२०७८ बैशाख २७, सोमबार ०७:५८

मलगंवा । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं.१२ घारीबथानमा गएको वैशाख २० गते एक जना पुरुषलाई पेट्रोल छर्की जिउदै जलाएर फरार अभियुक्त पक्राउ परेको छ ।

पक्राउ पर्नेमा घारीबथानकै ३५ वर्षीय युवक शिवजी साह रहेका छन् । साहलाई मलंगवा नगरपालिका वडा नं. ५ भाडसर स्थित नेपाल–भारत सिमावर्ती क्षेत्रबाट ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट प्रहरी निरीक्षक जनकराज ढुंगानाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता मदन कुवँरले जानकारी दिए । वैशाख २० गते ईश्वरपुर नगरपालिका वडा नं.१२ घारीबथान बस्ने ५८ वर्षीय सियाशरण रायलाई घर अगाडि आँपको बगैचामा बसिरहेको अवस्थामा अभियुक्त साहले पुरानो रिसिबिको कारण शरिरमा पेट्रोल छर्की आगो लगाई घाइते बनाएको थियो । जलेर गम्भिर घाईते भएको रायलाई उपचारको लागि काठमाण्डु पठाईएकोमा बैशाख २१ गते उनको मृत्यु भएको थियो ।

घटनाको कारण

पक्राउ परेको अभियुक्त साहका अनुसार बैदेशिक रोजगारको लागी आफु दुबईमा बसी कामकाज गर्दै आई रहेको थिए । मृतक रायले मेरो श्रीमती सुनिता देवी साह तेली परपुरुष सँग लागेको भनि गाउँमा हल्ला गरेको कारण आफुलाई रिस उठेको थियो । मैले आफनो घर परिवार समेतमा मेरो श्रीमतीको बारेमा बुझ्दा मेरो श्रीमती त्यस्तो कार्यमा नलागेको र मृतक रायले मलाई गाउँमा बेईज्जती गर्ने उदेश्यले यस्तो अफवाह फैलाएकोले मैले सोही कुराका रिसईबी राखी घरमा आईरहेको अवस्थामा बाटैमा पेट्रोलले आगो लगाउने उदेश्यले बर्दिबासबाट पेट्रोल खरिद गरी ल्याई घरमा राखेको थिए । २० गते पेट्रोल जगमा राखी घर अगाडी रहेको धारा नजिकै मृतक राय बसी रहेको अवस्थामा पछाडीबाट पेट्रोल खन्याई काठमा कपडा वेरी बनाएको हतियार र लाईटरको सहायताले आगो लगाएको अभियुक्त साहले प्रहरी समक्ष बयान दिएको हो । आगो दनदन बल्न थालेपछि आफु सो ठाउँबाट फरार भएको अभियुक्त साहले स्विकारेको प्रहरी प्रवक्ता कुवँरले बताए । पक्राउ परेको अभियुक्त उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ । हत्या विभत्स तरिकाले गरेको हुदाँ पक्राउ परेको अभियुक्तलाई जन्मकैद समेत हुन सक्ने प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कुवँरले बताए ।

Comment


Related News

Latest News

Trending News