अपडेट 
२०७८ जेष्ठ ५, बुधबार ०७:१०

विश्वका सम्पूर्ण हिन्दुमा रामायण अति प्रचलित र प्रिय ग्रन्थ हो । रामायण महाकाव्य हो । रामायण धार्मिक ग्रन्थ हो । रामायण इतिहास हो । रामायण संस्कृति हो । रामायण धरोहर हो । रामायण के होइन ? वास्तवमा रामायणले जति लोकप्रियता अरु कुन ग्रन्थले पाउन सकेको होला ? यस कारण हिन्दु धर्मप्रति आस्था राख्ने हरेक जाति, भाषा, समुदाय तथा भूगोलमा रामायण लेखिएको छ । यद्यपि रामायणमा सबैभन्दा प्रचलित र प्रसिद्ध वाल्मीकी रामायण हो । अहिले प्रयोग र प्रचलनका साथै चर्चामा रहेका सबै रामायणको मूल आधार यसैलाई मानिएको छ । वाल्मीकीय रामायणसँगै रामचरितमानस् पनि निकै प्रख्यात रहेको छ यस क्षेत्रमा । नेपाली भाषामा भने आदिकवि भानुभक्त आचार्यको रामायण निकै प्रशंसित छ ।

बज्जिकांचलमा प्रा.डा. (डि.लिट्.) अवधेश्वर अरुणको रामायण खूब प्रख्यात छ । यसरी भूगोल, क्षेत्र र भाषा तथा संस्कृतिअनुसार विभिन्न लेखकका रामायणको आफ्नै किसिमको महत्व रहेको छ तर सबैको मूलमा भने अहिलेसम्म वाल्मीकीय रामायण नै रहेको स्पष्ट हुन्छ । रामायणमा जुन आख्यान रहेको छ, त्यसका मूल नायकपात्र हुन् मर्यादापुरुषोत्तम राम । रामलाई भगवान विष्णुको अवतार मानिएको छ । यस आख्यानको मूल नारी पात्र हुन् सीता । सीतालाई जानकी पनि भनिएको छ । मूलतः यी दुई पात्रको वरिपरि नै सम्पूर्ण रामायण रहेको छ । पूर्वीय साहित्यमा यस महाकाव्यको आख्यानजति अन्य कुनै पनि महाकाव्यको आख्यानले लोकप्रशंसा पाउन सकेको छैन । यस महाकाव्यलाई कथामा सबैको सहानुभूति निरन्तर जानकीप्रति रहन्छ । जानकीको विवाह अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र रामसित भएको हो । भवितव्यले राम वनवास जाँदा जानकी पनि जान्छिन् र त्यहाँबाट उनको अपहरण हुन्छ । अपहरण गर्ने लंकाका राजा रावण हुन्छन् । रावणलाई निकै कठिन युद्धमा हराएर रामले सीतालाई मुक्त गराई अयोध्या फर्किन्छन् । अयोध्यामा रामराज्य सुरु हुन्छ । केही अपवादले गर्दा जानकीको राज्य बहिर्गमन हुन्छ र ऋषि वाल्मीकीको आश्रममा जानकीले दुई पुत्र कुश र लवलाई जन्म दिन्छिन् । दुई पुत्रको मिलन पिता रामसित भएपछि जानकीले धरती समाधि लिन पुग्छिन् । जानकी धरतीकी पुत्री भएकीले उनले आह्वान गरेपछि धरतीले उनलाई आफ्नो काखमा लिएकी हुन् भन्ने विश्वास रहेको छ । यहाँ धरतीकी पुत्री जानकी कसरी भइन् ? यस विषयमा अलिकति मिथक र केही शास्त्रीय कथनको सहारा लिने प्रयास गरिएको छ ।

जगत्जननी जानकी सीताको जन्म धरतीबाट भएको हो ।
भनिन्छ, राजा सिरध्वजको शासनकालमा जनकपुरीमा एक समय दुर्भिक्ष परेको थियो । दुर्भिक्षको निवारणको लागि पुरोहितहरुले कृषियज्ञ गर्नुपर्ने सल्लाह दिए । कृषियज्ञमा राजा सिरध्वज आफैले त्यस्तो स्थानमा हलो जोत्नुपर्ने थियो जहाँ हलो जोतिएको छैन । यसको लागि वनप्रान्त नै उचित भएको पुरोहितहरुको भनाइ रह्यो । जनक सिरध्वज आफैँमा पनि विद्वान थिए र विद्वानहरुको कदर खूब गर्दथे । राजा सिरध्वजले सबैसित सरसल्लाह गरी उपयुक्त स्थलको चयन गरियो र सबै पुरोहित तथा ज्योतिषीहरुको राय भएको दिन हलो जोत्ने काम पनि गरे । राजा जनकले हलो जोतेको भनिएको ठाउँ कहाँ हो त ? कतिपय शास्त्रहरुले राजा जनकको कृषियज्ञ अर्थात् हलो जोत्ने यज्ञलाई हल–कर्षण–यज्ञ भनेको छ । वृहद्विष्णुपुराणमा पनि यही भनिएको छ र यस यज्ञको लागि चयन गरिएको भूमिलाई हल–कर्षण– यज्ञ–भूमि भनिएको छ । यस पुराणअनुसार हल– कर्षण–यज्ञ–भूमिबाट सीताको जन्म भएको वा सीता अवतीर्ण भएकी थिइन् । पुराणमा उल्लेख भएअनुसार यो भूमि सम्राट जनकको राजनगर (जनकपुरी)भन्दा पश्चिम तीन योजन अर्थात् चौबिस माइल अवस्थित थियो । यो भूमि लक्ष्मणा नदीको किनारमा रहेको उल्लेख गरिएको छ । लक्ष्मणा नदी भनेको लखनदेई हो । लखनदेईको किनारमा नै सीतामढी रहेको छ र सीतामढीमा लखनदेई नदीभन्दा पश्चिम जानकी मन्दिर छ ।

जानकी मन्दिरभन्दा केही पश्चिम–दक्षिण पुनौराधाम छ । पुनौराधाममा पनि मन्दिरहरु निर्माण गरिएका छन् र सिरध्वज जनकले यही नै कृषियज्ञ सम्पन्न गरेका थिए भन्ने भनाइ आदिकालदेखि चल्दै आएको छ । राज्यको सीमाक्षेत्रमा सिरध्वज जनकले हलो जोत्न सुरु गरे, हलो जोत्ने क्रममा नै हलोको फाली अड्कियो । हलोको फाली एक घैंटामा अडकिएको थियो । र त्यही घैटाबाट जगत्जननी जानकीको जन्म भयो । जानकी प्रकट हुँदा स्वतः प्रकाशवान थिइन् रे । यस्तो जनश्रुति पाइन्छ । जब सीता प्रकट भइन् तब एक छिनपछि वर्षा सुरु भयो । जानकी प्रकट भएको ठाउँ सीतामढीको पुनौराधाम हो भनिन्छ । त्यहाँ एउटा प्राचीन पोखरी र मन्दिरहरु रहेका छन् । जानकी प्रकाट् यस्थली भनेर स्थानीयले परिचित गराउँदै आएको छ । यो ठाउँ सुरक्षित छ र वर्षेनी हजारौ दर्शनार्थी पर्यटक यहाँ पनि पुग्ने गर्दछन् । सिरध्वज जनक आफ्नो राज्यको सीमामा हलो जोत्न गएको समय विश्रामको लागि फुसको मडई (छाप्रो) बनाइएको थियो । हलो जोतेपछि वर्षा सुरु हुन थाल्यो । राजा, पुरोहित तथा सेवक र सुरक्षाकर्मी समेतको बस्नको लागि बनाइएको छाप्रोस्थलमा आए । जानकीको सुरक्षाको लागि पनि पानीबाट बचाउनु परेको थियो । लामो दुर्भिक्षपछि वर्षा हुन थालेको थियो । राजा सिरध्वज जनक भूमिसुता जानकीलाई लिएर जुन मडई (छाप्रो)मा बसे, त्यस मडईलाई सीतामडई भनिन थाल्यो । वर्षा भएर राज्यको उद्धार भएको, धरतीबाट प्रकट हुँदा स्वयंमा प्रकाशवान भएको तथा देवताहरुसमेतले आकाशबाट पुष्पवर्षा आदि गरेकाजस्ता भनाइहरु प्रचलित भए र सिरध्वज जनक सीतासहित बसेको मडईलाई हेर्न मानिसहरु चारैतिरबाट ओइरिन थाले । जनसाधारण, सामन्त, ऋषिमुनिहरुसमेतले सीता बसेको मडईलाई अत्यन्त श्रद्धा गर्न थाले र उक्त मडई सीतामडईको नामले प्रसिद्ध हुन पुग्यो । कालान्तरमा त्यहाँ बसेको बस्ती नै सीतामडई कहलाउन थाल्यो । सोही वस्ती अहिले सीतामढी सहरको नामले प्रसिद्ध छ । जहाँ सीताको मडई निर्माण गरिएको थियो त्यहाँ अहिले जानकी मन्दिर छ । सीतामढी जिल्लाको प्रमुख धार्मिकस्थल यही हो । जनक (राजा)को नाउँबाट जनकपुर प्रसिद्ध भएजस्तै सीताको मडईबाट सीतामढी प्रसिद्ध छ ।

जानकीलाई भूमिसुता पनि भनिन्छ । भूमि अर्थात् जमिनको गर्भबाट उत्पत्ति भएकोले सीतालाई भूमिसुता पनि भनिएको हुनुपर्छ । जनकद्वारा पालित भएकीले जानकी स्वाभाविक नाम हो । जनकसुता जानकी वा भूमिसुता सीतालाई ऊर्वीजा पनि भनिन्छ । ऊर्वी शब्दको अभिप्राय पृथ्वी हुन्छ र जसमा जा प्रत्यय लागेको छ । जा प्रत्ययले जन्मनु वा जन्म लिनु भन्ने अर्थतर्फ संकेत गर्दछ । यसरी ऊर्वीजाको अर्थ हुन थान्छ – पृथ्वीबाट जन्म लिनु । सिरध्वज जनकले हल–कर्षण–यज्ञ गर्दा पृथ्वीबाट उत्पन्न भएको कारण ऊर्वीजा पनि भनिएको हो । भूमिबाट उत्पन्न भएकीले भूमिपुत्री या भूसुता समेत नाम रहेको जानकी मिथिलाकी राजकुमारी भएकीले मैथिली पनि कहलाइन् । सीतालाई जनकात्मजा वा जनकसुता पनि भनिएको पाइन्छ । कतै माटाको घैंटा त कतै बाकस वा पेटी भनेर उल्लेख गरिएको छ जसबाट सीता प्रकट भइन् । त्यो कहाँबाट त्यहाँ आयो ? यस विषयमा पनि किंवदन्तीहरु प्रचलनमा रहेका छन् । के भनिन्छ भने लंकापति रावण सबैसित कर असुल गर्दथे । राज्यका बासिन्दा जो सुकै भए पनि अनिवार्य कर तिर्नु पर्दथ्यो । भिक्षु, सन्न्यासी, ऋषि वा अतिविपन्न जो भए पनि अनिवार्य कर तिर्नु पर्दथ्यो । एकचोटि यही कर असुली गर्ने समयमा जोसित केही पनि थिएन । केही पनि थिएन भन्नुको तात्पर्य द्रव्य वा अन्न केही पनि थिएन तिनीहरुसित करस्वरुप तिनको शरीरबाट रगत निकालियो । त्यही रगतलाई एउटा माटोको भाँडोमा जम्मा गर्दै लगियो र यो अनौठो कर जब राजाको दरबारमा सम्बन्धित कर संकलनकर्ताले पु¥याए र त्यसको बारेमा विस्तृत कुराहरु भने, तब त्यहाँ उपस्थित रावणका पुरोहित तथा जान्नेहरुले त्यसलाई अनिष्टको रुपमा व्याख्या गरे । त्यस रगतलाई यथाशक्य शीघ्र नष्ट नगरे राजासहित राज्यको नाश हुने भविष्यवाणी गरे । यो सुनेर राजा रावण स्वयं द्रूतगामी रथमा आरुढ भई आकाशमार्गबाट आफ्नो राज्यको सीमाभन्दा निकै टाढाको जंगलमा पु¥याएर खाल्टो खनी रक्तपात्रलाई जमिनमा गाडिदिए । रावणलाई के विश्वास थियो भने यति धेरै टाढा रक्तपात्रलाई पु¥याउन सफल भएपछि उक्त रक्तपात्रबाट आफूलाई र आफ् नो राज्यलाई कालान्तरमा कुनै नोक्सानी हुने सम्भावना थिएन ।

कालान्तरमा त्यही ठाउँमा सिरध्वजले कृषियज्ञ गर्न पुगे र भूमिसुता सीता प्रकट भइन् । र, शास्त्रहरु साक्षी छन् ः त्यही रक्तपात्रबाट जन्मिएकी धरतीपुत्री सीताको कारण रावण र उनको राज्य तहसनहस हुन पुगे । पुराणहरुले रामलाई विष्णु मानेका छन् र सीतालाई लक्ष्मी । त्रेतायुगमा रामरुपी विष्णु र सीतारुपी लक्ष्मीको अवतार भएको पुराणहरु एकमत छन् । मुख्य गरी झन्डै सम्पूर्ण नेपाल तथा उत्तर भारतका करिब सम्पूर्ण हिन्दु नरनारी जो धर्म र अध्यात्मप्रति विश्वास गर्दछन्, सबैलाई यस कुराप्रति विश्वास रहेको छ । जानकीको अवतीर्ण वैशाख शुक्ल नवमीको दिन भएको मानिएको छ । जानकीको विषयमा अझ धेरै मिथकहरु प्रचलनमा रहेका छन् वा हुनुपर्छ । सम्भव भएसम्म यस्ता मिथकहरुलाई संकलन गर्नुपर्दछ । हाम्रो समाज र संस्कृतिका यस्ता धरोहरहरु प्रकाशमा आउनु पनि पर्दछ । जानकीबाट अझ धेरै प्रेरणाहरु समाजले लिन सक्ने देखिन्छ । यस प्रकारका सकारात्मक कुराप्रति चासो राख्दै प्रचारप्रसार गरिनु आवश्यक पनि छ । नेपालको राष्ट्रिय विभूति सीता प्रकाट्य तिथि अर्थात् सीता जयन्तीको विश्वका सम्पूर्ण सहृदयीमा हार्दिक शुभकामना छ ।

Comment


Related News

Latest News

Trending News