अपडेट 
२०७८ जेष्ठ २, आईतवार १३:२६

अरब सागरमा विकसित चक्रवातबाट नेपाल पनि प्रभावित हुने मौमसविद्ले बताएका छन् ।

‘ताउ ते’ नाम दिइएको यो चक्रवातका कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने मौसमविदको पूर्वानुमान छ । ‘नेपालमा चक्रवातको असर भोलि (सोमबार)देखि नै देखिन थाल्छ । भोलि विशेष गरी पश्चिम भूभागमा बदली हुन्छ,’ मौसमविद मञ्जु वासीले अनलाइनखबरसँग भनिन्, ‘अहिलेसम्मको विश्लेषणअनुसार पर्सि देशैभर बदली गराउँछ र वर्षा पनि हुन्छ ।’ ‘ताउ ते’ सन् २०२१ को पहिलो चक्रवात हो । यसको बढी असर भारतको मुम्बई, गोवा, दक्षिण कोंकण र गुजरातमा पर्ने मौसमविद्को अनुमान छ ।

यो चक्रवात गुजरात क्षेत्रमा सोमबार साँझ जमिनमा ठोक्किने पूर्वानुमान छ । त्यसपछि यसको गति र दिशाको विश्लेषण गरेर नेपालमा पर्ने थप असरबारे भन्न सकिने मौसमविद् वासी बताउँछिन् । मौसमविद्का अनुसार जमिनमा ठोक्किएपछि चक्रवात कमजोर हुने गर्दछ र यसको गतिसँगै दूरी पनि परिवर्तन हुने गर्दछ । ‘नेपालभन्दा पश्चिमतिर गयो भने नेपालमा यसले कम असर गर्छ । तर यदि यो उत्तरपूर्वतिर गयो भने नेपालमा बढी असर पर्छ,’ मौसमविद् वासीले भनिन् ।

Comment


Related News

Latest News

Trending News