
वीरगञ्ज । वीरगञ्जमा कारोना संक्रमण समाजिक रुपमा फैलिए पछि अवस्था भयावह बनेको छ । सरकारी रुपमा रहेको नारायणी तथा निजि अस्पतालहरुमा शैय्या अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले २ सय ३० शैय्याको अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर संचालनमा ल्याएको छ । वीरगञ्ज १० घडीअर्वास्थित गोपाल मण्डली अतिथि सदनमा महानगरपालिकाले शुक्रबार उक्त अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर संचालनमा ल्याएको हो ।
शुक्रबार बिहान महानगपालिकाले गरेको कार्यक्रममा महानगर प्रमुख विजय कुमार सरावगीले अस्पतालको औपचारिक रुपमा उद्घाटन गरे । महानगरले सञ्चालनमा ल्याएको कोभिड अस्थायी अस्पतालमा पहिलो बिरामी महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की भर्ना भएकी छन् । कार्कीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । पर्सा जिल्लामा संक्रमितको संख्या अप्रत्याशीत रुपमा बढ्दै गएपछि एक हप्ता पहिले बसेको जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले वीरगन्ज महानगरपालिकाले कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । महानगरले सञ्चालनमा ल्याएको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टरमा सामान्य लक्षण भएका र लक्षण नदेखिएका संक्रमितलाई भर्ना गरि उपचार गरिने महानगर प्रमुख सरावगीले बताए । सरावगीका अनुसार , कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टरमा डिएम (डक्टोरेट इन मेडिसिन) १ जना , एमडी (मेडिकल डाइरेक्टर) २ जना र मेडिकल अफिसर ८ जना गरि ११ जना चिकित्सक खटाइएको छ । यसका साथै प्यारामेडिकल स्टाफ २१ जना, सरसफाइकर्मी ८ जना र १० जना प्रशासनिक कर्मचारी पनि खटाइएको नगर प्रमुख सरावगीले जानकारी दिए । सरावगीका अनुसार , वीरगन्जमा कोभिड संक्रमितहरुको संख्या वढ्दो अवस्थामा रहेको र होम आइसोलेसनमा रहेका संक्रमितलाइ समेत अक्सिजन दिनुपर्ने अवस्था छ । होम आइसोलेसनमा अक्सिजन प्रयोग गरिरहेका संक्रमितको अवस्था समेत जटिल बन्न थालेकोले डाक्टरको निगरानीमा उपचार गर्न महानगरपालिकाले कोभिड अस्थायी अस्पताल संचालनमा ल्याएको उनले बताए ।

समुदायस्तरमा मास टेस्टिङ सुरु
वीरगन्ज महानगरपालिकाले शुक्रबारदेखि समुदायस्तरमा कोरोना परीक्षण कार्य पनि सुरु गरेको छ । बिहीबारसम्म वीरगन्जमा नारायणी अस्पतालमा मात्रै स्वाब संकलन गरी कोरोना परीक्षण हुँदै आएको थियो । संक्रमण दर बढ्दै गएपछि शुक्रबारदेखि भने महानगरपालिकाले महानगरका वडा वडामा पुगेर स्वाब संकलन अभियान सुरु गरेको हो । पहिलो दिन शुक्रबार वीरगन्ज १० आदर्शनगरस्थित नगरसभागृह छेउको बारुणयन्त्रको कार्यलय परिसरमा बिहान ७ बजे देखि बिहान १० बजे सम्म स्वाब संकलन गरिएको छ । उक्त स्थानबाट शुक्रबार ४९ जनाको स्वाब संकलन गरिएको महानगरकापालिका स्वाथ्यकर्मी जहिर आमलले जानकारी दिए । संकलन गरिएको स्वाबहरु परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको पनि आलमले जानकारी दिए । शुक्रबारदेखि महानगरपाकिलाको स्वास्थ्यकर्मीको घुम्ती टोलीले महानगरका प्रत्येक वडामा गएर स्वाब संकलन गर्न थालेको नगरप्रमुख सरावगीले जानकारी दिए । सुरुमा संक्रमण बढी देखिएका वडाहरुमा स्वाब संकलन गरिने जानकारी दिँदै नगरप्रमुखले स्वाब संकलनका लागि घुम्ती टोली महानगरका ३२ वटै वडामा पुग्ने बताए। स्वाब परीक्षणमा शुल्क नलाग्ने वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।