्रमितको संख्या सीमामा भएकोले जेनतेन सबैले धानेका थिए । सरकारले पनि कोरोना संक्रमित नजिक जानबाट स्वास्थ्यकर्मी बाहेक अरुलाई बन्देज गरेको थियो । पोहोरको दुःख फरक थियो । आफन्त बिरामीसंग कस्तो व्यवहार हुने हो भन्ने पीर थियो । संक्रमित कुन अवस्थामा छन्, वा कसरी मृत्यु भयो आफन्तले सुनेकै भरमा थाहा पाउँथे । यो पालीको पीडा भिन्न छ । यो पटक सरकारसंग आवश्यक जनशक्तिको अभाव शुरुमै देखिन थालिएको छ । पोहोर बिरामी बाहेक अन्यलाई कोरोना अस्पतालमा बन्देज गरिएको थियो ।

तर यस पटक बाँकेमा कोरोना संक्रमितका कुरुवाहरु नै बिरामीको हेरचाह गर्न बाध्य छन् । यस्तोमा एकातिर कोरानाका बिरामीहरु बाँच्ने हुन् वा मर्ने हुन् भन्ने त्रास त छँदैछ, यससंगै कतिबेला आफूपनि संक्रमित हुने त्रासले पनि कुरुआहरुलाई सँधैभरी पिरोलिनु स्वाभाविक नै हो । त्यसैगरी विदेशबाट फर्किने, खास गरी छिमेकी भारतबाट नेपाल छिर्नेहरुको उचित व्यवस्थापनको अभावमा असुरक्षित अन्तर्घुलनको कारण समाजमा कति बेला कोरोना संक्रमणको विस्फोट हुने हो भन्न गाह्रो छ । यो दुःसम्भावनाले हमेशा सामुदायिक त्रास फैलाएको छ । राजधानी काठमाँडौ तथा सीमा नजिकका शहरहरुमा देखिएको कोरोना संक्रमितहरुको संख्यामा वृद्धि यसै दुःसम्भावनाका उदाहरणहरु हुन् । हामीजस्तो गरीब देश, जहाँ आर्थिक उपार्जनको मूख्य श्रोत श्रमबेच्नु छ, त्यहाँ स्थिति निल्नु न ओकल्नुको छ । बाहिर निस्कुँ रोग लाग्ने भयो, ननिस्कुँ आफू तथा बालबच्चाको पेट कसरी पाल्नु ? धेरै भयो भने सरकारसंग रोग नियन्त्रण गर्ने एउटा सहज उपाय छ — लकडाउन, निषेधाज्ञा । र यस्को चाल पाउने बित्तिकै नाफाखोर व्यापारीहरुको निम्ती चाँदी नै चाँदी नै हुन्छ । सुँइको पाउनासाथ बजार भाउ उकालो लाग्छ । यसको मारपनि आम गरीब श्रमिक जनताले नै भोग्नु पर्छ । आमजनता र श्रमिक समुदायको निम्ती कोरोना संक्रमण संक्रमित हुने कि भोकै मर्ने दोहोरो त्रासदी हुन्छ भने पूँजीपतिको निम्ती यस्ता त्रासदीहरु अतिरिक्त कमाईका स्वर्णिम अवसर हुने गर्छ । यस्ता त्रासद् अवसर हरुमा समुदायका अन्य सबै पहिचानहरु गौण हुनेगर्छन् ।

बस दुईवटा परिचय मात्र बाँकी रहन्छ — तपाँई धनी हो कि गरीब । तपाँई धनी हो भने सरकारी अस्पतालको अव्यवस्था र असक्षमता तपाँईका निम्ती बाधक हुँदैन । पैसा खर्चेर तपाँई सुविधानुसारको उपचार सहजै गराउन सक्नु हुन्छ । हिजो एउटा पत्रिकामा भारतका धनाढ्यहरु सुरक्षित अथवा कम जोखिम भएको देशमा विदेशिन लागेको विमानस्थलको दृश्य छापिएको थियो । भन्नु परेन, उनिहरुको यस सुरक्षित घुमाईको आर्थिक भार देशका श्रमिकहरुको श्रमबाट उत्पादित मूल्यले नै अर्थात देशकै जनताले नै बेहोर्ने छ । तर गरीब कहाँ जानु ? यसै कारण महामारी वा त्रासदीहरु पूँजीपतिहरुको निम्ती अतिरिक्त कमाई गर्ने सुअवसर हुनेगर्छ । मर्न त रोगबाट पूँजीपतिपनि मछनर्् । तर कुनै रामभरोसे राममन्डली जस्तै दाताले दान दिए ‘रामजी’ले खाने, होइनभने भोकै नाच्न विवस हुने जस्तो सरकारी अस्पतालमा उपचार गराईरहेको गरीबको तुलनामा सुविधासम्पन्न अस्पतालमा उपचार गराईरहेका पूँजीपतिहरुको बाँच्ने सम्भावना कति हा कति बढी हुनेगर्छ । गरीबलाई रोगबाट मर्नलाई आइतबार कुर्नु पर्दैन । उस्लाई त झाडा पखाला लागेपनि सरकारी अस्पतालमा पानीबिना मर्न सक्छ । पोहोर प्रदेशनम्बर दुईको प्रादेशिक अस्पतालमा झाडा पखाला लागेका एकजना सदा थरका युवकको स्मरण तपाँईहरुलाई पनि हुनुपर्छ । ऊ झाडापखालाको कारण शरीरमा पानीको अभाव भएर तिर्खालागेर छटपटाएर मरे, तर कोरोना सर्ने डरले कोहीपनि उसको नजिक पानी खुआउन गएन । कोरोना भनेको त मरेपछि जाँच हुँदा ऊ त झाडापखालाले गर्दा डी हाइड्रेसन भएर म¥यो । उसलाई कसैले पानी खुवाई दिएको भए मर्ने थिएन । डाक्टर त आउँदै आएन, नर्स र अन्यहरु प्नि हेरीरहे मात्र । विडम्बना, खुल्लमखुल्ला यस्तो मानवीय अपराध भएपनि पत्रिकामा समाचार, केही सम्वेदना र केही जनआक्रोश बाहेक अरु केही भएन ।

यस अपराधमा कोहीपनि सजायको भागी भएन । वस्तुतः हामी जस्तो गरीब र राजनैनितक अव्यस्थित देशमा बस्छौँ, जहाँ यस प्रकारका मानवीय अपराध अपराधकै श्रेणीमा पर्दैनन् । फेरी जहाँ शासकदेखी सन्तरीसम्म सबै अतिरिक्त कमाईको निम्ती पटक–पटक नैतिकता र आचारसंहिता उल्लंघन गरिरहेको हुन्छ, त्यहाँ कस्ले कस्लाई कार्वाही गर्नु ? यहाँ कार्वाही र सजाय हुनुको एउटै कारण हुनेगर्छ — तपाँई शासकीय कित्तामा होइन भने, अथवा तपाँई गरीब हो भने तपाँई सजायको भागी बन्न सक्नु हुनेछ । वर्तमान राज्यसत्ताको यस्तै अनैतिक चरित्रको कारण सरकारी निर्देशनको अवज्ञा यहाँ सहजै हुने गर्छ । कोरोना संक्रमणको श्रङखला तोडन धर्मस्थल, विद्यालय, व्यावसायिकसंस्थानहरु बन्द गर्नुपर्ने सामान्य सरकारी निर्देशन पालन गराउनपनि सरकारले प्रहरी नै खटाउनु पर्दो रहेछ । हिजो निजी विद्यालय बन्द गर्ने निर्देशन अटेर गरेको कारण राजबिराजका ११ जना विद्यालय सञ्चालकलाई पक्राउ गर्नु परेको घटनाले सरकारी निर्देशनप्रति जनस्तरमा कति अवज्ञापूर्ण भाव छ भन्ने देखाउँछ । जब कुनै सरकार वा सत्ता जनताका समस्याहरु हल गर्न असक्षम हुन्छ र सानो समस्यामा पनि कुनै विदेशी दाताको मुख ताक्न थाल्छ र पाएको अनुदान सहयोगमा समेत अवैध लूट मच्चाउन थाल्छ, यस्तो सरकारप्रति जनस्तरमा अवज्ञा र असम्मानको भाव स्वाभाविक नै हो । यस्तोमा कसैले कुनै सरकारी निर्देशन पालन गर्छ भने त्यो बाध्यता मात्र होला, सम्मान र स्वस्फूत्र्त त पक्कै होइन ।

वस्तुतः राज्यसत्ता र यसका प्रतिनिधिहरु प्रतिको सम्मानको भाव,राज्यसत्ता स्वयं नैतिक र जनहित समर्पित भएपछि मात्र जन्मने चरित्र हो । यस्तै बेला एउटा इमान्दार समाजवादी व्यवस्थाको आवश्यकता महसूस हुन्छ । एउटा समाजवादी राज्यसत्ता भएको भए उस्ले आफ्ना सबै सुविधाजनक स्थिति कटाएर कोरोना संक्रमण र यसका सम्भावित संकटको सामना गर्ने तयारी गर्ने थियो । बाँकेको कोरोना अस्पतालले भौतिक र आर्थिक संकट झेल्नु पर्ने थिएन । यस्को निम्ती सरकारको चुस्त दुरुस्त आवश्यक योजना र सम्भावित तयारीको महत्व त छँदैछ, यो समाजवादी चेतना र चरित्रको विषयपनि हो । आखिर बाँकेको स्थानीय सरकार र त्यहाँको प्रदेश सरकारको खातामा पनि त रकम, भौतिक र जनशक्ति हुँदो हो ! केन्द्रिय सरकारलाई अनुरोध र दबाब दिनुको साथै तत्कालै अन्य क्षेत्रबाट कटाएर महामारीको केन्द्र बनिरहेको ठाउँमा सबैशक्ति केन्द्रित गर्नसक्नु पथ्र्यो । तर भारी बोकाए मात्र हिड्ने लद्दु घोडा जस्तो हाम्रो निजामती चरित्र भएको हुनाले यस्तो स्वस्फुत्र्तता गाह्रो छ । यसै अराजकता र अव्यवस्थाका बीच कोरोना महामारी देशमा खुट्टा पसार्दैछ । र, यस्तैमा पानीमाथीको ओभानो बन्दै सरकार र विपक्षबीच कुर्सीको खेल चलिरहेको छ । प्रधानमन्त्री र उनको पार्टी कुर्सी बचाउने प्रयत्नमा विपक्ष फुटाउन दाउ खेल्दै छन्, भने माओवादीकेन्द्र र नेका मिलेर सम्पूर्ण विपक्षलाई एकजूट गरेर प्रम केपी शर्मा ओलीलाई कुर्सीबाट झार्न चाहन्छ ।

सर्वोच्च अदालतको आदेशले नेकपा फुटेर एमाले र माओवादीकेन्द्रको पुरानै हैसियतमा पुगेपछि जटिल हुँदैगएको कुर्सी छीनाझपट र कुर्सी बचाउको खेल अब संघीय सरकार मात्रै होइन, प्रदेश सरकारमा समेत घनघोर जारी छ । एमालेकै चारजनालाई फ्लोर क्रस गराएर कर्णाली प्रदेशमा माओवादी केन्द्रले आफ्नो सरकार जोगाएको छ, भने सोमवार यो लेख तयार गर्ने बेला गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ्ग नेतृत्वको एमाले सरकार ढाल्न माओवादीकेन्द्र र नेपाली काँग्रेसले राजमो तथा जसपासंग मिलेर अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गर्दैछ । कुनै आकस्मिक परिविर्तन भएन भने गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ्गको सरकार ढल्ने सम्भावना नै बलियो देखिन्छ । तर यस्को निम्ती दुईतीन दिन कुर्नुपर्ने हुनसक्छ । अन्य प्रदेशहरुमा पनि राजनीतिक अस्थिरता बढेको देखिन्छ । संसदिय राजनीतिमा सरकार चलाउन गठबन्धनको स्थिति उत्पन्न भएमा तथा कुनै दुईवटा पार्टीले मिलेरपनि बहुमत पुग्ने स्थिति नभएमा दुई–चार सीट भएका साना पार्टीहरुको महत्व बढ्छ । र जतिबेला राजनीतिमा वैचारिकता रहँदैन, त्यतिबेला त साना पार्टीहरुको भूमिका झन् रोचक हुनजान्छ । कुनै सैद्धान्तिकता रहँदैन, रहन्छ भने खाली अवसर । जस्ले सबैभन्दा बढी दियो, उसैलाई समर्थन । यस्तै स्थितिको मज्जा अहिले उठाईरहेको छ जनता समाजवादी पार्टी । हुन त जसपा भित्रभित्रै दुई खेमामा विभाजित छ । एकातिर ओलीलाई जसरीपनि कुर्सीबाट झार्न चाह्ने डा. बाबूराम भट्टराई र उपेन्द्र यादव र अर्कोतिर ओलीसंग राजनीतिक मोलतोल गरिरहेका महन्थ ठाकुर र राजेन्द्र महतो लगायत पूर्व राजपा (राष्ट्रिय जनता पार्टी) समूहका नेताहरु छन् ।यता राष्ट्रिय संसदिय खेलमा प्रदेश होस वा संघीय, जसपा सबैको निम्ती हटकेक भएको छ र जसलाई ओली विरोधी र समर्थक दुबै पक्षले आफूलाई तान्न चाहन्छ ।

जसपाको स्थितिपनि रोचक छ । गण्डकी प्रदेशमा उसले ओली समर्थक सरकारलाई ढाल्न र ढलेपछि सरकारमा कतिसीट पाउने हो भनि मोलतोल गरिरहेको छ । संघमा भने तिनै प्रम ओलीको सरकारमा जान महन्थ ठाकुर र राजेन्द्र महतो लगायत खुट्टा उचालेर बसेको छ । तर जसपाको आन्तरिक स्थितिभने अन्तर्विरोधी छ ।जसपाभित्रको डा. भट्टराई र यादवको गुट जसरीपनि ओली सरकारमा जान नहुने पक्षमा छ । समस्या बल्झियो भने जसपा विभाजित हुने खतरापनि उत्तिकै छ । सोमवार सरकारले जसमाका एकसय चालिस जना माथि लागेको राजनैतिक प्रकृतिका मुद्दाहरु खारेज गर्ने वा फिर्ता लिने निर्णय गरेको खबरहरुपनि छन् । ठाकुर र महतोले यस्तो सम्भावना पहिलेदेखी व्यक्त गर्दै ओली सरकारमा जानुपर्ने धारणा राख्दै आएको छ । यद्यपि जसपाले मूख्य माँगको रुपमा सारिएको नागरिकता सम्बन्धमा सम्विधान संशोधन र रेशम चौधरीको रिहाईको स्थिति तत्कालै देखिएको छैन । यस्तोमा ठाकुर र महतोपक्षधरहरुले के गर्छन् भन्ने हेर्नु रोचक नै हुनेछ । जहाँसम्म ओली सरकारको प्रश्न छ, अन्य पार्टीभन्दापनि आफ्नै पार्टीभित्र माधव नेपाल र झलनाथ खनाल पक्षधरहरु उसको निम्ती अनिश्चित टाउको दुखाई छन् । सम्भावित अविश्वासको प्रस्ताव अथवा माओवादी केन्द्रले समर्थन फिर्तालिएपछि संसदमा बहुमत देखाउन आफैले विश्वासको प्रस्ताव लिनुपर्दा नेपाल–खनाल गूटका सांसदले फ्लोर क्रस गर्ने भयले प्रम ओलीलाई उत्तिकै पिरोलेको छ । यसरी संसदीय राजनीतिमा सबैतिर जुन कुर्सीको खेल जारी छ, त्यसमा जनताको दुःख हेर्ने फुर्सद कसैलाई छैन । भोक र गरीबी पहिलेदेखी छँदैथियो, अहिलेको कोरोना महामारीकालमा नेपाली जनता झन् निरीहस्थितिमा देखिएका छन् ।

जनतामा मच्चिएको त्राहित्राहिबारे सरकारलाई दबाब सिर्जनागर्ने, र घच्घच्याउन कुनैपनि पार्टी देखिएको छैन । स्थितिले वर्तमान राज्यसत्ताको चरित्रको गैरजिम्मेवारपना प्रदर्शित गर्छ । यस्तोमा राजनीतिबारे नयाँ किसिमबाट सोँच्ने आवश्यकता त छँदैछ, सामाजिक समस्या र कोरोनाजस्तो त्रासदीमा समेत समुदायको सचेत र जिम्मेवारवर्गले आपसी सद्भावबाट आफ्नो समस्या आफै हल गर्ने सामाजिक चरित्रको विकास गर्नु आवश्यक छ ।

Comment


Related News

Latest News

Trending News