काठमाण्डु ।विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी(जसपा)का दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच मंगलवार ८ बुंदे सहमति भएकोछ । तर त्यो सहमतिको पत्र सार्वजनिक भए लगतै जसपाका वरिष्ठ नेता राजेन्द्र महतो संसदीय दलको नेता भएको पत्र संसद सचिवालयमा दर्ता भएकोछ ।
महतो दलको नेता भएको पत्र संसद सचिवालयमा दर्ता भएपछि जसपाको एकता भाँडिएको सन्देश गएकोछ ।जसपाका अध्यक्ष ठाकुरको हस्ताक्षर रहेको सो संयुक्त विज्ञप्ति सार्वजनिक भए लगतै संसदीय दलको नेतामा महतो चयन भएको ठाकुरकै हस्ताक्षरबाट दर्ता भएको पत्र सार्वजनिक भएकोछ ।जसपा नफुटने संकेत दिएको संयुक्त विज्ञप्ति लगतै आएको दल नेताको पत्रले फेरी नयाँ ट्विस्ट आएकोछ । महतोलाई दलको नेत ाचयन गरिएको पत्रलाई अध्यक्ष उपेन्द्र यादव समुहले पार्टीको एकता भाँड्ने तत्वहरुको किर्ते धन्धा रहेको आरोप लगाएका छन् ।तर ठाकुर र महतोले त्यसबारेमा मुख खोलेका छैनन् । पार्टीलाई एकिकृत ढंगले अगाडी बढाउन भएको सहमति भाँड्न सकृय रहेका गलत तत्वहरुले किर्ते गरिएको पत्र संसद सचिवालयमा दर्ता गराइएको जसपा कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले बताए । ‘ठाकुर र यादवले गरेका ८ बुंदे सहमतिलाई संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक गरिएकोछ’ उनले भने, संसदीय दलको विधान नै नरहेको अवस्थामा नेताको चयन भएको पत्रले आधिकारिकता पाउने छैन् । अध्यक्ष यादवलेपनि त्यो पत्रलाई किर्ते र अमान्य भनेका छन् ।मिति र चलानी नम्बर समेत किर्ते रहेका सो पत्रलाई संसद सचिवालयले मान्यता नदिने उनले दावी गरेका छन् ।
अध्यक्ष यादवले पनि दुई दिनअघि नैे संसदीय दलको विधान बनिसकेकोले दलको नेत ाचयन सम्बन्धी कुनै निर्णय नभएको पत्र संसद सचिवालयमा दर्ता गराएको खुलासा भएकोछ । पार्टीको संसदीय दलको विधान नबनेको र कार्यकारिणी समितिबाट पनि अनुमोदन भइनसकेकाले कसैलाई दलको नेता चयन नगरिएको जानकारी यादवले जेठ २ मै गराएको पत्र बाहिरिएको हो । अध्यक्षद्वय ठाकुर र यादवबीच आफ्नै पार्टीको सरकार गठन गर्ने अवसर आए वा राष्ट्रिय सहमतिको सरकार गठन हुने भए अघि बढ्ने नभए प्रतिपक्षमा नै रहने सहमति भएको छ । ठाकुर र यादवबीच भएको ८ बुँदे समझदारी पत्रमा यसअघि सरकारमा नजाने निर्णय यथावत रहेको र आगामी दिनमा आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए वा राष्ट्रिय सरकार बन्ने अवस्था सिर्जना भए मात्रै अघि बढ्ने सहमति भएको हो । ‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन, जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहनेछ ’ संयुक्त विज्ञप्तिमा भनिएकोछ, तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिनेछ ।
त्यस्तै, पार्टीभित्र देखिएका समस्याको विधानअनुसार नै छलफल गरेर समाधान गर्नेपनि विज्ञप्तिमा उल्लेख छ । ‘समायोजन हुन नसकेका विभिन्न स्तरका पार्टी संगठन/ भ्रातृ संगठनलगायत संगठनहरूबीच पार्टी समायोजन सम्बन्धी कार्यलाई पार्टी विधान, समायोजन सम्बन्धी निर्देशिका र पार्टीले गरेको निर्णयहरूको आधारमा यथाशीघ्र सम्पन्न गर्दै एकताबद्ध, अनुशासित एवम् सुदृढ पार्टी संगठन निर्माण गर्नु पर्दछ’ विज्ञप्तिमा उल्लेख छ । ‘पार्टीभित्र कसैले व्यक्तिगत स्वार्थ सिद्धगर्नका लागि गुटबन्दी गर्ने, गुट उपगुट खडा गर्ने, पार्टी नेताहरूका विरुद्ध अनेकौं भ्रम फैलाउने, विखण्डन र विभाजनकारी भूमिका खेल्न खोज्ने कियाकलाप, विचार प्रकृतिहरूलाई अन्त्य गरी पार्टीलाई एकताबद्ध राख्नु पर्दछ ’ संयुक्त विज्ञप्तिमा विज्ञप्तिमा उल्लेख छ । तत्कालीन राजपा र समाजवादी पार्टीबीच भएको एकताले तल्लो तहमा पूर्णता नपाइसकेको अवस्थामा आगामी दिनमा ती काम सम्पन्न गर्न दुवै अध्यक्षबीच सहमति भएकोछ । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको प्रस्तावको विरुद्धमा मतदान दिएका र तटस्थ बसेका जसपाका दुई पक्षबीच पछिल्लो समय सार्वजनिक रूपमा नै विवाद देखिएको थियो । उक्त कुरा पार्टी निर्णयअनुसार नै भए पनि केही नेताहरूले त्यसलाई दुरुपयोग गरेको भन्दै ठाकुर र यादवले आगामी दिनमा मिलेर अघि बढ्ने समझदारी गरेका छन् । ठाकुर पक्ष तत्काल सरकारमा नजान सहमत भएको छ भने यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा निर्णयहरु नगर्ने भएको छ ।
अध्यक्षद्वय ठाकुर र यादवले संयुक्त वक्तव्य जारी गर्दै तत्काल सरकारमा नजाने प्रष्ट गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अब संसदमा विश्वासको मत लिन जाँदा जसपाको साथ नपाउने पक्का भएको छ ।


