अपडेट 
२०७८ जेष्ठ २०, बिहीबार ०७:०५

सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई २ लाख जरिवाना र ४ वर्षसम्म कैद सजाय हुने व्यवस्थासहित अध्यादेश ल्याउने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन अध्यादेशको मस्यौदा तयार पारेको छ । जसमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आ३त पुर्‍याउनेलाई दुई लाख जरिवाना वा चार वर्ष कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ । स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई पनि यही सजाय प्रस्ताव गरिएको छ ।

विधेयकमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई धम्की दिने, मानसिक तनाव दिने वा अपमानजनक व्यवहार गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्ष कैद वा दुबै सजाय प्रस्ताव गरिएको छ । त्यस्तै बिरामीको उपचारमा अवरोध गर्नेलाई २० हजार रुपैयाँसम्म जरिवाना र ३ महिनासम्म कैद प्रस्ताव गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव मानबहादुर बस्नेतका अनुसार स्वास्थ्यले पठाएको प्रस्ताव मन्त्रिपरिषदको विधायक समितिमा छलफलको चरणमा छ । अबको एक/दुई दिनमा मन्त्रिपरिषद बैठकमा पेश हुनेछ । ‘पुरानै ऐनलाई संशोधन गरेर अद्यादेशमार्फत आउने गरी पठाएका हौं, त्यहाँबाट हाम्रो प्रस्तावमा केही संशोधन पनि हुन सक्छ’ बस्नेतले भने ।

स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढ्दै गएकाले स्वास्थ्यकर्मीको सुरक्षाको लागि अध्यादेश ल्याउने तयारी भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए । अहिले प्रचलनमा रहेको ऐनाम स्वास्थ्यकर्मी अथवा स्वास्थ्य संस्थामा हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने उल्लेख छ । यदि त्यस्तो भएमा स्वास्थ्यकर्मीले सुरक्षा माग गर्न सक्ने व्यवस्था गरिएको छ ।

स्वास्थ्यकर्मी र अस्पतालमा आक्रमण गर्नेलाई दण्डको व्यवस्था कानुनमै राख्नुपर्ने भन्दै स्वास्थ्यकर्मीले माग गर्दै आएका थिए । अघिल्लो हप्ता बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि स्वास्थ्यकर्मीले यो आवाज अझ चर्काएका थिए । ऐनमा स्वास्थ्यकर्मी भनिएकामा अध्यादेशमा संशोधन गरी स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी बनाइएको छ ।

Comment


Related News

Latest News

Trending News