अपडेट 
२०७८ जेष्ठ २९, शनिबार ०८:४६

आन्दोलनकारी मधेसी मोर्चा वा दलहरु तथा विभिन्न कालखण्डका नेपाल सरकार बीच पटक पटक भएका समझौताका प्रत्यक्षदर्शी , प्रत्यक्षस्पर्शी वा टिप्पणीकारमध्येका एक जना म पनि हुनुपर्दछ । हैसियत नपुगेर वार्ता स्थलमै पुग्न नसकेको होउला तर ग्राउण्ड जीरोमा भने आफ्नो हैसियत र लिकायतले भ्याएसम्म आन्दोलनका सवल पक्षलाई जनजनसम्म पुर्याउने प्रयास भने गरेको छु । हो , नेताहरुको कूर्सीमोह , भाई भतिजावाद तथा भ्रष्टाचारलगायतका दुर्वल पक्षहरुको आलोचना पनि नगरेको होइन । जसले जे भने पनि मलाई आफ्नो भूमिकमाप्रति कुनै पछुतो छैन । गर्व नै छ ।

२०६३ सालमा मधेस आन्दोलन उत्कर्षमा रहेको वेला तत्कालीन नेपाली काग्रेस, एमाले र माओवादीको पक्षपोषण गर्दै आन्दोलन र आन्दोलनकारी विरुद्ध चुग्ली र सुराकी गर्ने , सत्ताधारी पार्टीबाट पद प्रतिष्ठा तथा लाभ लिनेपात्रहरुलाई आज मधेसवादी कहलाउदा पार्टीहरुमा पनि चुरीफुरी देख्छु । तर मलाई अचम्म लाग्दैन । कारण राजाकालका खुंखार पञ्चहरु खांटी काग्रेस,एमाले र माओवादी बनेको देखेको यस मनुवाका लागी मधेसवादी पार्टीमा देखिएको दलबदलुहरुको रजगज अनौठो होइन । तर दुर्भाग्य आजसम्म मैले नगदी र उधारो बीचको भेऊ पाउन सकेको छुईन । पटक पटक सत्तामा पुग्ने, अवसरमिले आर्थिक लाभ लिनबाट पनि नचुक्ने , मधेसवादी दलका नेताहरुको नगदी र उधारी बीचको फरक मैले छुट्याउन सकेको छुईन । सत्तामा जानु पूर्व जसको विरोधमा तल उग्र आन्दोलन गरिएको हुन्छ तिनै दल तथा नेतासंग नगदीमा समझौता गरेको झ्याली पिटेको देखेको छु । सुनेको छु । लगत्तै सत्ता छोड्ने वेला वा सत्ताबाट गल्हत्याएर निकाल्ने वेला नगदीमा मांग पूरा नगरेकोले सत्तासुख छाडेर मधेसी जनताको बीचमा आएको रोइलो गरेको पनि देखेको छु । उपत्यका छिरेपछि शरनागत हुने अनि तल झरेपछि आन्दोलनको लागी उकास्ने गरेको दृश्य पनि देखेको छु ।

आफ्ना छोरा–ज्वाई , छोरी–बुहारी अनि सम्धी–सम्धीनीलाई लाभको पदमा थन्क्याउर आफू निर्वाचित भएपछि वा मन्त्री जन्त्री भएपछि यिनै सखा सम्बन्धीहरुलाई पिएदेखि विचौलियासम्मको जिम्मेवारी दिएको पनि देखेको छु । तर दुर्भाग्य नगदी र उधारो बीचको भेउ भने पाउन सकेको छुईन । नगद र उधारो बीचको भेऊ पाउन आज मैले आफ्नो सामाजिक सञ्जार मार्फत जिज्ञासा राखेको थिए । खासमा मेरो जिज्ञासा अर्थशास्त्रका विद्वानहरुसंग थियो । धेरै जवाफ पाएको छु । थोर बहुत यहा“ राख्न अनुमति चाहन्छु । आशलाग्दा युवा व्यक्तित्व हेमन्त झा मैले चाहे जस्तै ठ्याक्क अर्थशास्त्रकै परिभाषा जवाफको रुपमा फर्काए । उनले लेखेका थिए – ! When you pay with cash, you hand over the money, take your goods and you are done. … When you pay with credit, you borrow money from someone else to pay। अर्को तर्फ मेरा आदरणीय गुरु तथा अर्थशास्त्रका विद्वान डा.भोगेन्द्र सरले सरल शब्दमा यस परिभाषिक शुब्दको उत्तर सम्झाउनु भयो – २ अपनेक त्वरित प्रतिउत्तर भेटब नगदी, प्रतिफल अनिश्चित उधार ! सामाजिक अभियन्ता ईन्जिनियर सत्यनारायण साहको प्रतिक्रृया भने अझ सरल र सटिक लाग्यो मलाई उनले लेखेका थिए – ३ नगदी मतलब दुनु हाथ खुजल रहैय (एक हाथ दिय आ एक हाथ लिय), उधारी मे एकेटा हाथ खुजैछै । हम त एहिना बुझैछि । साचौ भनौ भने आज मलाई नगदी र उधारो बीचको फरक अलि अलि छुट्याउन सक्ने भएको छु , जस्तो लागेको छ ।

यहा“ म २०७४ को आम निर्वाचन पछि केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन माननीय उपेन्द्र यादवले गरेको दुई बुंदे नगदी समझौताको कुरा गर्न खोजेको होइन । न त संविधान संशोधनको निहुमा ओली सरकारलाई र्दुइ तिहाई बहुमत दिलाउन माननीय महन्थ– राजेन्द्र समूहले सरकारलाई दिएको समर्थनको कुरा झिक्न खोजेको छु । मेरो चासोको विषय हो महन्थ–राजेन्द्र समूह र ओली नेतृत्वको सरकार बीच तथा उपेन्द्र यादव र काग्रेस,माओवादी एवं माधव– खनाल बीचको नगदी समझौता । यो कस्तो समझौता हो –जसले जनता समाजवादी पार्टीलाई लगभग विभाजित बनाएको छ ? यो कस्तो समझौता हो – जसले प्रदेश २ मा स्पष्ट बहुमतमा रहेको मधेस केन्द्रित दलको सरकारलाई छिया छिया बनाएको छ ? यस विषयमा अर्को सृंखलामा अर्को चोटी लेखौला । आन्दोलनको निहुमा मधेसीहरुमाथि लगाइएको मुद्दा फिर्ता, रेशम चौधरीको रिहाई, नागरिकता समस्या समाधान, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने तथा संविधान संशोधनलगायतका सर्त अघि सारी महन्थ–राजेन्द्र समूह ओली नेतृत्वको सरकारमा सहभागी भए । मुद्दाको राजनीति गर्ने दल वा समूह मुद्दा संवोधन भएपछि सरकारमा सहभागी नहुने कुरा आउदैन । कारण राजनीति गर्ने सरकारमा पनि जान्छन् ।

प्रतिपक्षमा पनि बस्छन् । चुरो कुरा सरकारमा जानु र नजानु होईन । चुरो कुरा नगदी र उधारो हो । कारण ओलीसंगको सहकार्य पछि आम मधेसीलाई आश्वस्त बनाउने प्रयास भएको थियो – यस पालीको समझौता नगदीमा भएको छ । ‘ एक हाथ दे , अर्को हाथ ले ।’ हो पनि केही थान मुद्दा फिर्ता लिइयो । आन्दोलनरत्त थारु समुदायसंग समझौता पनि भयो । रेशम चौधरी छुट्दै छन् । मन्त्रीमण्डलमा सहभागी हुदैछन् भनेर डंका पनि पिटियो । नागरिकता अध्यादेश पनि आयो । संविधान संशोधनको लागी कार्यदलपनि निर्माण भयो । आज २५ सदस्यीय संघीय मन्त्रीमण्डलमा १४ जना मधेसी मन्त्री छन् । सांचै यो गौरव वोध गर्ने समय हो । तर आज महन्थ–राजेन्द्र समूह र प्रधानमन्त्री केपी शर्मा ओली बीच भएको समझौताको डिएनए गर्ने वेला आएको छ । नगदी र उधारोको तराजुमा मापन गर्ने वेला आएको छ । मलाई सोध्न मन लागेको छ – रेशम चौधरी छूटे ? लाल आयोगको प्रतिवेदन सार्वजनिक भयो ? संविधान संशोधन कार्यदलको कतिवटा बैठक बसेको छ ? अनि नागरिकता अध्यायदेश के भयो ? मलाई लाग्छ सबैले भन्नु पर्ने हुन्छ ।

नगदी अर्थात एक हातले दिने अर्को हातले लिने जस्तो केही भएको छैन । त्यसैले मलाई भन्न मन लागेको छ – सरकार र महन्थ–राजेन्द्र समूह बीच भएको समझौतामा यदि केही नगदीमा डिल भएको छ भन्ने १४ थान मन्त्रीको पद । अन्यथा हालसम्म यो समझौता पनि उधारोमै छ ।

Comment


Related News

Latest News

Trending News