२०७८ बैशाख २५, शनिबार १८:३१

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतलाई असफल पार्ने निर्णय गरेको छ ।

शनिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीले वैशाख २७ गते लिने विश्वासको मतलाई असफल पार्ने निर्णय गरेको हो । संसदीय दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने र आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो । बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको हो। बैठकले प्रतिनिधि सभामा प्रधानमन्त्रीले राख्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले बताए । ‘ओलीलाई विश्वासको मत नदिने र आफ्नो नेतृत्वमा सरकार बनाउन राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय बैठकले गरेको छ’ खाँडले भने,‘प्रधानमन्त्री ओली राजनीतिक र प्रशासनिक रूपमा पूर्ण असफल भएकाले उहाँलाई कांग्रेसले विश्वासको मत दिँदैन। आफ्नो नेतृत्वमा सरकार गठन गर्न अन्य दलसँग छलफल गर्छ ।’

बैठकले पछिल्लो दिन बढेको कोरोना संक्रमण नियन्त्रणको लागि ओली सरकारले कुनै काम गर्न नसकेको ठहर पनि गरेको छ । सरकार महामारी नियन्त्रणमा असफल भएको निष्कर्ष बैठकले निकालेको छ । यस्तै कोरोना खोप कमिसनकै कारण रोकिएको प्रति कांग्रेसले आपत्ति जनाउँदै नेपाली जनताको जीउधनको सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह समेत गरेको छ । प्रधानमन्त्री ओलीले बैशाख २७ गते लिने विश्वासको अगाडि नै चाल्नसक्ने संभावित कदमको बारेमा पनि सांसदहरुले कुरा उठाएका थिए ।

Comment


Related News

Latest News

Trending News