जनकपुरधाम । प्रादेशिक कोभिड अस्पताल जनकपुरमा एक जना बिरामीको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१९ बेङ्गाशिवपुर बस्ने ४५ वर्षीय उमेश शर्माको भेन्टिलेटरको अभावमा मृत्यु भएको हो । स्वासप्रश्वास लिन कठिनाई रहेपनि समयमा भेन्टिलेटरको व्यवस्थापन नहुदाँ शर्माको मृत्यु भएको हो । अस्पताल पुर्याइएको तीन घण्टासम्म पनि भेन्टिलेटर उपलब्ध नहुँदा बुवाको मृत्यु भएको मृतकका छोरा शत्रुधन शर्माले बताए । बुधबार साँझ ५ बजे नै प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्षमा आएपनि राति ८ बजेसम्म अस्पतालले भेन्टिलेटर उपलब्ध नगराउँदा बुवाको मृत्यु भएको उनले बताए । भेन्टिलेटर चाहिएको विरामीलाई चिकित्सकले अक्सिजन लगाएर त्यतिकै छोडेको कारण बुवाको मृत्यु भएको उनले बताए । यता, अस्पतालले विरामीका परिवारजनले भेन्टिलेटरको व्यवस्थापन गर्न नसक्दा शर्मालाई बचाउन नसकिएको जनाएको छ । भेन्टिलेटरको व्यापक अभाव स्वास्थ्य सेवा समेत प्रभावित हुदै आएको अस्पतालले जनाएको छ ।
एक सप्ताह अघि प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरमा ५ वटा भेन्टिलेटर दिएको थियो । तर दुई दिन अघि मात्रै उपचारको क्रममा मृत्यु हुदाँ तिनका आफन्त आक्रोसमा अस्पतालका तीन वटा भेन्टिलेटरमा तोडफोड गरेका थिए । भेन्टिलेटर तोडफोड गरेपछि अस्पतालले अहिले दुई वटा भेन्टिलेटरले कामचलाई रहेको असपतालमा कार्यरत डा. केडि दासले बताए । अस्पतालमा अहिले दुई वटा मात्रै भेन्टिलेटर छ, उनले भने,‘ फेरि विरामीको चाप पनि त्यतिकै छ, यस्तोमा चिकित्सकहरुले दिन रात एक गरेर काम गरिरहेका हुन्छ, यस्तोमा उनीहरुको हौसला बढाउनुको साटो विभिन्न कारणले विरामीलाई बचाउन सकेन भने चिकित्सक माथि नै आक्रोस पोख्नु त भएन् ।‘


