तीन दिनदेखि निरन्तर भईरहेको वर्षाले प्रदेश २ को जनजीवन अस्तव्यस्त भएको छ । लकडाउनका कारण पहिलादेखि हाटबजार तथा विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्था बन्द रहेको भएपनि निरन्तर भईरहेको वर्षाले सर्वसधारण झन सास्ती भोग्न वाध्य भएका छन् ।
बंगालको खाडीमा सुरु भएको च्रक्रवर्ति तुफानको प्रभावको कारण प्रदेश २ सहित नेपालका विभिन्न स्थानमा वर्षा भईरहेको छ । वर्षाको कारण प्रदेश २ मा अहिले सम्म कुनै मानविय तथा भौतिक क्षति नभएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईले बताए । निरन्तर भईरहेको वर्षाले नदि तथा पोखरीहरुको पानि सत्तर बढेपनि कुनै नदिमा बाढि नआएको उनले बताए । बिहीबारदेखि लगातार चलेको हवाहुरी र वर्षाले प्रदेश २ का जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ । बिहीबार साँझदेखि सुरु भएको हावाहुरी र वर्षा शुक्रबार दिनभर जारी रह्यो । बेमौसमी वर्षाले प्रदेशका अस्थायी राजधानी जनकपुरधामको सडकहरुमा पानी जमेको छ । सहायक बाटोमा पानी जम्दा नगरबासीलाई घर बाहिर निक्लिन मुस्किल भएको छ । कोरोनाका कारण कष्टकर बनेको जनजीवन लगातारको झरि र हावाहुरीले गर्दा थप प्रभावित बनेको छ । बिहीबार रातिदेखि चलेको हावाहुरी संगै वर्षाका कारण जनजीवन प्रभावित बनेको हो । यता, वर्षाका कारण सदरमुकाम राजविराजदेखि ग्रामीण भेग समेत जलमग्न बनेका छन् । राजविराजस्थित सिरहा रोडमा चार फिटसम्म पानी जमेर जलमग्न भएको स्थानीय सञ्जीव उपाध्यायले बताए । यसै गरी अदालत रोड,पुर्णि रोड,मिथिला टोलमा समेत पानी जमेर जलमग्न भएको छ ।
राजविराज मिथिला टोलमा आधा दर्जन जति घरमा वर्षाको पानी पसेको स्थानीय अजित कुमार ठाकुरले जानकारी दिएका छन् । राजविराज नगरका विभिन्न वडामा नाला निर्माणको काम चालु रहेको अवस्थामा एक्कासी भएको वर्षाले पानी निकासको समस्या देखिएको छ । वर्षा संगैको हावाहुरीले गर्दा ठाउँठाउमा विद्युत अबरुध्द भएको छ । नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजका अनुसार हावाहुरीले विद्युतीय तार चुँडिएका कारणले सेवा अबरुध्द भएको हो । केन्द्र प्रमुख आमोद प्रसाद यादवले चुँडिएका तारको मर्मत कार्य सुरु भए पनि लगातारको वर्षाका कारण काम गर्न समस्या भईरहेको बताए । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले हावाहुरी र वर्षाबाट भएको क्षतिको विवरण संकलन कार्य जारी रहेको बताएका छन् ।


