२०७८ बैशाख २२, बुधबार ०७:४८

कोरोना संक्रमण रोकथाम एवम नियन्त्रण गर्नका लागि महोत्तरी जिल्लाभर आजबाट निषेधाज्ञा जारी गरिएको छ । केहि दिन अघि प्रशासनले वैशाख २२ गते बुधबार विहान ६ बजेदेखि ३१ गते शुक्रबार राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरे अनुसार आजबाट जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो ।

कोरोना संक्रमणको दर अत्यधिक बढेको र केही संक्रमितको मृत्युसमेत भएकोले संक्रमणको चेन ब्रेक गरी यसलाई न्यूनिकरण तथा रोकथाम गर्न निषेधाज्ञा लगाइएको महोत्तरीका प्रजिअ भट्टराईले बताए। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका सबै पालिकाहरुले आ–आफ्नो बिरामीका लागि अत्यावश्यक पर्ने अक्सिजन सिलिण्डर हाललाई न्यूनतम २०–२० थान खरिद गरी व्यवस्थापन गर्ने तथा थप सिलिण्डर व्यवस्थापनका लागि प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ।

निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटिपार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय लगायत सञ्चालन गर्न रोक लगाइएको छ। विवाह, व्रतवन्धजस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जनासम्म सहभागी भइ स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी गर्न सकिने र सो प्रयोजनका लागि बढीमा २ वटा साना गाडी र एउटा ठूलो गाडीमा शुभविवाहको ब्यानर राखी सञ्चालन गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ।

निषेधाज्ञा अवधिमा मालबाहक सवारीसाधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीले प्रयोग गर्ने सवारीसाधन, दूरसञ्चार, इन्टरनेट, एम्बुलेन्स, दमकल, शव वाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दूधजन्य पदार्थ, पशुपंक्षीको दानालगायत दुवानीका सवारीसाधन, आइसोलेसन एवं होल्डिङ सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमति प्राप्त (पास) सवारीसाधन, सरकारी तथा सार्वजनिक संस्थानका सवारीसाधनबाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका सवारीसाधन सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।

Comment


Related News

Latest News

Trending News