प्रादेशिक अस्पताल जनकपुरमा शनिवार पनि एक कोरोना संक्रमितको मृत्यू भएको छ ।
लक्ष्मीनियाँ गाउँपालिका घर भएका ६० वर्षीय पुरुषको प्रादेशिक अस्पतालको कोभिड वार्डमा उपचारको क्रममा मृत्यू भएको हो । मृतकका छोराले बुवाको दाहसंस्कारका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बन्धुप्रसाद बास्तोलासँग गुहार माग्न जिल्ला प्रशासन कार्यालय पुगे । तर शनिवार भएका कारण कार्यालयमा कोही भेटेनन् । पछि उनले प्रजिअ बास्तोलालाई पटक पटक फोन गर्दा रिसिभ भएन् । प्रशासनको सहयोग नपाएपछि उनले जनकपुरका युवाहरुलाई गुहारेपछि शव व्यवस्थापन गरिएको छ । युवा नेता राकेश विक्रम साह नेतृत्वमा युवाहरुले मृतकको शव व्यवस्थापन गरेका हुन् । पिपिई लगाई स्वास्थ्य मापदण्डको पालना गरी शव व्यवस्थापन गरिएको छ । यसअघि पनि कोरोनाबाट एक मृतकको शव जनकपुरका युवाहरुले नै व्यवस्थापन गरेका थिए ।
सरकारले शव व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई सुम्पेको छ । तर यहाँका प्रजिअ बास्तोलाको वेवास्ताले शव व्यवस्थापन गर्न समस्या भइरहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका एक पदाधिकारीले बताए । ती पदाधिकारीका अनुसार प्रजिअ बास्तोलाले कोरोनाले मृत्यू भएपछि नेपाली सेनाले कसरी खबर पाउने सिस्टम नै बनाएका छैन । सोही कारण समस्या भइरहेको छ । यस विषयमा बुझ्न प्रजिअ बास्तोलासँग सम्पर्क गर्दा फोन रिसिभ भएन ।


