अपडेट 
२०७८ बैशाख २६, आईतवार ०८:१२

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पातलहरुमा अक्सिजन उपलब्ध गराउन आफ्नो सिफारिस अनिवार्य गरेको छ ।

मन्त्रालयले अक्सिजन उद्योगीहरुलाई परिपत्र गर्दै कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई मन्त्रालयको सिफारिस बिना अक्सिजन नदिन भनेको हो । स्वास्थ्य तथा मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचईओसी)ले १० वटा अक्सिजन उद्योगलाई पठाएको पत्रमा धेरै कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको सन्दर्भमा बिक्री वितरणलाई व्यवस्थित गर्न यो निर्णय गरिएको उल्लेख छ । सरकारको पत्रसँगै उद्योगीहरुले अक्सिजन लिन गएका अस्पतालहरुलाई मन्त्रालयको सिफारिस लिएर आउनु भन्दै फर्काउन थालेका छन् । मन्त्रालयको परिपत्रसँगै आफ्नो अक्सिजन प्लान्ट नभएका अस्पतालहरुले अक्सिजन अभावमा उपचार गर्नै कठिन भएको बताएका छन् ।

सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने बताए पनि काठमाण्डौ लगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको छ । शुक्रबार मात्रै भक्तपुरको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा दुई सङ्क्रमितको ज्यान गएको थियो । काठमाण्डौका धेरै अस्पतालहरुले अक्सिजन अभाव भएको बताएका छन् । अक्सिजनको अभाव भएपछि केही अस्पतालले पूर्ण क्षमतामा कोरोना सङ्क्रमितको उपचार गर्न नसकिएको जनाएका छन् । ती अस्पतालले अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शय्यामात्र सञ्चालनमा ल्याइने बताएका छन् ।

Comment


Related News

Latest News

Trending News