२०७८ बैशाख २५, शनिबार ०७:३९

राजविराज । मदिरा पसलमा चोरी गरेको आरोप लगाउँदै छिन्नमस्ता गाउँपालिकामा एक किशोरलाई व्यापारीले तीन दिनदेखि फलामे साङ्लाले बाँधेर यातना दिएको घटना सार्वजनिक भएको छ ।

छिनमस्ता गाउँपालिका ६ का संजय पण्डिले आफ्नो पसलमा चोरी गरेको आरोप लगाउँदै स्थानीय १८ वर्षीय शिव कुमार मुखियालाई फलामे साङ्लाले बाँधेर यातना दिएका हुन् । यातना दिनमा व्यापारी पण्डितलाई गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डलका छोरा तेजनारायणले सघाएको स्थानीयले बताएका छन् । तेजनारायणले पनि मुखियालाई चोर भन्दै कुटपिट गरेको स्थानीयको भनाई छ । वैशाख २१ गते राति पसलमा चोरी गरेको भन्दै पण्डितले मुखियालाई वैशाख २२ गते विहान घरबाटै समातेका थिए । निर्घात कुटपिट गरेपछि मुखियाले चोरी गरेको स्वीकारे । उनले अन्य २ साथीको पनि चोरी कार्यमा संलग्नता रहेको बताइएको पण्डितको भनाई छ । त्यसपछि पण्डितले ४७ हजारका दरले क्षतिपूर्ति माग्दै उनलाई फलामे साङ्लामा बाँधेर राखेका छन् । हात र खुट्टामा फलामे साङ् ला बेरेर ताला लगाइदिएपछि मुखिया हिड्डुल पनि गर्न सकिरहेका छैन् । खाना र पानी समेत उनलाई नदिँदा भोक र प्यासले मुखिया छटपटाई रहेको स्थानीय शिव मुखियाले बताए । उनले भने, ‘मुखियालाई दिएको यातना देखेर माया लाग्यो । त्यसपछि विहिवार राति म आफ् नो जिम्मामा घर ल्याएँ । उनीहरु दबाब दिन थालेपछि पुनः विहिवार उनलाई बुझाउनु पर्यो ।’ अधिकारकर्मी सुनिता साहले चोरीको आरोपमा हात–खुट्टामा जन्जिर लगाएर कोही व्यक्तिले यातना दिएर अपराध गरेकाले छानविन गरी दोषीमाथि कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेकी छन् । उनले भनिन्, ‘चोरी गरेको हो भने प्रशासनले छानविन गरी कारबाही गर्नुपर्छ । व्यक्तिले यातना दिन पाइदैन ।’

यता सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले चोरी आरोपमा एक किशोरलाई समातेर राखेको कुरा थाहा पाएपछि इन्सपेक्टरलाई उद्धार गर्न पठाएको प्रतिक्रिया दिए । उनले भने, ‘ गाउँपालिका प्रमुखले घटनाबारे बुझिरहेको भनेका छन् । तर फलामे साङ्लाले बाँधेर राखेको कुरा थाहा भएन ।’

Comment


Related News

Latest News

Trending News