प्रदेशको आठै जिल्लामा सेल्फ डिफेन्स तालिम गराएर चर्चामा आएका वरिष्ठ प्रशिक्षक बैजनाथ यादव(बैजु)को १३औं दिनको पुण्यतिथिमा बुधबार श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।
यादवको पुख्र्यौली गाउँ जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ थुम्हौनास्थित बजरंग डोजोमा बुधबार श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो । वरिष्ठ प्रशिक्षक यादवको विशेष पहलमा निर्माण हुन लागेको खेल भवनमै युवाहरुले श्रद्धाञ्जली कार्यक्रम गरेको हो । गोपाल युवा समितिका अध्यक्ष, नेपाल क्योकुशिन कान कराँते संघ प्रदेश २ का अध्यक्ष, नेपाल सेल्फ डिफेन्स संघका प्रदेश संयोजक र नेपाल लोकतान्त्रिक खेलकुद संघका प्रदेश संयोजक समेत रहेका वरिष्ठ प्रशिक्षक यादवको गएको जेठ २ गते कोरोनाबाट असमायिक निधन भएको थियो । उनी लामो समयदेखि धनुषा जिल्लाको विभिन्न स्थानमा खेलाडीहरुलाई क्योकुशिन कराँतेको प्रशिक्षण दिदै आएका थिए । उनको निधनले खेल जगतमा अपूरणीय क्षति भएको छ । खेल क्षेत्रले एक योद्धा गुमाएको भन्दै समाजिक संजालमा उनीप्रति समवेदना प्रकट गर्नेको ओइरो नै लागेको थियो । सालिन स्वभावका वरिष्ठ प्रशिक्षक यादवको निधनले खेल क्षेत्रमा अपूरणीय क्षति भएको श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरु बताएका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, प्रशिक्षक, खेलाडी, भद्रभलादमीहरुको सहभागिता रहेको नेपाल सेल्फ डिफेन्स संघका प्रदेश कोषाध्यक्ष सुनिल कुमार यादवले जनाए । सो अवसरमा प्रशिक्षकहरु सिवेन्द्र यादव, बालगेश्वर यादव, टिका यादव, रामइश्वर महरा, मनोज यादव लगायतको उपस्थिति रहेको थियो । यता, यादवको १३औं पुण्यतिथिको अवसरमा गोपाल युवा समितिले पनि बुधबार दीप प्रज्वलन कार्यक्रम गरेको छ । नेपाल सेल्फ डिफेन्स संघ धनुषाले पनि जानकी मन्दिरमा यादवको श्रद्धाञ्जलीमा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।


