अपडेट 
२०७८ बैशाख १५, बुधबार ०७:१९

जनकपुरधाम । भारतमा कोरोना संक्रमण भयावह रुप लिएको बेला सीमा नाकाबाट मानिसहरु निर्वाद रुपमा आवतजावत गरिरहेको पाइएको छ । सीमा नाकामा सुरक्षा सतर्कता नअपनाउँदा नेपालमा पनि कोरोना संक्रमणले भयावह रुप लिने जोखिम बढेको हो । प्रदेश २ का केहि सीमा नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ ।

तर भारतबाट फर्किनेहरुको भने स्वास्थ्य जाँच गर्ने गरेको पाइएको छैन । कोरोना संक्रमणको लक्षण देखा परेका व्यक्तिलाई चेकजाँच गर्न स्वास्थ्यकर्मी स्वयंम डराउँछन् । सीमामा आवातजावत रोक्न परिचालित शसस्त्र प्रहरी पनि मुकदर्शक बनेका छन् । धनुषाको जटही नाकामा वैशाख ९ गते हेल्प डेस्क स्थापना गरियो । नगराइन नगरपालिकाले त्यहाँ दुई स्वास्थ्यकर्मीलाई खटाएका छन्, तर सोमबार सिअहेब निकेन्द्र साह मात्र भेटिए । विहान १० बजेदेखि ११ बजेसम्ममै डेस्क अगाडीबाट करिब सयौं मानिस भारतबाट फर्किए । तर सवा ११ बजे सिअहेब साहलाई सोध्दा एउटा काँपी पल्टाउँदै भने, ‘आजको मितिमा एकजना मात्र भारतबाट आएका छन् ।’ आँखा अगाडीबाटै भारतबाट मानिसहरु आउँदा समेत उनले नदेखेझै गर्थे । उनले भने, ‘सात दिनभन्दा बढी भारतमा बसेर फर्किने व्यक्तिको मात्र स्वास्थ्य जाँच गर्न निर्देशन दिएको छ । त्यही अनुसार जाँच गरिरहेको छु ।’ तर सात दिनभन्दा बढी भारतमा बसेको कसरी थाहा पाउनुहुन्छ भन्ने जिज्ञासाको जवाफ उनले दिन सकेन । उनले त ९ गतेयता कोरोना लक्षण भएका कोही पनि नआएको दावी गरे । कोरोना त एकछिनमै पनि सर्न सक्छन् भन्ने कुरा सिअहेब साहले स्वीकारे । तर भारतमा सात दिन बसेका व्यक्तिलाई मात्र स्वास्थ्य जाँच गर्न निर्देशन किन दिएको विषयमा केहि बताउन चाहेन् । समान लिएर फर्किरहेका सर्वसधारणलाई उनले सोधपुछ समेत गरिरहेका छैन । ‘

लामो समयपछि भारतबाट आउन लागेको आशंका लागेपछि मात्र सोधपुछ गर्छु’, उनले भने, ‘उनीहरुको तापक्रम थर्मल गनले जाँच गर्छु । तापक्रम नर्मल पाइएपछि उनीहरु घर जान्छन् ।’ सरकारले नाक भएर पैदल आवत–जावतमा समेत रोक लगाएको छ । तर प्रदेश २ का अधिकांश सीमा नाका अझै सिल भएको छैन । सवारी साधन नेपालतर्फ नै राखेर पैदल निर्वाद रुपमा प्रहरीकै अगाडीबाट सर्वसाधारण भारतीय बजार पुग्छन् । यसरी भारत पुगेर स्वदेश फर्किने कोरोना संक्रमण फैलिने जोखिम बढेको छ । सीमा नाकाबाट आवत–जावत रोक्न भने सम्बन्धित निकायले अझै गम्भीर बनेका छैन । जटही नाकाबाट फर्किनेहरु विना स्वास्थ्य चेकजाँच सार्वजनिक यातायातमार्फत जनकपुरधाम आइपुग्छन् । बसमा भने सरकारले तोकेको कुनै मापदण्ड पालना गरेको देखिदैन । न स्यानिटाइज गर्छ, न यात्रुले मास्क लगाउँछन् । यस्ता लापरबाहीका रोकिएन भने जनकपुरधाम पनि कोरोनाको ‘ हटस्पट’ बन्ने जोखिम रहेको छ ।

Comment


Related News

Latest News

Trending News