प्रतिगमनकारी प्रधानमन्त्री केपी ओलीलाई सहयोग गरेको भन्दै जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले महन्थ ठाकुर र राजेन्द्र महतोको पुतला दहन गरेका छन् ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ३ स्थित जनकपुर–महेन्द्रनगर सडकखण्डमा बुधबार दिउँसो जनता समाजवादी पार्टी नेपालका अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोको पुतला दहन गरेका हुन् । वडा नं. ३ का वडाध्यक्ष एवम् युवा नेता तेज कुमार यादव(हिरा)को अध्यक्षतामा राजमार्गमै युवाहरुले ठाकुर र महतोको पुतला दहन गरेका छन् । जनता समाजवादी पार्टी नेपाल, धनुषाका सचिव घनश्याम यादव, जसपा नेपालका लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष लालबाबु यादव लगायतको उपस्थितिमा पुतला दहन कार्यक्रम गरिएको वडाध्यक्ष तेज कुमार यादवले जनाए । यादवका अनुसार पछिल्लो समय असंवैधानिक र प्रतिगमनकारी कदम चालेको प्रधानमन्त्री ओलीलाई साथ दिएरठाकुर र महतोले मधेश विरोधी गतिविधि गरेको आरोप उनीहरुको थियो । कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुर र महतोले पार्टीको आधिकारिक निर्णय नमानेर जर्बजस्ती गरेको उनीहरुको भनाई थियो ।
ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएपछि नेपालको संविधानको धारा ७६ अन्तर्गत वैकल्पिक सरकार गठन गर्न विभिन्न चरणका प्रयासहरू हुँदै गर्दा सर्वोच्च अदालतका २०७७ फागुन ११ गतेको फैसला बमोजिम पुर्नस्थापित प्रतिनिधिसभाको कारण विना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले पुनः विघटन गरेको थियो । प्रधानमन्त्रीको उक्त निर्णयको ठाकुर र महतो पक्षले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले विश्वासको मत लिदा ठाकुर र महतो पक्षका १५ जना सांसद तटस्त बसेका थिए । मधेशीको भावना विपरित ठाकुर र महतो मन्त्री बन्नको लागि गरेको झेल तत्काल रोक्नुपर्ने माग युवाहरुले गरेका थिए । यता, ठाकुर र महतोले प्रतिगमनकारी प्रधानमन्त्रीलाई सहयोग गरेको भन्दै महोत्तरीको जलेश्वरमा पनि बुधबार पुतला दहन गरिएको छ । जसपा नेपाल, महोत्तरीका जिल्ला अध्यक्ष नागेन्द्र यादवको उपस्थितिमा कार्यकर्ताहरुले जलेश्वरमा ठाकुर र महतोको पुतला दहन गरेका थिए । यस्तै, सिरहाको लहानमा प्रतिगमनकारी प्रधानमन्त्री ओलीलाई साथ दिएको भन्दै महन्थ ठाकुर र राजेन्द्र महतोको पुतला दहन गरिएको छ । जसपा ओपेन्द्र यादव समूहले ठाकुर र महतोको पुतला दहन गरेका छन् ।


