अपडेट 
२०७८ जेष्ठ २८, शुक्रबार ०८:१८

संघीय राजनीतिको ‘उठापटक’ सँगै मधेश, त्यसमा पनि खास गरी प्रदेश २, को राजनीति प्रभावित हुन पुगेको छ । निश्चय पनि प्रदेश २ का मतदाताका लागि प्रदेशको पछिल्लो राजनीतिक अवस्था बडो रुचिपूर्ण हुने देखिएको छ । प्रदेशको विद्यमान राजनीतिका सम्बन्धमा यसै पत्रिकाको जेठ १४ गतेको अंकमा यस पंक्तिकारको विचार (लेख) प्रकाशित छ । पंक्तिकारले त्यस लेखमा संकेत गरेजस्तै अहिले यस प्रदेशमा राजनीतिक अवस्था उपस्थित हुन पुगेको छ । वर्तमानको परिवर्तित राजनीतिक अवस्थासँगै मधेश अहिले एकपटक पुनः नेपाली राजनीतिक वृत्तमा ‘हट केक’ को अवस्थामा विराजमान हुन पुगेको छ । वर्तमानको संघीय सरकारको नेतृत्व गरिरहेका के पी ओलीको समर्थन र विरोध गर्ने वहानामा करिव विभाजनको अवस्थामा पुगेको प्रदेशको सत्ताधारी दल जनता समाजवादी पार्टी (जसपा)मा विग्रहको सिर्जना भएको छ । यस दलको पछिल्लो अवस्थाको विश्लेषण गरेका खण्डमा उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको पुरानो संघीय समाजवादी पार्टी (ससपा) र महन्थ ठाकुर र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) मानसिकरुपमा अलग अलग स्थितिमा छन् । ससपा प्रधानमन्त्री ओलीविरुद्धका गठवन्धनमा समाहित छ भने राजपाले ओलीलाई काँध थापेको छ ।

यो विवादका सन्दर्भमा दुबै पक्षले एकअर्कालाई कार्यवाही गर्ने कार्य गरिरहेका छन् तर कसैले पनि पार्टीको औपचारिक विभाजन भने गरेका छैनन् । शायद विभाजनको आँट गर्न सकेका छैनन् । अब यो विवादको पूरापूरा प्रभाव प्रदेश २ र यहाँको सरकारमाथि परेको छ । प्रदेश २ को सभामा प्राविधिकरुपले उपेन्द्र– बाबुराम समूहको वहुमत छ । यस कारणले सरकारको नेतृत्व पनि यसै समूहले गरिरहेको छ । जसपाभित्रको आन्तरिक विवाद चुलिएसँगै सकारको नेतृत्वकारी समूहले महन्थ–राजेन्द समूह अर्थात् पुरानो राजपा समूहका चारजना मन्त्रीको जागीर खोसेको छ र तिनलाई सरकारबाहिरको बाटो देखाएको छ । लगत्तै बुधवार कांग्रेसका तीन र माओवादीका दुईनालाई प्रदेशमा मन्त्री बनाइने सहमति सार्वजनिक भयो । यसअनुसार प्रमुख पूतिपक्षी कांग्रेस प्रदेश संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र विरेन्द्र सिंहले बुधवार अबेर राती मन्त्री पदको शपथग्रहण गरे । यो आलेख तयार गरुञ्जेलसम्म माओवादीको भने टुंगो लागिसकेको छैन । यससँगै जसपामा औपचारिक विभाजन नआउञ्जेल प्रदेशमा अब नेकपा एमाले औपचारिकरुपमा प्रमुख प्रतिपक्ष बन्ने निश्चित छ । निश्चय पनि यो अवस्था सिर्जना हुनुमा जसपाको विवादको चरमोत्कर्षलाई मूल कारक मान्न सकिन्छ । र यसैका साथ प्रदेशमा नयाँ राजनीतिक समीकरणको मार्ग प्रशस्त भएको निष्कर्ष निकाल्न सकिन्छ । वर्तमानको अवस्थाले निरन्तरता पाएका खण्डमा भविष्यमा यस प्रदेशमा ओली नेतृत्वको एमाले, पुरानो राजपा, कमल थापा नेतृत्वको राप्रपासहितको समीकरण बन्न सक्ने छ । यस समीकरणमा सिके राउतको समूह पनि संलग्न हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न ।

यस्तै नेपाली कांग्रेस, पुरानो ससपा, माधव–झलनाथ नेतृत्वको एमाले, माओवादी केन्दलगायतका राजनीतिक समूहको नयाँ गठवन्धन बन्न सक्ने सम्भावन छ । यसबीचमा यस प्रदेशमा सामान्य नै भए पनि विवेकशील साझा पार्टीले पनि आफ्नो संगठन विस्तार गरेको छ । यो समूह एक्लै रहे पनि अथवा माथि उल्लेख गरिएका कुनै समीकरणमा मिसिँदा यसले केही परिणाम प्रभावित गर्ने पक्का छ । निकट भविष्यमा स्थानीय चुनाव सन्निकट छ । निश्चय पनि भविष्यको राजनीतिमा विकसित हुने सम्भावना रहेका उपर्युक्त समीकरणको प्रभाव मधेशमा नयाँ ढंगले पर्नेछ । भनिन्छ, राजनीतिमा केही पनि कुरा असम्भव हुँदैन र समीकरण निर्माणको आधार जायज वा नाजायज हुँदैन । यसो हुँदो हो त जसपामा विग्रह नै आउँदैनथ्यो होला । हिजो जो एकअर्काका विरुद्ध चुनावमा प्रतिस्पर्धी थिए र एकअर्काविरुद्ध गालीगलौचको शैलीमा प्रस्तुत् हुन्थे तिनका बीच आज नयाँ समीकरण बन्ने र सरकारमै सहभागी हुनेसम्मको अवस्थाको सिर्जना हुँदैनथ्यो होला । राजनीतिमा एयटा अर्को भ्रम पनि छ कि जनताको स्मृति सँधै ताजा रहँदन र उनीहरु बडो छिटो विर्सन्छन् । यो कुरा सोह्रै आना गलत हो । हिजो मधेशमा चुनाव लडदा कांग्रेस र मधेशवादी दलहरुले एकअर्काविरुद्ध आरोप प्रत्यारोप गर्दा समाजमा नकारात्मक अशर पगेको र अनेकौ घर परिवार विथोलिएको कुरा मतदाताले यति छिटो कसरी विर्सलान ? तात्कालीन एमाले र राजपाका नेताले एकार्काविरुद्ध गरेको विष वमनको प्रभाव मधेशका समाजमा अझ पनि छ । नाकावन्दीको समर्थन र विरोधको तुस अझै विद्यमान छ । उग्रराष्ट्रवाद र गैरराष्ट्रवादको प्रलापबाट समाज अझै प्रभावित छ ।

मतदाताले यी अवस्थालाई कसरी यति छिटै विस्मृतिमा पुर्याउन सक्छन् ? यी समीकरण यथावत रहने हो भने अबको सन्दर्भमा मधेशको नयाँ मुद्दा के हुने ? र त्यसको निकर््यौल कसले गर्ने ? प्रश्नहरु त निकै गम्भीर छन् । सर्वाधिक चुनौतीपूर्ण अवस्था त नेपाली कांग्रेसका लागि उपस्थित हुने सम्भावना विकसित हुँदैछ, यसलाई नकार्न सकिन्न । मधेशको रैथाने पार्टी मानिने नेपाली कांग्रेस आज उपेन्द्र–बाबुराम अर्थात मधेशवादी दलको बुई चढेर जनमत सम्बद्र्धनको प्रयास गर्न चाहनछ भने त्यसलाई कसरी बुझ्ने ? यस पृष्ठभूमीमा मधेशको वर्तमान अवस्थाबारे थोरै थप विश्लेषण गर्नु अपरिहार्य छ । नेपालका राजनीतिक दल मधेश, मधेशको विकास, मधेशका जनताको हकहीतप्रति कति सरोकार राख्दछन् त्यो विश्लेषणको अर्को पाटो हुन सक्छ । इमानदार र प्रतिबद्ध मतदाताका रुपमा मधेशका जनता भने सबै दललाई चाहिएको छ, यो यथार्थ हो । नेपालको कूल मतदाताको आधाभन्दा बढी हिस्सा ओगट्ने मधेश आफ्नो यही रणनीतिक महत्वका कारण सबै राजनीतिक दलका लागि आधारभूत रुपमा प्रयुक्त हुने अवस्थामा छ । नेपाली कांग्रेस, एमाले, राप्रपा र सद्भावना पार्टी (टूट फूटपछि वर्तमानमा अनेकरुपमा अस्तित्वमा रहेका) लगायतका परम्परावादी शक्तिका साथै विगतको ६२÷६३ जनआन्दोलन र मधेश आन्दोनपछि मूलधारमा आएका तात्कालीन नेकपा माओवादी र मधेशी जनाधिकार फोरमलगायतका मधेशकेन्द्रित दल (यी दुबै पार्टीको अहिले पृथक अस्तित्व छैन ) सबैका लागि मधेश यतिखेर क्रिडाभूमी बनिरहेको छ । यसै श्रेणीमा अब जनमत र विवेकशील साझा पार्टी पनि थपिएका छन् । तर सत्य के हो भने मधेशका आकांक्षा अहिले पनि अपुरै छन् । विकास ओरालो लागेको लाग्यै छ । मानवाधिकारको अवस्था टीठलाग्दो छ । काठमाडौकेन्द्रित संघीय सत्ता अनुदार देखिएको छ, प्रदेशमा रोजगारी उपलब्ध हुन सकेको छैन ।

खाडीका देशमा रोजगारीका नाममा पलायन हुनेमा सबैभन्दा बढी मधेशकै वासिन्दा छन् । समावेशीका नाममा केही नाम त प्रयोग हुने अवस्था छ तर अधिकांश भने अझै सम्मानको खोजीमा छन् । राज्यका निकायमा उपस्थिति न्यून छ । यस स्थितिलाई केहीले मधेस राजनीतिको लाचारीको संज्ञा दिने गरेका छन् भने केहीले यसलाई किंकर्तव्यविमूढताको जामा पहिर्याउने गरेका छन् । मधेशमा यस्ता थुप्रै मुद्दा अस्तित्वमा छन् । जे होस, यी मुद्दाहरुको उपस्थितिमा मधेश यतिखेर राजनीतिक संक्रमणमै छ भन्न सकिन्छ, यो सत्य हो । मधेशका नाममा विगतमा चुनावमा सहभागी भएर विजय हासिल गरेको तात्कालीन ‘फोरम’ र छ वटा राजनीतिक दलको गठवन्धन ‘राजपा’ को अहिले प्रदेश दुईमा मिलिजुली सरकार क्रियाशील थियो र पछि यी पार्टीबीच जसपा का रुपमा एकीकरण पनि भयो तर यो एकीकरण दीर्घ र टीकाउ हुन सकेन । नेताहरु सत्तामुखी हुँदा मधेशका मुद्दा एकपटक पनः ओझेलमा परेभन्दा असंगत ठहरिन्न । एउटा कुरा त निश्चित छ, पछिल्ला दिनमा नेपाली राजनीतिमा देखिएको दलहरुबीचको नयाँ सरचनाले नेपाली राजनीतिलाई नयाँ ढंगले प्रभावित गर्नेछ । विगतमा मधेशको राजनीतिमा जोड घटाउका दृष्टिकोणले एक महत्वपूर्ण खेलाडी मानिँदै आएको तात्कालीन नेकपा (माओवादी)को अहिले सशक्त अस्तित्व छैन । एमाले र जसपा विभाजित अवस्थामा छन् । नेपाली कांग्रेस उपेन्द्र यादवसँग जोडिन पुगेको छ । यसै गरी मधेशको राजनीतिमा खासै महत्वपूर्ण उपस्थिति नरहेको तात्कालीन नयाँ शक्ति पार्टीका बाबुराम उपेन्द्रकै भरमा मधेशमा आफ्नो अस्तित्व खोजिरहेका छन् । जे पी गुप्ताको तराई मधेश राष्ट्रिय (तमरा) अभियानको गति अहिले सुस्तजस्तो देखिएको छ ।

यस्तै विगतको निर्वाचनमा ‘कोठा बाहिर’ मतदान गर्न स्थानीय मतदातालाई उत्प्रेरित गर्ने राउत अहिले नयाँ पार्टीको कलेवरमा प्रस्तुत् भएका छन् । यी केही यस्ता अवस्था हुन् जसले मधेशको राजनीतिलाई नयाँ ढंगले प्रभावित गर्ने हैसियत राख्दछन् । भविष्यमा यसको परिणाम कस्तो र कुनरुपमा देखिनेछ, त्यसका लागि केही समय प्रतिक्षा गरौं । जुनसकै समीकरणको उपस्थितिमा पनि एउटा कुरा निीश्चत छ, कांग्रेस सत्तामा गएपछि होशियार नहुने हो भने, तीन वर्षभन्दा बढी समय सत्ताबाहिर रहेर जोगाएको साख र जनताबाट प्राप्त गरेको सहानुभूति, क्षणभरमै धरमरमा पर्न सक्छ ।

Comment


Related News

Latest News

Trending News