राजविराज । सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर कंकालिनी नगरपालिका ११ सखुवा टोलका बालक रबि यादव वेपत्ता भएको बुधबार २६ दिन भयो । भेटिएका छैनन् ।
परिवारमा रुवाबासी छ । सबै तिर खोज्दा समेत फेला पर्न नसकेका हुन् । १३ बर्षीय रबि फेला नपर्दा ४० बर्षीया आमा सुनिता रुदै बसेकी छिन् । बुधबार सदरमुकाम राजविराज आइपुगेकी उनले सबैतिर खोज तलास गरेपनि अहिले सम्म कुनै पतो नलागेको सुनाउँदै छोराको खोजीमा सघाउन संचारकर्मी र अधिकारकर्मी सँग आग्रह गरेकी छिन् । उनले छोरा बेपता भएको गत जेठ ७ गते खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा समेत निवेदन दिएकी छिन् । गत जेठ ७ गते बुवा जय नारायण यादवलाई नसोधि उनको गोजीबाट पैसा झिकेपछि आक्रोसमा छोरा रबिलाई गाली गरेको र आफुहरु घरायसी काममा व्यस्त भएका बेला बिहान ९ बजे तिर उनी वेपता भएको आमा सुनिताले रुदै सुनाईन् । निषेधाज्ञाका कारण सार्वजनिक यातायातका साधन समेत ठप्प रहेकाले आवेशमा आएर छोरा कतै गई हाल्ने अवस्था नरहेको सुनाइन् । उनले छोराको कसैले अपहरण गरेको हुन सक्ने आशंका व्यक्त गरेकी छिन् । गाउँकै केहि व्यक्तिले पुरानो रिसईबीमा छोराको अपहरण गरेको हुन सक्ने आशंका व्यक्त गर्दै उनले त्यस्ता व्यक्तिबारे प्रहरीलाई जानकारी पनि गराएकी छिन् । प्रहरीले त्यस्ता शंकास्पद व्यक्तिलाई झिकाई आवश्यक अनुसन्धान गरिरहेपनि हाल सम्म सफलता नमिलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधव प्रसाद काफलेले बताए ।
घटनाको झण्डै महिना दिन हुन लाग्यो, हामी पनि चिन्तित छौ, डिएसपी काफलेले भने व्यक्तिगत, परिवारिक र आर्थिक पाटोबाट पनि घटनाको अनुसन्धान भईरहेको छ । यसका अतिरिक्त सिमाबर्ती भारतीय सुरक्षा अधिकारीसँग पनि समन्वय गरी वेपत्ता बालक रबिलाई खोज्न आवश्यक प्रयास सुरु गरिएको उनको भनाई छ ।


