अपडेट 
२०७८ बैशाख २९, बुधबार ०७:५२

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा पनि कोरोना संक्रमितको उपचारमा समस्या हुने भएको छ ।

अस्पतालहरुमा बेड अभाव हुन थालेको गुनासोपछि मंगलवार बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र धनुषाको बैठकले अस्पतालहरुलाई अविलम्ब बेड थप्न अनुरोध गर्ने निर्णय गरेको हो । डीसीसीएमसी धनुषाले कोभिड–१९ विरामीको उपचारका लागि सरकारी र नीजि सबै अस्पताललाई शैय्या थप्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताएका छन् । उनका अनुसार प्रादेशिक अस्पतालमा ७५, जानकी मेडिकल कलेजमा ६० र नीजि अस्पतालहरुमा ४३ बेड तत्कालै थप्न अनुरोध गरिएको छ । प्रादेशिक अस्पतालमा अहिले ४० बेडको कोभिड अस्पताल सञ्चालनमा छ । यस्तै जानकी मेडिकल कलेजमा ६० र निजी अस्पतालहरुमा १७५ बेडमा कोरोना संक्रमितको उपचार भइरहेको छ । अहिले जिल्लामा २७५ बेड कोरोना संक्रमितका लागि छुट्याएको र संक्रमितको संख्या बढ्न थालेपछि बेड अभाव हुने निष्कर्ष डीसीसीएमसीको छ । अस्पतालहरुलाई अक्सिजन र भेन्टिलेटरको अभाव हुन नदिन पनि अनुरोध गरिएको छ । बैठकमा अक्सिजन र भेन्टिलेटरहरुको संख्या समेत थप गरी संचालन गर्न÷गराउन सबै अस्पतालसँग अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले उल्लेख गरेका छन् । यस्तै जनकपुरधाम उपमहानगरपालिकाले गोपाल धर्मशालामा सञ्चालन गरेको आइसोलेशन बेडहरुमा पनि विरामी राख्नुपर्ने डीसीसीएमसीले जनाएको छ ।

उक्त आइसोलेशनमा अक्सिजन सपोर्टसहित मेडिकल टिम तयार गरी सञ्चालन गर्न जनकपुरधाम उपमहानगरसँग अनुरोध गर्ने र नपुग भए दक्ष जनशक्ति तथा अन्य प्राविधिक सहयोग प्रादेशिक अस्पताल धनुषाले दिने निर्णय पनि गरिएको छ । यस्तै बजारमा अक्सिमिटर, ग्लोब्स, मास्क र केहि महत्वपूर्ण औषधीहरुको अभाव भएको गुनासो आउन थालेको विषयमा पनि डीसीसीएमसीको बैठकमा छलफल भएको छ । जनकपुरमा अक्सिमिटरको कालोबजारी गर्ने एकजना पक्राउ परिसकेका छन् । अन्य औषधी व्यवसायीले पनि महत्वपूर्ण औषधी तथा अन्य स्वास्थ्य सामग्रीको कालोबजारी गरिरहेको छ । डीसीसीएमसीको बैठकले अत्यावश्यक वस्तु तथा सेवाहरुको आपूर्ति व्यवस्था सहज बनाई बजारमा अभाव तथा कालोबजारी हुन नदिन जनकपुरधाम उद्योग बाणिज्य संघलाई जिम्मेवारी तोकेको छ । तर कालोबजारी गर्ने व्यापारीलाई संघका पदाधिकारीले कसरी कारबाही गर्ने भन्ने प्रश्न खडा भएको छ ।

Comment


Related News

Latest News

Trending News