जनकपुरधाम । प्रदेश २ मा सभासदहरुले सरकारको ब्यापक आलोचनागर्दै नीति तथा कार्यक्रममा सुधारको खाँचो औल्याएका छन् ।
प्रदेश २को प्रदेश सभामा शनिबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा सभासदहरुले गत वर्षकै योजनाहरुलाई प्राथमिकतामा राखेको र नयाँ ल्याइएको योजनाहरुको कार्यान्वयनमा चुनौती रहेको बताए । प्रदेश २ मा सरकारको बिरोधमा कुनै दल नरहेपनि सत्तारुढ दलकै सभासदहरुलेपनि चर्को आलोचना गरे ।कोरोना भाइरस संक्रमणबाट जोगाउन सरकार गंभीर नभएको आरोप लगाउँदै प्रदेशमा खोपका लागि समेत पहल नगरिएको सभासदहरुले गुनासो गरे । प्रदेशमा सत्तासमिकरण फेरिएसँगै प्रदेश सभामा औपचारिक रुपमा नेकपा एमाले मात्र विपक्षमा रहेको छ ।नेपाली काँग्रेस सरकारमा सहभागि भइसकेको र माओवादी केन्द्र सरकारमा सहभागि हुने क्रममा रहेको छ । एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समुह संसदीय दलमा बहुमतमा रहेको छ ।संसदीय दलका नेता सत्रुधन महतो नेपाल–खनाल समुहमा रहेकाले अघोषित रुपमा सरकारको समर्थनमा नै रहेको छ ।केन्द्रमा रहेको पाँच दलको गठबन्धन अनुसार नै प्रदेशको राजनीतिपनि अगाडी बढेको छ । सरकारबाट बर्खास्त भएका सत्तारुढ जनता समाजवादी पार्टी(जसपा)को असन्तुष्ट पक्ष अल्मलमा रहेकोछ ।सरकारलाई समर्थन अथवा बिरोध गर्ने निर्णयमा अझै पुगि नसकेपनि सरकारको नीति तथा कार्यक्रमको छलफलमा आलोचनात्मक रुपमा नै प्रस्तुत भए ।
नीति तथा कार्यक्रमको छलफलमा अधिकांश सभासदहरुले आ–आफ्नो धारणा राखिसकेकाले आइतवार बाँकी रहेका सभासदहरुले बोलेपछि निर्णायार्थ प्रस्तुत हुने बताइएको छ । ‘थोरै मात्र सभासदहरुले बोल्न बाँकी रहेकोछ’ सभामुख सरोज कुमार यादवले भने, सभासदहरुले बोल्ने क्रम सकिनासाथ नीति तथा कार्यक्रमलाई निर्णायार्थ प्रस्तुत गरिनेछ । सरकारको पक्षमा मतदान गर्ने सभासदहरुको संख्या नै बढिरहेकाले नीति तथा कार्यक्रम पारित गर्न कुनै समस्या नआउनेमा सरकार ढुक्क रहेको छ ।सरकारको नीति तथा कार्यक्रममा पूर्व राजपाका सभासदहरुलेपनि समर्थन गर्नेछन् ।सभासद परमेश्वर साहले नीति तथा कार्यक्रम पारित गर्न हाम्रो समर्थन रहने बताए । नीति तथा कार्यक्रम पारित भएपछि सरकारले असार १ गते अगामी आर्थिक वर्ष २०७८÷२०७९को बजेट प्रदेश सभामा पेश गर्नेछ ।सभासदहरुले नीति तथा कार्यक्रम केन्द्रित बजेट नआउने गरेको आरोप लगाइरहेको बेला आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव बजेट बनाउन व्यस्त छन् । सरकारले नीति तथा कार्यक्रममा कोरोना भाइरसको महामारीबाट प्रदेशवासीलाई जोगाउने कार्यक्रमहरुलाई प्राथमिकता दिए अनुरुप नै बजेटपनि कोभीड–१९लाई प्राथमिकतामा राखेर ल्याउन लागिएको मन्त्री यादवले जनाए ।


