![](https://ejanakpurtoday.com/wp-content/uploads/2021/04/thumb-gandhi-copy.jpg)
डा. रामसागर पंडित
१. परिचय :
गाँधीको पुरा नाम मोहनदास करमचन्द गाँधी हो । वहाँको जन्म २ अक्टुबर १८६९ ई.मा गुजरातको काठियावाड अन्तर्गत पोरबन्दर (सुदामापुरी) नामक स्थानमा एउटा वणिक (महाजन) परिवारमा भएको थियो । उनको पिताको नाम करमचन्द गाँधी र आमाको नाम पुतलीवाई थिए । पुतलीवाई एउटा धार्मिक महिला भएको हुनाले वहाँमाथि आध्यात्मवादको गहिरो छाप परेको थियो । आमा–बुवाको धार्मिक तथा सादगी विचारबाट महात्मा गाँधी निकै प्रभावित भए । उनको प्रारम्भिक शिक्षा राजकोट मै भएको थियो भन्ने उच्च शिक्षाको लागि सन् १८८८ मा इंगलैण्ड जानु प¥यो । वहाँ १८९१ ई. मा वैरिष्ट्री शिक्षा पास गरेर स्वदेश फर्केका थिए । उहाँले मुम्वई (वम्बई) र काठियावाडमा केही दिन वकालत गरेका थिए । सन् १८९३ ई.मा. एउटा मुकदमाको सिलसिलाको पैरवीमा दक्षिण अफ्रिका पुगे । वहाँ दक्षिण अफ्रिकामा सन् १८९३ देखि १९२४ सम्म बसेका थिए । यसै अवधिमा वहाँले जाति र रंगभेद विरूद्ध निरन्तर र अथक युद्ध गर्दै गर्दा सत्य र अहिंसालाई आधार मानेर पहिलो चोटी त्यही आफ्नो सिद्धान्तको प्रयोग गरेका थिए । वहाँ अफ्रिकाको संघर्षमा बिजयी भए । वहाँ १९१४ ई. मा पुनः भारत फर्के । सत्य र अहिंसाको नारालाई अगाडी बढाउँदै आएको कारणले मान्छेहरू वहाँलाई महात्माको नामले जान्न थाले । त्यस बेला भारतीय राष्ट्रिय कांग्रेस दुई भागमा विभाजित अवस्थामा थिए । जसमध्ये गरमदलको नेतृत्व लोकमान्य बालगंगाधर तिलकले गर्दै थिए भने नरम दलको नेतृत्व गोपालकृष्ण गोखलेले गरेका थिए । महात्मा गाँधी नरम दलसँग आफ्नो सम्बन्ध कायम गरी गोखलेलाई राजनीतिक गुरू मानेर काम गर्न थाले । वहाँ स्वराज्य प्राप्त गर्ने प्रतिज्ञा गर्दै आन्दोलनमा हामफाले । यस आन्दोलनमा हिंसालाई शतप्रतिशत शून्यमा राख्ने निर्णय गरेका थिए । बिचमा १९२२ तिर उनलाई जेल चलान ग¥यो । ६ वर्षको कडा जेल जीवनबाट मुक्त भई पुनः सक्रिय रूपले राजनीतिमा लागे । उनले राजनीतिमा मात्रै होइन, धार्मिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक पक्षका कुरामा पनि आफ्नो विचार प्रकट गरेका थिए । उनले भारतीय स्वतंत्रता हासिल पश्चात सत्य, अहिंसा एवं असहयोगलाई एउटा अलग ढंगबाट आफ्नो आन्दोलनलाई बढाउँदै गए । उनका देनलाई भारतमा मात्र होइन विश्व जगतमा प्रभाव परेको देखिन्छ ।
२. साम्यवादी चिन्तकको रूपमा :
यहाँ प्रश्न उठ्छ कि के महात्मा गाँधी एक साम्यवादी दार्शनिक थिए त ? यसको उत्तरतिर जाँदा गाँधीबाद र साम्यवादका केही मौलिकतातिर हेर्दा एक अर्काको बीचमा निकै समानता रहेको देखिन्छ । महात्मा गाँधी र कॉर्ल माक्र्स दुबैले एउटा यस्तो वर्ग– विहीन समाजको स्थापना गर्न चाहन्थे जसमा गरीबी र अमिरीका बीचमा कुनै किसिमको भेदभाव हुनु हुँदैन तथा सबैलाई आफ्नो क्षमता र कार्यकुशलताको उचित पुरस्कार भेट्नु पर्ने हो । महात्मा गाँधी र कॉर्ल माक्र्स दुबैलाई विश्वास थियो कि वर्गभेदबाट समाजमा फुट उत्पन्न हुन्छ जसमा धनीवर्ग गरीबवर्गको शोषण गरि रहनेछ । दुबै दार्शनिकले राज्यलाई शंकाको दृष्टिले हेर्न थालेका थिए । उनीहरू यसलाई हिंसाको आधार बताएका थिए र यस रूपमा यसको अस्तित्वको औचित्यलाई अनुचित प्रमाणितगरेका थिए । जुन प्रकारले माक्र्सले राज्यलाई एउटा बुराइपूर्ण संस्था सिद्ध गर्दै यसको अस्तित्व विस्तारै खत्म हुने विचार प्रकट गरेका थिए । त्यसै प्रकार महात्मा गाँधीले पनि व्यक्तिको स्वतंत्रता एवं व्यक्तित्व विकासलाई समर्थन गर्दै व्यक्तिको कार्यमा राज्यको अत्यधिक हस्तक्षेपलाई अनुचित एवं गलत सावित गरेका थिए । सम्पत्ति एवं पुँजीको सम्बन्धमा दुबैको विचार समान छ । उनीहरूले पूँजी र सम्पत्तिलाई चोरीको नामले नामाकरण गर्दै समाजका केही मानिसहरू जसको पासमा समाजका अपार सम्पत्ति व पूँजी मौजूद छ, आफ्नो स्वामित्वको बन्धन फुकालोस एवं व्यक्तिगत स्वार्थलाई त्याग्दै समाजहीतलाई अपनाइयोस । यस प्रकार गाँधी र माक्र्सको विचारमा सम्पत्तिको प्रयोग समाजको प्रयोग सम्बन्धी उनका विचार महात्मा गाँधीको विचारसँग निकै समानता रहेको देखिन्छ । माक्र्सले भनेका थिए कि इतिहास भनेको वर्ग संघर्षको इतिहास हो जसमा सर्वहारा वर्ग धनीहरूद्वारा निरन्तर शोषित हुँदै आइ रहेका छन् । समस्त उत्पादनका साधनहरू धनीहरूकै नियन्त्रण र स्वामित्वमा रहेका छन् । यसबाट छुटकारा पाउन पुरै विश्वका श्रमीकहरूलाई एकताबद्धभई आवाज बुलन्द गर्नु पर्छ किनकि उनको विश्वास थियो कि श्रमीकहरूका एकताबाट नै समाजमा उनीहरूका उचित स्थानलाई निर्धारण गर्नेछ । अर्कोतिर महात्मा गाँधीले पनि निस्सहाय एवं पीडित वर्गकालागि आफ्ना पूरै जीवनलाई अर्पित गरेका थिए । उनले अछुत समुदाय अर्थात हरिजनलाई समाजको अभिन्न अंगको रूपमा स्वकिार गरेका थिए । उनले हरिजन समुदायको स्तर उकास्न एउटा हरिजन पत्रिका मार्फत समस्त भारतमा यस प्रकारले प्रचार प्रसार गरेका थिए कि अन्य सबै समुदायहरू जस्तै हरिजनहरूलाई पनि जीवनको विभिन्न क्षेत्रमा उचित प्रतिनिधित्व हुनु पर्छ । गाँधी र माक्र्सको एउटै लक्ष्य थियो कि शोषित पक्ष हरिजन र पिछडावर्गलाई समाजमा समान अवसर प्रदान गर्नु थियो । उनीहरूका प्रमुख लक्ष्य समाजमा आर्थिक समानता स्थापित गर्नु थियो । उनका अनुसार राजनीतिक समानता आर्थिक समानताको अभावमा निरर्थक र महत्वहीन रहेछ । सामाजिक समताको भावनालाई उत्प्रेरित गर्दै सबैलाई समान अवसर दिनु हो । न्याय प्राप्तिमा कुनै किसिमको र कहिँ पनि यस्ता भेदभाव हुनु हुँदैन । यस्तै न्यायको ढोका सबैकालागि समान रूपबाट खुल्ला रहनु पर्छ । सबै खुशी र खुशहाल हुनु पर्छ ।
३. निष्कर्ष :
दुबै दार्शनिकका लक्ष्य एउटै भएपनि पुग्ने बाटो फरक फरक रहेका छन् । माक्र्स हत्या हिंसाको बाटो अपनाउने सल्लाह दिन्छन् भने महात्मा गाँधी अंहिसा, सत्यग्रह, सत्य तथा धर्मको बाटाहरू अपनाएर साम्यवाद सम्म पुग्नु पर्छ । साम्यबाद भनेको राज्यहीन समाजको परिकल्पना हो जो आजसम्म दर्शनको गर्भ भित्रै रमाइ रहेको छ । हुनत हाम्रो पूर्वीय दर्शन यस्ता हत्या हिंसाका पक्षपाति नभएपनि नेपालमा आएको गणतंत्रका पछाडि हत्या हिंसालाई आधार बनाई ल्याएको देखिन्छ । समाजमा योग्यता अनुसार ठाउँ दिनु पर्छ । कुनै जाति÷धर्म विशेषको आधारमा होइन । जहाँ यस्ता विचार पलाउँछ त्यहाँका समाजमा द्वन्द्वको जन्म हुन्छ । माक्र्सदर्शनलाई धेरै मानिस तथा देशहरूले अपनाएका छन् भने गाँधीको दर्शन समेत भारत लगायत विश्वका ठूला ठूला प्रजातांत्रिक देशहरूले समेत अपनाएको देखिन्छ । अहिले पनि चिन, भियतनाम, उत्तरी कोरिया, क्यूवा आदि देशहरू साम्यबादी व्यवस्थालाई लागू गरे पनि घरातलमा पुग्ने निकै समय लाग्ने देखिन्छ । गाँधी विचार हुबहु माक्र्ससँग नमिले पनि लक्ष्यलाई समान रूपले स्वीकार गरेका थिए । विश्वमा यी दर्शनहरू बारे निकै अध्ययन अनुसन्धानको आवश्यकता देखिन्छ । नेपालमा पनि समाजवादी पार्टीहरू समाजवादको चाहना राखे पनि अहिले लक्ष्य पूर्ति हुने कुरा निकै टाढा रहेको देखिन्छ । लक्ष्य प्राप्तिका लागि सही चिन्तनलाई समय अनुसार प्रयोग गर्दै जाँदा समाजवादको सपना धेरै टाढा रहेको देखिँदैन । अस्तु ।