२०७८ जेष्ठ ३१, सोमबार ०७:२१

जनकपुरधाम । प्रदेश २ सरकारले ल्याएको आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

प्रदेश सभामा प्रदेश प्रमुख राजेश झा अहिराजले बिहिबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबार सर्वसम्मतले पारित भएको हो । नीति तथा कार्यक्रम पारितको प्रस्तावको विपक्षमा कोहि नबोलेपछि सभामुख सरोज कुमार यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको घोषणा गरेका थिए । नीति तथा कार्यक्रम पारित हुनु अघि मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको नीति तथा कार्यक्रममा महत्वपुर्ण योजना छुटेको स्वीकार्दै छुटेका कार्यक्रम समावेश गर्ने प्रतिबद्धता जनाए । नीति तथा कार्यक्रममा आधारित भएरै बजेट ल्याउने बताउदै प्रदेश सरकार कोभिड महामारी नियन्त्रणको अभियानमा पछि नपर्ने बताए । उनले कोरोनाको तेश्रो लहरमा प्रभावित हुने बालबालिकाको लागि छुट्टै अस्पताल बनाउने प्रतिबद्धता जनाएका छन् । जनकपुरको मणिपालस्थित कोभिड अस्पतालमै बालबालिकाहरुका लागि छुट्टै व्यवस्था गर्ने विषयमा अध्ययन भइरहेको छ, उनले भने । सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा प्रदेश सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै मुख्यमन्त्री राउतले सांसदहरुबाट आएका महत्वपुर्ण सुझाव बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाए । नीति तथा कार्यक्रममा संशोधनदर्ता गराएका प्रस्तावहरु बजेटमा समाहित गर्ने छौ, उनले भने ।

सरकारको सिमित श्रोतसाधन, अनुदान, समपुरक बजेट न्यायोचित रुपमापाउन सकेको छैनौ, राउतले भने,‘ कस्तो प्रदेश बनाउने हो प्रदेश सांसदहरुलाई धन्यवाद दिंदै राउतले नीति तथा कार्यक्रम कार्यान्वयनको पक्ष फितलो भएको आरोप लागेपनि सरकार समग्रमा नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि अगाडी बढने बताए । नीति तथा कार्यक्रममा मधेस जोडिएको प्रश्नको जवाफ दिंदै राउतले मधेस आन्दोलनको बलमा संघीयता, परिवर्तन र सरकारको पृष्ठभुमि मधेस भएकोले अभियान र योजनामा मधेस जोडिएको बताए । नीति तथा कार्यक्रममा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा १०/१० गरी ६ सय ४० परिवारलाई महेन्द्र नारायण निधि आवास योजना अन्र्तगत घर बनाउने योजना बजेटमा समेल गराउने राउतले बताए । प्रदेशका सामुदायिक कलेजहरुको अवस्था‘पेन्डुलम’भएपनि प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेटन नसकेको सामुदायिक कलेजको अवस्था सुधार्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । प्रदेश सरकारले दलित विकास समिति गठन, दलित ऐन ल्याएको र दलित छुवाछुत अभियान ल्याएर छुवाछुतको समस्या अन्त गर्न प्रतिबद्ध रहेको बताए । जनता आवासको विषयमा त्रुटिहरु भएपनि अगामि दिनमा अवास कार्यक्रम सशक्त रुपमा अगाडी बढाउने छौ, राउतले भने,‘प्रदेश सरकारले जनताअवास कार्यक्रको पहिलो चरणमा डोम, मेस्तर, हलखोर र मुसहरलाई प्राथमिकतामाराखे । उनिहरुको अन्य जात भन्दा बढी समस्यामा थिए । अब अन्य दलितलाई आवास योजना सामेल गराउने छौ ।

’प्रदेश सभामा शनिबार र आइतबार नीति तथा कार्यक्रमको छलफलमा प्रदेश सांसदहरुले नीति तथा कार्यक्रम उत्कृष्ट भएपनि नीति तथा कार्यक्रम अनुसार बजेट आउनेको शंका व्यक्त गरेका थिए । आइतबार छलफलमा सहभागि नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतोले प्रदेश सरकारले नीतिगत र नैतिक रुपमा वेइमानी गरेको आरोप लगाए । प्रदेश सभामा संसदहरुले उठाएका सवालहरुमा सरकार गम्भिर नभएको आरोप लगाउदै प्रदेश सभामा मुख्यमन्त्रीले जनाएको प्रतिबद्धता कार्यान्वयन नहुदा प्रदेश सरकार माथि शंका भएको महतोले बताए । प्रदेश सरकारले अफनो आय श्रोत बढाएर रोजगारीको अवसर ल्याउन नसकेको उनले आरोप लगाए । माओवादी केन्द्रका प्रदेश सांसद जगत यादवले अधिकार विनाविकास सम्भव नहरेको बताउदै नीति तथा कार्यक्रम जनताको पक्षमा रहेको बताए । नीति तथा कार्यक्रम पुर्ण रुपले कार्यान्यनका लागि संघर्षको आवश्यक्ता रहेको उनल बताए । शिक्षा नीति, स्वास्थ्य र रोजगार नीतिमा सरकार प्रष्ट भएर अगाडी आउनु पर्ने बताए । प्रदेश सरकारले मठमन्दिर बनाउन मात्रै केन्द्रित भएको भन्दै प्रदेशको ८ वटै जिल्लामा महिला सेफ हाउस बनाउन उनले सुझाव दिए । जसपाका प्रदेश सांसद रानीकुमारी तिवारीले नीति तथा कार्यक्रम हुबहु लागु भए नमुना प्रदेश बन्ने बताइन् । नीति तथा कार्यक्रममा बालबालिकाहरुका लागि खेलकुद पार्क निर्माण समेटन आग्रह गरिन् । जसपा प्रदेश सांसद डा.रिना यादवले प्रदेशमा अंधिकास अधुरो योजना सम्पन्न गर्ने नीति प्रदेश सरकारले लिनु पर्ने बताइन् ।

प्रदेश सरकारले शिक्षा र स्वास्थ्यमा सुधारको नीति लिएर रोजगारको क्षेत्रमा युवा र महिलालाई केन्द्रित कृषि र उद्योग क्षेत्रमा रोजगारको अवसर ल्याउन आग्रह गरिन् । एमालेका प्रदेश सांसद गोविन्द न्यौपानेले स्वास्थ्य र कृषि केन्द्रित नीति कार्यक्रम भएपनि कर्मकाण्डिमा मात्रै सिमित भएको टिप्पणी गरे । सिचाइका लागि प्रदेश सरकारले जडान गरेको डिप टयुववेल प्रयोग बिहीन बनेको उल्लेख गर्दै सरकारको ध्यान नयाँ प्रविधितर्फ जानु पर्ने बताए । पुरानै सोचको आधारमा कृषि क्षेत्रमा ट्याकटर, पावरटेलर, विउविजन दिएर कृषि क्षेत्रको विकास हुन नसक्ने न्यौपानेले बताए । कनिका जस्तो बजेट छरेर प्रदेशका समृद्धि हुननसक्ने उनले बताए । जसपाकी प्रदेश सांसद करिमा बेगमप्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’अभियान सराहनीय रहेको उल्लेख गर्दै गरिब दलित बस्तीमा जन्मिएकी छोरी विमा कार्यक्रममा सहभागि हुन नसकेको बताइन् । विपन्न बस्तीमा जन्मेकी छोरीलाई विमा कार्यक्रममा सहभागि गराउन प्रदेश सरकारले नीति लिनु पर्ने उनले बताइन् । प्रदेश सरकारको नीति तथा कार्यक्रम कागजमा सीमित नगरी व्यवहारमा लागु गर्न उनले आग्रह गरिन् । आइतबारको छलफलमा प्रमोद यादव, अशोक कुमार यादव, सावित्रि देवी साह, जगतारण देवी, सुनिता मोची, सुरीता साह लगायतका सांसद सहभागि भएका थिए ।

बजेटको तयारी
प्रदेश २ का सरकारले अगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारीमा जुटेको छ । असार १ गते आर्थिक वर्ष ०७८/७९ को लागि बजेट ल्याउनुपर्ने वाध्यतमक व्यस्था रहेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय श्रोतका अनुसार अगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा कम हुने छ । संघीय सरकारबाट आर्थिक वर्षको लागि समान्यकरण अनुदान वापत ७ अर्व ३९ करोड ३४ लाख, राजस्व बाडफाँड ९ अर्व ९८ करोड २३,सर्सत अनुदानको ५अर्व ९७ करोड ५२ लाख, विशेष अनुदान ५८ करोड ७९ लाख र समपुरक वजेट ३४ करोड ६९ लाख गरि जम्मा २४ अर्व ६८ करोड ५७ लाख संघीय सरकारबाट प्राप्तहुनेछ । त्यसवाहेक प्रदेशको आन्तरिक अनुमानित आम्दनी ३ अर्व, चालु आर्थक वर्षको वजेटमा खर्च हुन नसक्ने अनुमानित रकम ७ अर्व र आन्तरिक ऋण १ अर्व समावेश गरि प्रदेश सरकारले बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको वजेट ३३ अर्व ५६ करोड ९ लाख रहेको छ ।

Comment


Related News