प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा)का सांसदहरुमा भारी आक्रोश देखिएकोछ । प्रदेश सरकारको कृयाकलाप जनबिरोधी रहेको, मन्त्रीहरु भ्रष्टाचारमा लिप्त रहेको र सरकार फेर्ने तर्फ नेतृत्वले ध्यान नदिएको भन्दै पूर्व समाजवादी पार्टीका झण्डै दर्शन सभासदले सरकारलाई चुनौती दिन तयारी अवस्थामा रहेका छन् । जसपाको केन्द्रिय तहमा विवाद चर्किएर पार्टी विभाजोन्मुख रहेकोछ । पार्टी कार्यकारिणी समितिको झण्डै दुई तिहाई बहुमतको निर्णयबाट वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मण लाल कर्ण र सर्वेन्द्र शुक्ललाई स्पष्टिकर सोधिए लगतै एकल निर्णयबाट महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पनि स्पष्टिकरण सोधेका छन् । वाकयुद्धमा उत्रेका नेताहरु अब पत्रयुद्ध समेत सुरु गरेका छन् । तर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा त्यसको कुनै प्रभाव नपर्ने प्रष्टिकरण दिदै आएका छन् । प्रदेशमा जसपाका मन्त्रीहरुलाई हटाएर काँग्रेस, माओवादी केन्द्र र एमालेको माधवकुमार समुह समेतको समर्थनमा सरकार बनाउन केन्द्रिय तहमा वहस सुरु भइसकेको छ । तर पूर्व राजपालाई अलग्याए पूर्व समाजवादीका १० जना भन्दा बढी सभासद उता जान सक्ने मुख्यमन्त्री राउतलाई चिन्ता छ । मुख्यमन्त्री र पूर्व समाजवादीका केहि मन्त्रीहरुको क्रियाकलापले पूर्व समाजवादी पार्टीका सभासदहरु विक्षुब्ध छन् । अर्को तर्फबाट गतिलो प्रलोभन आए उनीहरु तत्कालै पार्टी परिवर्तन गर्न सक्छन् ।
मुख्यमन्त्री राउतको गृह जिल्ला पर्साकै सभासदहरु बढी असन्तुष्ट देखिएका छन् । प्रदेश २ मा हाल पूर्व समाजवादीको ३०, पूर्व राजपाको २५, एमालेको २१ काँग्रेसको १९, माओवादी केन्द्रको ८ र एकजना स्वतन्त्र सभासद रहेका छन् ।त्यस मध्ये पूर्व राजपाका एकजना सरोजकुमार राय सभामुख छन् । आँकडा अनुसार पूर्व समाजवादी पार्टीका १० जनाले छाडेपनि पूर्व राजपाको सरकार बन्न सक्दैन् । प्रदेश सभामा कुल १ सय ४ जना सभासद छन् । माओवादी केन्द्रले ४ जनालाई कार्वाहीगरि हटाएपछि समानुपातिक तर्फ १ जनालाई पुनःमनोनयन गरिसकेको छ । प्रदेशमा रहेको गठबन्धनलाई चलाउन सक्ने आँट मुख्यमन्त्री राउत स्वयंले गर्न सक्दैन् ।‘राउतमा नेतृत्व क्षमताको चरम अभाव रहेकोछ’ पर्सा जिल्लाका एकजना सभासदले भने, हामी अत्यन्त असहज महसुस गरिरहेका छौ । स्रोतका अनुसार पर्साबाट २ महिला र १ पुरुष , बाराबाट २ पुरुष, रौतहटबाट १ पुरुष, सर्लाहीबाट १ पुरुष, महोत्तरीबाट २ पुरुष, धनुषाबाट १ पुरुष, सिरहाबाट १ महिला र सप्तरीबाट १ पुरुषले पूर्व समाजवादीबाट खेमा परिवर्तन गर्न सक्ने संभावना रहेकोछ । त्यसैगरि पूर्व राजपाका ३ जनाले त खेमा परिवर्तन गरिनै सकेका छन् ।थप ४ जनाले खेमा परिवर्तनगरि पूर्व समाजवादी पार्टी तर्फ जाने संकेत छ ।पूर्व राजपाबाट ३ जना थपिएसँगै पूर्व समाजवादी खेमामा हाल ३३ जना सभासद पुगेका छन् । ‘सरकारमा उथलपुथल हुँदा मुख्यमन्त्रीको कुर्सी समेत हल्लिन सक्ने जोखिमलाई राउतलाई बुझाइएकोछ’ उच्च स्रोतले भने, त्यसकारण उनी शीर्ष नेतृत्वलाई हाल यसै गठबन्धनलाई निरन्तरता दिनुपर्ने तर्कहरु दिइरहेका छन् ।
तर केन्द्रमा बढदो राजनीतिक घटनाक्रमले प्रदेशको सत्तासमिकरण टुट्न सक्ने संभावना बढ्दै गएकोछ । पूर्व राजपाले मुख्यमन्त्री राउतलाई गठबन्धन नतोड्न धम्कीदिदै विभाजनको स्थिति आएपनि समर्थन गरिने आश्वासनपनि दिइरहेको स्रोतले जनाए । खेमा परिवर्तनमा मन्त्रीहरु भने ‘फ्रन्ट लाइन’मा देखिएका छन् ।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव र समाजिक विकास मन्त्री नवलकिसोर साहले खेमा परिवर्तन गरिसकेका छन् । सरकारमा उथलपुथल भए अन्य केहि मन्त्री र राज्यमन्त्रीले पनि खेमा परिवर्तन गर्न तम्तयार अवस्थामा रहेका छन् । केन्द्रमा उथलपुथल भएर पार्टी नै फुटेपनि प्रदेश २ मा सरकारबाट पूर्व राजपा अलग्गिने मनस्थितिमा देखिएको छैन् । केन्द्रमा पूर्व राजपाका महन्थ ठाकुर–राजेन्द्र महतो लगायतको समुहले प्रधानमन्त्री केपी ओलीलाई काँध थापेको छ । पूर्व समाजवादीका उपेन्द्र यादव र बाबुराम भट्टराई समुहले त्यसको बिरोधमा छन् ।


