अपडेट 
२०७८ असार २, बुधबार ०७:३२

नेपालीको मुख्य खाद्यान्न चामल भएको छ । देशभरका सर्वसाधारणसे भात नै मन पराउँछन् । भात बन्ने चामलबाट हो र चामल बन्ने चाहिँ धानबाट । अहिले एकातिर चैते धान केही हप्तामा काट्ने बेला हुन्छ भने धानको मुख्य खेती हुने समय अब आउनै लागेको छ । अहिले किसानले धानको ब्याडमा बीउ खसालिसकेका छन् र धानको बेर्ना उम्रिसकेको छ । घरायसी, पारिवारिक तथा अन्य केही कारणले पछाडि परेका किसानले धमाधम ब्याडमा धानको बीउ खसालिरहेका छन् । धानको बीउ खसाल्ने काम लगभग अन्तिमतिर जाँदा रोपाईँको लागि धान तयार हुन लागेको पनि कतै कतै देखिन थालिएको छ । यसको अर्थ यो पनि हो कि धानको खेतीको लागि किसान, खेत र अन्य पक्ष तयार हुँदै गरेको यो मौसम नेपालको खाद्यान्नको दृष्टिकोणले निकै महत्वपूर्ण र उपयुक्त रहेको स्पष्ट हुन्छ । नेपालको प्राकृतिक भूगोललाई विचार गरेर हिमाल, पहाड र तराई भनिएको छ ।

तराई भनेको समथर भूभाग हो । नेपालको दक्षिणी भेगको यो भूगोल उत्पादनको दृष्टिकोणले निकै महत्वपूर्ण रहेको छ । यसैले यसलाई नेपालको अन्न भण्डार पनि भनिने गरिएको छ । नेपालको अन्न भण्डारमा अनेक किसिमका बाली लगाइन्छन् तर खाद्यान्नको दृष्टिकोणले धेरैलाई मन पर्ने भात नै भएकोले यसको खेती धेरै महत्वपूर्ण हुन्छ । अहिले धान खेतीको लागि लगभग तयार रहेका किसानहरुले सबैभन्दा बढी भर पर्ने भनेको मनसुनमाथि हो । नेपालमा सामान्यतया जुन वर्ष मनसुनले किसानलाई साथ दिएको हुन्छ, त्यो वर्ष धानबाली राम्रो हुने र जुन वर्ष मनसुनले साथ दिँदैन, त्यो वर्ष तुलनात्मक रुपमा धानबाली कमजोर हुने गरेको पाइएको छ । मनसुनले साथ दिनु भनेको धानखेतीको लागि उपयुक्त समयमा सही मात्रामा पानी पर्नु हो भन्ने कुरो बुझिन्छ । कुनै वर्ष अत्यधिक पानी परेर वा मुख्य समयभन्दा अघिपछि पानी परेर धानखेतीलाई हानी भएको पनि पाइएको छ । जस्तो कि रोपाइँको समयमा पानी नपरेर समयमा रोपाईँ हुन नपाउनु, रोपाईँ सकिएपछि एकैचोटि धेरै वर्षा हुँदा कैयौँ दिनसम्म डुबानमा धानखेतीलाई पारेर बाढीले नोक्सान गर्नु, धान रोपिइसकेपछि पानी पर्न छोड्नु जसले सुख्खा भई धानको उत्पादनमा नकारात्मक असर पार्नु, धान पाक्ने बेलामा धेरै पानी परेर धानलाई खेतमै उमार्नु वा किसानले काटेको धानलाई पनि बाढीले बगाएर लैजानुजस्ता समस्या वर्षाको कारणबा देखिने गरेका छन् । यस वर्ष मौसम विभागले मनसुनमा तुलनात्मक रुपमा बढी हुने भनी जानकारी गराउँदै आएको छ । यदि धान खेतीको लागि उपयुक्त समयमा आवश्यक मात्रामा पानी परिरह्यो भने यस वर्षको मनसुन धानखेतीको लागि वरदान साबित हुने देखिन्छ ।

धानखेतीमा सामान्यतया पानी बढी नै चाहिन्छ । धानखेतीको समय भन्नु नै सर्वसाधारणले पानीको मौसम बुझ्ने गरेका छन् । यद्यपि बढी पानी पर्दा पहाडमा पहिरो र तराईमा बाढीको डर बढी हुन्छ । पहिरो र बाढीले हरेक वर्ष जन र धन दुवैको क्षति पु¥याउने हुन्छ । जन र धन दुवैको क्षतिबाट जोगिनु पर्छ । यसैले विभिन्न निकायबाट सतर्क रहन सुझावहरु आइरहेका छन् । सुरक्षित र सतर्क रहनु पर्छ भन्ने भावलाई जो यस प्रकारको खतराको सम्भावनामा रहेका छन्, तिनीहरुलाई समयमै अवगत गराउनु पर्छ । अझ आजभोलि विज्ञान र प्रविधिले विकास गरिसकेको छ र मोबाइलको सम्पर्कमा धेरै परिवार आइसकेका छन् । बाढी र पहिरोको उच्च जोखिमको सम्भावनामा रहेका घरपरिवारका सम्पर्क नम्बर वा नभए छिमेकीको सम्पर्क नम्बर सम्बन्धित निकायले लिइराख्नु परेको छ र बाढी तथा पहिरोको उच्च जोखिम भएको दिन सम्बन्धित घरपरिवारलाई कुनै माध्यमले सम्पर्क गरी सम्बन्धित निकायले सतर्क रहन वा सुरक्षित रहन खबर गर्नुपर्दछ तथा सम्भव भए निगरानी पनि गर्नु आवश्यक हुन्छ । अझ यदि खतराको सम्भावना उच्च रहेको समय देखिन आएमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न वा उद्धारको वातावरण बनाउन पनि पूर्वतयारी गर्नुपर्ने देखिन्छ । यदि यस किसिमले कतैबाट संयोजन हुन सक्यो भने बाढी र पहिरोबाट हुने जनधनको नोक्सानीलाई कम गर्न सकिन्छ र विपत्तिमा परेकाको घाउमा थोरै भए पनि समयमै मलम लगाउन सकिन्छ । बाढी र पहिरोले वर्षेनी सताउँदै आएको भए पनि खेतीको दृष्टिकोणले यस मनसुनको सर्वाधिक महत्व रहेको छ ।

यो देश कृषि प्रधान देश हो । र, अहिलेसम्म यहाँको कृषि प्रणालीमा मनसुनको ठूलो आश हुन्छ । किसानहरुले मनसुनकै भरमा खेती गर्दछन् र माथि भनिएजस्तो मनसुनले साथ दिएको वर्ष बालीको उत्पादन पनि राम्रो हुने गरेको देखिएको छ । बाली र मुख्य गरी धानको उत्पादनको दृष्टिकोणले मनसुन र किसानको सम्बन्ध अविभाज्य रहेको छ । अहिलेसम्म किसानले खोजेकै र बालीलाई चाहिएको समयमा नै आवश्यक मात्रामा ठिक्कको पानी पु¥याउन सकिने कुनै संयन्त्रको विकास हुन सकेको छैन । बिजुली बोरिङ खेतखेतमा पुग्न सकेको छैन भने डिजलबाट चल्ने बोरिङ यति महँगो हुन्छ कि किसानलाई यसले खेतीलाई धेरै महँगो तुल्याइदिन्छ । यसकारण अहिलेसम्म किसानको लागि सबैभन्दा भरपर्दो मनसुनी वर्षा नै रहेको छ । मनसुनी वर्षाले सबैभन्दा बढी किसानलाई खुसी दिने गरेको यथार्थ हो । मनसुनबाटले यदि किसानलाई सन्तुष्टि दिन सक्यो भने अन्य धेरै क्षेत्र आफैँ सन्तुष्ट हुने वातावरण बन्दछ । उदाहरणको लागि कृषिसँग सम्बन्धित उद्योगहरु, व्यवसाय र बेपारहरुलाई पनि फाइदा हुन्छ । स्वाभाविक हो, धानको उत्पादन राम्रो भएमा केही सस्तो हुन्छ र धान तथा चामलबाट चल्ने उद्योग तथा व्यवसायहरुले पनि पर्याप्त धान र चामल तुलनात्मक रुपमा सजिलो गरी तथा सस्तोमा प्राप्त गर्ने हुन्छन् । धानबाली राम्रो भएमा यसको प्रत्यक्ष प्रभाव पशुपालनमा पनि पर्दछ । अझ अप्रत्यक्ष रुपमा पक्षी तथा मत्स्यपालनमा पनि पर्दछ । यसै पनि अधिकांश नेपाली प्रत्यक्ष वा परोक्ष कृषिसित सम्बन्धित छन् र कृषिमाथि आश्रित पनि छन् ।

कृषकले बजारबाट अन्य क्षेत्रका उत्पादनदेखि अन्य सामग्रीहरु उत्पादित धानलाई बेचेर नै नगद हात पारी किन्ने भएकाले वास्तवमा धान उत्पादनको असर बजारको सबै क्षेत्रमा पर्दछ र यसको असर देशको अर्थतन्त्रमाथि पनि देखिन्छ । यसै कारण कतिपयले के भन्ने गरेका छन् भने देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान प्रत्यक्ष रुपमा कम देखिए पनि वास्तवमा देखिएको भन्दा बढी हुन्छ । यो कुरो सबैभन्दा बढी कृषि अर्थतन्त्रलाई बुझ्ने वा नजिकबाट नियाल्ने नै बताउन सक्ने हुन्छन् । हाम्रा किसानको हकमा सबैभन्दा भरपर्दो मनसुन हुने देखिएको छ अहिलेसम्म । यस वर्ष मनसुन अनुकूल हुने अनुमान पनि छ र औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेको हुँदा कतिपय अवस्थामा बढी सतर्क रहनुपर्ने पनि हुन्छ । नेपालको मनसुनी वर्षा पूर्वबाट पश्चिमतिर विस्तारै कम हुँदै जाने गरेको हुन्छ । किसान समृद्ध हुँदा देशमा समृद्धि आउन सजिलो हुन्छ । किसानको समृद्धि उत्पादन र त्यसको उचित व्यवस्थापनबाट सम्भव छ । किसानले धानको उत्पादनमा आफ्नो पूरा ध्यान केन्द्रित गरेको हुन्छ । अहिले जब धानको बीउ ब्याडमा तयार भइरहेको छ र खेत तयार हुने काम पनि चलिरहेको छ । आकाशलाई हेर्दा फरक किसिमको उत्साह बोकेर बादलहरु मडारिरहेका छन् । हरेक दिन थोर बहुत पानी परिरहेको छ । यसले गर्दा धानको बीउ ब्याडमा रोप्नको लागि तयार हुँदैछ र यसै गरी केही दिन सामान्य पानी परिरहेमा रोपाईँ सुरु हुन्छ र धान किसानको सबैभन्दा बढी व्यस्तताको दिन सुरु हुन्छ । सबैभन्दा उत्साहको दिन सुरु हुन्छ । किसानले चाहेको पनि यही हो । बस, यस रोपाइँको समयमा किसानालाई मलको कुनै चिन्ता नहोओस् । समयमा पर्याप्त मात्रामा किसानले रासायनिक मल पाउनु पर्छ र कीटनाशक औषधि पनि ।

यदि समय समयमा पानी परिरह्यो भने बालीमा रोग र कीराको पनि प्रकोप कम हुने तथा बाली पनि पुष्ट हुने हुन्छ । यस वर्ष यदि बाढीले नोक्सान र डुबानमा नपारेर समय समयमा अनुकूल वर्षा भइरह्यो भने अपेक्षा गरेअनुसार किसानले धानबाली उत्पादन गर्ने सम्भावना रहेको छ किनभने धानखेतीको लागि मौसम अनुकूल हुने सम्भावना रहेको छ । अझ प्रदेश दुई त तुलनात्मक रुपले निकै धेरै जमिनमा धानखेती हुने भूगोल हो, यहाँ आफ्नै किसिमको माहौल रहेको छ । धानको उत्पादनमा यस प्रदेशले अझ धेरै योगदान दिन सकिने विश्वास रहेको छ । सबै तहको सरकारले धान किसानलाई सकारात्मक सहयोग गर्नुपर्ने र प्रत्येक स्थानीय तह आफैँमा धानको उत्पादनमा आत्मनिर्भर बन्नु पर्ने आवश्यकता रहेको छ । यदि प्रत्येक स्थानीय तह धानको उत्पादनमा आत्मनिर्भर हुन सक्यो भने यो देश धानको उत्पादनमा आत्मनिर्भर बन्न सक्छ । यस पक्षमा तीन तहकै सरकारले विचार पु¥याउनु आवश्यक छ भने अन्य सम्बन्धित निकायले पनि सम्भव भएको सहयोग गर्नु उचित हुन्छ । अहिले समयको माग यस्तै रहेको देखिन्छ र सम्भवतः मौसम पनि उपयुक्त रहेको छ ।

Comment


Related News

Latest News

Trending News