गौर । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर १ मर्यादपुरमा शनिवार दुई समूह बीचको विवाद झडपमा परिणत हुँदा १३ जना घाइते भएका छन् ।
शनिबार विहान भएको वर्षातको पानी घरमा जम्मा भएपछि पानीको निकास गर्न खोज्दा भएको विवाद झडपमा परिणत भएको हो । स्थानीय मुवाली साह सोनारले वर्षाको पानी स्थानीय हृदय यादवको धानको विउ लगाइएको खेतमा बगाउदा विवाद भएको थियो । पार्टीबाट निस्कासित भएका सांसद प्रभु साहको समर्थक रहेका साह पक्षले खेतमा पानी हालेर विउ नष्ट गर्न खेजेको भन्न जादा आक्रमण गरेको पीडित पक्ष हृदय यादवले दावी गरेका छन् । दुवै पक्षबाट १३ जना घाइते भएका छन् । मुवाली साह , सोहान साह सोनार , रन्जु देवी , नैन देवी , किशुन साह , धर्मेन्द्र साह , भरत साह , श्याम कुमारी देवी घाइते भएका छन् भने यादव पक्षका हृदय यादव, जगरनाथ महतो, विरेन्द्र यादव, रमिता देवी महतो, राम किशोर यादव घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मौलापुर नगरपालिका वडा नम्बर १ निवासी शिव पुजन महतो र सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए । घाइतेहरु मध्ये ४५ वर्षीय नैन देवीको अवस्था गम्भीर भएकोले थप उपचारको लागि वीरगंज पठाईएको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ । नमस्ते अस्पतालमा उपचार भएका घाइतेहरु मध्ये १२ जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
यादव पक्षका एक जनाको हात भाँचिएको छ भने साह पक्षका नैन देवीको टाउकोमा २५ वटा टाका लगाईएको छ । घटनाको निष्पक्ष छानविन गरि दोषी माथि कानुनी कारवाही गरिने प्रहरी उपरीक्षक शाहले बताए । असार १० गते नगरपालिकाका निवर्तमान नगर प्रमुख रिना कुमारी साहले नियम विपरित नगर परिषद गर्न लागेको भन्दै गरेको विरोधको निहुमा घटना घटाईएको वडाध्यक्ष राम प्रवेश यादवले आरोप लगाए । धानको विउ रहेको खेतमा घरको पानी बगाएर विउ नष्ट गर्ने कार्य गर्दा रोक्न जाँदा आक्रमण गर्न लाग्नु राजनीतिक षड्यन्त्र भएको उनले बताए । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा गएको आरोपमा सांसद प्रभु साह , उनकी पत्नी रिना साह र उप प्रमुख गौरी शंकर जैसवाललाई पार्टीले निष्काशन गरेपछि निर्वाचन आयोगको अषाढ ९ गतेको निर्णयले पदमुक्त भएको हो । पद मुक्त भएको नेताले दुइ पक्ष विचको विवादलाई राजनीतिक रुप दिन लागिएको स्थानीय लखिन्द्र यादवले बताए । प्रभु साहको समर्थनमा मुवाली साह रहेका छन् भने प्रचण्डको पक्षमा यादव पक्ष रहेका छन् । प्रभु साह समर्थकले प्रचण्ड समर्थक माथि हमला गर्ने कार्य शुरु गरेकोले यस्ता कार्य नहुन दिन प्रहरी प्रसाशनलाई स्थानीयहरुले आग्रह गरेका छन् ।
निर्वाचन आउने बेलामा प्रभु साहले जातीय दंगा पहिलादेखि नै उक्त क्षेत्रमा गराउदै आएका छन् ।


