२०७८ असार १२, शनिबार ०७:३६

गौर । निर्वाचन आयोगले दल त्याग तथा पद रिक्त सम्वन्धि सार्वजनिक गरेको सुचनाको कारण रौतहटमा ७ वटा निर्वाचित जनप्रतिनिधि पद मुक्त भएका छन् ।

राजनीतिक घटना क्रमले सृजना भएको अवस्थाको कारण रौतहटको मौलापुर नगरपालिका अभिभावकविहीन अवस्थामा पुगेको हो । ६ वटा स्थानीय तहका ७ जना निर्वाचित जनप्रतिनिधिको निर्वाचन आयोगको कार्यवाहीले गर्दा पद रिक्त भएको हो । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका रौतहट क्षेत्र नम्बर ३ का संघीय सांसद प्रभु साह पार्टीको कार्यवाहीमा पर्दा क्षेत्र नै सांसद विहीन भएको थियो । नेता साहकी श्रीमती निर्वाचित भएको स्थानीय तह मौलापुरमा प्रमुख र उपप्रमुख कार्यवाहीमा पर्दा अभिभावकविहीन बनेको हो । लामो समय सम्म नगर प्रमुख र उपप्रमुखको विवाद चलेका ४ स्थानीय तहका नगर उपप्रमुखको पद समाप्त भएपछि नगरप्रमुखहरुलाई राहत भएको छ । देवाही गोनाही नगरपालिकामा नगर प्रमुख धर्मेन्द्र पटेललाइ केहि राहत भएको छ । यमुनामाइ गाउँपालिकाका उपाध्यक्ष गीता साहको पद खारेजमा परेपछि अध्यक्ष श्रीप्रसाद मुखियालाई काम गर्न सहज भएको छ । सर्वोच्च अदालतको फैसलाले दुई ठाउँमा छुटिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दल त्याग गरेका निर्वाचित जनप्रतिनिधि माथि कारवाही गरे पश्चात रौतहटका ७ जनाको पद समाप्त भएको छ ।

निर्वाचन आयोगले नेपालको २०७८ असार ९ गतेको निर्णयले मौलापुर नगरपालिकाका मेयर रिना साह , उपमेयर गौरी शंकर जैसवाल , कटहरियाका मेयर सियाराम कुशवाहा , फतुवा विजयपुर नगरपालिकाकी उपमेयर कान्ति देवी महतो , माधव नारायण नगरपालिकाकी उपप्रमुख सिमल कुमारी साह, देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेल र यमुनामाइ गाउँपालिकाकी उपाध्यक्ष गीता देवी साह पद मुक्त भएको हो । निर्वाचन आयोगले जारी गरिएको सुचनामा राजनीतिक दल सम्वन्धि नियमावली २०७४ को नियम २२ उपनियम ५ बमोजिम पद स्वतः पद रिक्त भएको उल्लेख गरिएको छ । मौलापुरमा प्रमुख र उपप्रमुखको पद रिक्त भएकोले कार्यवाहक मेयर उपमेयर तोकिने कानुनी जटिलता उत्पन्न भएको छ । निवर्तमान सांसद प्रभु साहको आधिपत्य भएको उक्त नगरपालिकामा प्रमुख र उपप्रमुख आफ्नो हिसावले बनाउन सकिने भने आशंका कायम नै रहेको छ । प्रमुख र उपप्रमुखको पद रिक्त भएमा कार्यपालिका सदस्य मध्ये जेष्ठ सदस्यलाइ मेयर बनाउन सकिने कानुनी प्रावधान रहेको कानुन व्यवसायीहरुको भनाइ छ । रौतहट जिल्ला अदालत बार एशोसिएसनका पुर्व अध्यक्ष अधिवक्ता अनन्त अधिकारीले दुवै जिम्मेवार पद रिक्त भएमा ज्येष्ठ सदस्यले कार्यवाहक प्रमुख हुने बताए ।

स्थानीय सरकार संचालन ऐन अनुसार रिक्त भएको पदको अवधि १ बर्ष भन्दा बढी भएमा उपनिर्वाचन गराउन सकिने व्यवस्था रहेकोमा १ बर्ष भन्दा कम अवधि रहेकोले कार्यवाहक दिएर नै नगरपालिका संचालन गर्न सकिने उनले बताए । कटहरिया नगरपालिकाका मेयरको पद रिक्त भएकोले उपप्रमुख नै निर्विवाद रुपमा प्रमुख भएको छ । हिन्दुवादी सन्त काशी तिवारीको हत्याको अभियोगमा मेयर कुशवाहा कारागार गएपछि केहि वर्ष कार्यवाहक मेयरको जिम्मेवारी निर्वाह गरेकी उपप्रमुख नुर जहा खातुनले कार्यवाहक मेयरको जिम्मेवारी पाएकी छिन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेको आरोपमा नेकपा माओवादी पार्टी केन्द्रले उनीहरु माथि कारवाही चलाएको थियो ।

Comment


Related News

Latest News

Trending News