जनकपुरधाम । यस भेगका अत्यन्त प्रतिष्ठित उद्योगी, ब्यवसायी, समाजसेवी मदनलाल जैनको उपचारको क्रममा काठमाण्डुमा सोमबार राती देहावसान भएको छ ।
मृदुभाषी, मिलनसार मदन जैन केहि दिनदेखि विरामी भै काठमाण्डुमा उपचार गराइ रहेका थिए । उनको सोमवार राती साढे ८ बजे मृत्यु भएको मारवाडी सेवा समिति जनकपुरधामका अध्यक्ष ललित कुमार बजाजले जनाए । यस भेगमा उनी इमान्दार र कर्तव्यनिष्ठ व्यवसायीको रुपमा परिचित थिए । दर्जनौ समाजिक संघसंस्थामा सकृय सहयोगीको भूमिकामा रहने जैनले धार्मिक गतिबिधिहरुमा पनि निकै सकृय थिए । सरल स्वभावका धनी जैनको निधनले जनकपुरधामका मात्र नभै सिन्धुली, उदयपुर, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही लगायत वीरगञ्ज, काठमाण्डु समेतका उद्योगी व्यवसायीहरु दुखी भएका छन् । स्व. जैनका जेठा आकाश जैन र काञ्छा विकास जैन दुई छोरा रहेका छन् । स्व.जैनको धार्मिक विधि अनुसार मंगलवार दिउँसो अन्त्येष्टि गरिएकोछ । व्यवसायी जैनको निधनप्रति जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि.ले शोक व्यक्त गर्दै यस भेगको उद्योग व्यवसाय र समाजसेवाको क्षेत्रमा अपुरणिय क्षति भएको जनाएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले व्यवसायी जैनको निधनबाट स्तब्ध भएको जनाएका छन् । ‘अत्यन्त मिलनसार मित्र मदन जैनको मृत्युको खबरले मर्माहित भएको छु’उनले जारी गरेको शोक सन्देशमा भनिएकोछ , जैनको देहावसानले उद्योग व्यवसायको क्षेत्रमा भारी क्षति भएकोछ ।


