मलगंवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न–२ अन्तर्गत पुर्व–दक्षिण दिशातर्फ पर्ने शान्तीटोल बस्तीका बासिन्दाहरुले नगरप्रमुख तथा वडाध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् ।
यही असार १० गते हुन गइरहेको नगरपरिषदमा टोल विकास तथा सुधारका लागि आवश्यक रहेको योजनाहरु संलग्न गर्नुपर्ने माग राखेर शान्तिटोलका बासिन्दाहरुले नगरप्रमुख निरसल साह र वडा न–२ का वडाध्यक्ष रामउजैन रायलाई ज्ञापनपत्र बुझाएका हुन् । टोलबासीहरुले संयुक्तरूपमा हस्ताक्षर गरिएको उक्त ज्ञापनपत्रमा नालासहितको सडक ढलान,निर्माण भइसकेको नाला र बाटोको निकास ,सोलार बत्ती जडान,सार्वजनिक धारा , कल र सार्वजनिक शौचालय निर्माणकार्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिदिन लगायतका मागहरु समेटिएको टोल सुधार समितिका संयोजक सोहन कुमार झाले जनाए । यो टोल सधै उपेक्षित रहदै आएकोले उल्लेखित मागहरुलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८–०७९ तथा अन्तिम नगर परिषदमा भएपनि बजेट विनियोजन गरिदिन आफुहरुको माग रहेको समितिका उपसंयोजक धिरेन्द्र मिश्रले बताए ।


