जीतपुर । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्वर १६ को पिलुवा स्थित स्वास्थ्य संस्था परिसरमा शनिवार प्रसुती केन्द्र (बर्थिङ्ग सेन्टर) भवनको शिलान्यास गरिएको छ ।
प्रदेश २ सरकारको करिब २० लाख रुपैंयाको लागतमा निर्माण गर्न लागिएको प्रसुती केन्द्रको भवनको शिलान्यास पूर्व राज्यमन्त्री एवं पदमुक्त प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले गरेकी हुन् । प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पिलुवा बर्थिङ्ग सेन्टर स्थापना हुन लागेको हो । यहाँ स्थापना हुने प्रसुती केन्द्रले पिलुवा, टाँगियाबस्ती, महेन्द्रनगर, डकाहा, बडहर्वाका हजारौं महिलाहरुका लागि प्रसुती सेवामा सहजता हुने पूर्व मन्त्री साहले विश्वास व्यक्त गरिन् । उक्त प्रसुती केन्द्रमा विशेषज्ञसहितको टिमले नियमित सेवा प्रदान गर्ने जनाईएको छ । अपाङ्गमैत्री पाँचकोठे पक्की भवन आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको भवन निर्माण समितिका अध्यक्ष सुरेश रिमालले जानकारी दिए । पूर्व राज्यमन्त्री साहको विशेष पहलमा ्रसुती केन्द्र स्थापना हुन लागेको उनको भनाई थियो । शिलान्यास कार्यक्रममा वडा नम्वर १६ का अध्यक्ष केदार बजगाँई, स्थानिय सामाजिक अगुवा हरिदेव खरेल, गोपिकृष्ण खतिवडा, भवन निर्माण समितिका सचिब विष्णु प्रसाद फुँयाललगायतको सहभागिता रहेको थियो ।



