अपडेट 
२०७८ असार १६, बुधबार ०७:३०

आज राष्ट्रिय धान दिवस हो । आजको दिनलाई रोपाईँ दिवस भनेर पनि भनिन्छ । हुन त नेपाली संस्कृतिमा आजको दिनलाई दही चिउरा खाने दिनको रुपमा पनि लिने गरिएको पाइन्छ । दही चिउरा खानु, रोपाइँ दिवस मनाइनु तथा राष्ट्रिय धान दिवस मनाइनु सबै आधुनिक सोच र दृष्टिकोणका उपज हुन् । यी तीन नाममा दुई किसिमको दिवसलाई विचार गर्ने हो भने दुवैले नेपाली किसानको सम्मान गरेको छ । धान दिवस वा राष्ट्रिय धान दिवस भन्नु झन्डै एउटै हो, जसमा धानको विषयमा चर्चा गरिन्छ वा धानको रोपाईँ गरिन्छ । अनि दही र चिउरा खाने दिन भन्नु पनि किसानसितै सम्बन्ध राख्दछ । दही पशुपालनबाट प्राप्त हुन्छ भने चिउरा धानबाटै उत्पादन हुन्छ । नेपालको हामी जुन क्षेत्रमा छौँ, देशको यस क्षेत्रका बासिन्दालाई सबैभन्दा बढी मन पर्ने खाना भात हो । भात चामलबाट बन्दछ र चामल धानबाट निस्कन्छ । आज राष्ट्रिय धान दिवस वा रोपाईँ दिवस हो ।

आजको दिन हामीले यस विषयमा अलिकति मन्थन गर्नु आवश्यक छ कि धान दिवसको सार्थकता हाम्रो परिवेशको लागि के हुन सक्छ र जब हाम्रो मुख्य खाद्यान्न नै धान हो भने यसमा आत्मनिर्भर कसरी बन्न सक्छौँ ? यस विषयमा मुख्य गरी बुद्धिजीवीहरु चिन्तनशील हुनु परेको छ भने कृषिसित सम्बन्धित संस्था तथा विज्ञहरुले धान दिवसको व्यावहारिक महत्व कसरी बढाउन सकिन्छ भन्ने विषयमा पनि आफूलाई सार्वजनिक रुपमा प्रस्तुत गर्नु परेको छ । सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्ममा आफ् ना सभ्य भनाइहरु प्रस्तुत गर्ने तथा यसका गतिविधिहरु केन्द्रित गर्ने काम सामान्य हुन सक्छन् तर अभियानको रुपमा निरन्तरता दिइनु पनि आवश्यक छ । बुझिरहेका छौँ र देखिरहेका छौँ कि हामीकहाँ बाहिरबाट चामल आउने क्रम रोकिएको छैन । हामीले हाम्रो खेतलाई ढाक्ने बालीलाई यदि विचार गर्ने हो भने सबैभन्दा बढी खेतमा हरेक वर्ष धानबाली नै लगाइन्छ । धानबालीको उत्पादन हरेक वर्ष बढिरहेको नै तथ्यांक पनि आइरहेको हुन्छ । तर पनि बाहिरबाट यति धेरै परिमाणमा चामल आइरहेको छ । यसको अर्थ यो पनि हो कि हामीले उत्पादन गरेको धानले हामीलाई खान पुगिरहेको हुँदैन । यो त लगभग सबैले बुझेको सत्य हो तर यो पनि हुन सक्छ कि हामीले उत्पादन गरेको धान केही मात्रामा बाहिर गइरहेको छ र हामीले उत्पादन गरेको धानभन्दा हामीले खाने चामल फरक जातको हुन सक्छ । उत्पादन गर्ने र उपभोग गर्ने धानको जातमा फरक पर्ने अवस्थामा पनि चामल बाहिरबाट आएको हुन सक्छ ।

एउटा अनुमान त यो पनि हुन सक्छ कि हामीले महँगोमा धान बेच्ने गरेका छौँ र तुलनात्मक सस्तोमा चामल किन्ने गरेका छौँ तर यस्तो भइरहेको छ भन्ने कुरामा कमै विश्वास लागेको छ । उत्पादन गरेको धान बेच्ने तथा नगद हात पार्ने र आवश्यक परेको समयमा चामल किन्ने गरेको पनि हुन सक्छौँ । यसबाट यो तर्क उत्पन्न हुन्छ कि चामल बाहिरबाट आउँदैमा हाम्रो उत्पादन कमजोर रहेको छ भन्ने होइन । तर वास्तविकता हामी सबै नेपालीले बुझेका छौँ र समय समयमा सार्वजनिक हुने तथ्यांकले पनि बताउँछ कि हामीले बाहिरबाट चामल किनेर खाइरहेका छौँ । यसको अर्थ यो भयो कि हामीलाई जति आवश्यक छ, त्यत्ति उत्पादन हुन सकिरहेको छैन । उत्पादन र उपभोगबीच खाडल रहेको यथार्थ हो । देशलाई कृषिप्रधान भनिन्छ र हाम्रो प्रदेश पनि कृषिप्रधान प्रदेश नै रहेको छ । कृषिप्रधान देशले उपभोग गर्न मन पराउने धानको उत्पादन उपभोगको मात्रामा कम हुने गरेको यथार्थको धरातलमा हरेक वर्ष देशले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दा धान उत्पादनमा वृद्धि गर्न लगानीको कति प्रतिशत खर्च भएको छ त ? यो प्रश्नको उत्तर सजिलो छैन । कृषिको अन्य क्षेत्र मुख्य गरी पशुपालन, उखु र तरकारी खेतीका साथै मत्स्यपालनमा बढी बजेट गएको पाउँछौँ । धान उत्पादनलाई वृद्धि गर्न अझै पनि योजनाबद्ध किसिमले जान बाँकी नै रहेको छ ।

धानको उत्पादनलाई उपभोगसित तुलना गरेर जबसम्म हरेक स्थानीय तहलाई आत्मनिर्भर बनाउने प्रयास हुँदैन तबसम्म धान उत्पादनमा प्रदेश र देश आत्मनिर्भर हुन कठिन हुन्छ । यसरी विचार गरौँ । यस प्रदेशमा रहेका पालिकाहरुको खाद्यान्नसम्बन्धी अलग्गै एउटा प्रोफाइल बनाइयोस् जसमा चाहिँ कुन पालिकाले वर्षभरिमा कुन कुन खाद्यान्न कति मात्रामा उपभोग गर्दछ र ती खाद्यान्न कहाँबाट आपूर्ति हुन्छ । यो निकै महत्वपूर्ण प्रोफाइल हुनेछ । प्रोफाइल तयार भएपछि सम्बन्धित पालिकामा खपत हुने खाद्यान्नमा कसरी आत्मनिर्भर हुन सकिन्छ भन्नेबारे सम्बन्धित पालिकासित विस्तृत छलफल गरी योजना बनाउनु पर्छ । योजना बनाएर मात्र हुँदैन, कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा पनि गम्भीर हुनुपर्ने वा कार्यान्वयन नभए अन्य क्षेत्रको अनुदानमा असर पर्ने वा कार्यान्वयन गराउने पदाधिकार प्राप्त व्यक्ति स्वतः कारबाहीको भागिदार हुनुपर्ने किसिमले जाने हो भने धेरै हदसम्म खाद्यान्नमा आत्मनिर्भर हुने वातावरण बन्न सक्दछ । यसमा देशको र प्रदेशको कृषि हेर्ने मन्त्रालय तथा सम्बन्धित बाली हेर्ने विभाग वा निकायका साथै अन्य सरकारी र गैरसरकारी संस्थाको समन्वय हुनु आवश्यक छ । कृषकलाई चाहिने मल, बिउ, किटनाशक औषधिका साथै बाली बिक्री हुने निश्चितता, घाटा नहुने उपाय, बिमा, लक्ष्यअनुरुप उत्पादनमा वृद्धि गर्ने किसानलाई उचित सम्मान, लक्ष्यमा पुग्न बढी उत्पादन दरले योगदान दिने किसानलाई विशेष सम्मान गर्न सकिन्छ । यहाँ सम्मानको अर्थ प्रमाणपत्र र दोसल्लामात्र होइन, यसका साथै निजलाई कृषिऋणमा सहुलियत हुनुपर्दछ ।

कृषिऋणमा सहुलियत भन्नुको तात्पर्य निजलाई सुपर फास्ट तरिकाले ऋण सुविधा उपलब्ध गराउने, अन्य कृषकको भन्दा ब्याजमा केही निश्चित प्रतिशत कम ब्याज लिने, उत्पादन र योगदानसहितको कार्यको सम्मानमा पोस्टर बनाएर केही महत्वपूर्ण स्थानमा टाँस्ने, वेभसाइटमा स्थान दिने र सम्भव भएसम्म पत्रपत्रिकामा पनि तिनका बारेमा चर्चा गराउन सकिन्छ । यी र यस्ता गतिविधिले तिनलाई अन्तर्हृदयमा कामप्रति सम्मानको भाव जाग्नुका साथै अरु कृषकलाई पनि सोही कृषिकर्म वा यससँग सम्बन्धित अन्य कृषिकर्ममा आफूलाई अगाडि बढाउन प्रोत्साहन प्राप्त हुन्छ । धान उत्पादनको सन्दर्भमा पनि यो कुरा लागू हुन सक्छ तर यसको लागि आज एक दिन केही गरेर सम्भव हुँदैन । पहिलेदेखि नै योजना बनाउनु आवश्यक हुन्छ र यस वर्ष अब के गर्न सकिन्छ तथा आगामी दिनमा धानको उत्पादनमा वृद्धि गर्न अझ के कति गर्न सकिन्छ भनेर योजना बनाउन सकिन्छ । हामीकहाँ पहिले कुन धान उत्पादन राम्रो हुन्थ्यो ? पहिले त हामी धान बाहिर पठाउँथ्यौँ । अहिले कुन धानको भाततिर बढी मानिसको मन लहसिएको छ ? अहिले त्यस धानको उत्पादनको अवस्था कस्तो रहेको छ । जुन कुराको बढी उपभोग रहेको छ, उत्पादन पनि त्यही कुराको बढी हुँदा उपभोग र उत्पादनमा केही हदसम्म सन्तुलन मिलाउन सजिलो हुन्थ्यो कि ? जुन धानको चामल धेरैले मन पराइरहेका छन्, त्यही धानको उत्पादनमा योजनाद्ध किसिमले अगाडि बढ्न सकिन्छ साथै विश्वको विभिन्न भागमा धानको उत्पादन कस्तो रहेको छ र हाम्रो परिवेशमा त्यहाँ उत्पादन हुने धानको उत्पादन कस्तो होला ? हाम्रो समाजले त्यसलाई मन पराउला कि मन नपराउला भन्नेतिर पनि निरन्तर ध्यान दिइराख्नु पर्छ ।

अनुसन्धान भइरहनु पर्दछ किनभने यदि दुई दशकको चामल खपतको प्रवृत्तिलाई विचार गर्ने हो भने वास्तवमा हाम्रो स्वाद एकै किसिमको रहेको पाइँदैन अर्थात् हाम्रो खपतको प्रकृतिमा परिवर्तन हुँदै आएको देखिन्छ । पहिले जुन धानको उत्पादन हुन्थ्यो, खपत पनि त्यसैको हुन्थ्यो र अहिले केही मात्रामा धानको उत्पादन र खपतको क्षेत्रमा फेरबदल भएको देखिन्छ । आफ्नो उत्पादन बेचेर अर्को धानको चामल किनेर खाने प्रवृत्ति पनि थोरबहुत रहेको देखिन्छ । यदि किसानलाई यसमा फाइदा छ भने त ठिक छ किनभने बढी उत्पादन हुने धान बेचेर कम उत्पादन हुने धानको चामल किनेर खाएका होलान् जसमा धान बेचेर जति रकम प्राप्त गरेका छन् र सोही रकमबाट चामल किन्दा यदि बचत हुन्छ भने त नाफामुखी उत्पादन हुन गयो । तर यदि यसप्रकारले बेच्दा र किन्दामा यदि किसानलाई घाटा भएको छ भने धानको उत्पादनको प्रकृतिमा परिवर्तन गर्नु आवश्यक छ भन्ने नबुझी हुँदैन । यदि हामीले सबैभन्दा बढी खेती धानको गरिरहेका छौँ र पनि बाहिरबाट धान वा चामल मगाइरहेका छौँ भने हामीले गरेको खेती बिरामी रहेको छ । बिरामी खेतीको उपचार गराउनु आवश्यक छ । यस प्रकारको खेतीले नाफा दिइरहेको छैन ।

यसमा सुधार आवश्यक छ । कम्तीमा आफूले खाने धानको उत्पादन आफ्नो होओस् जुन आफैमा स्वस्थ हुन्छ र खाने चामलसित आफ्नोपन गाँसिएको हुन्छ । सम्भव भएसम्म हरेक पालिकालाई हरेक खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाउने बाटोमा अग्रसर गराऔँ । यदि हरेक पालिकाहरु खाद्यान्नमा आत्मनिर्भर हुन सकेमा मुख्य गरी सबैले बुझ्ने गरी जसरी धान दिवस वा रोपाईँ दिवस मनाउँदै दही चिउरा खाने गर्दछौँ, यसको औचित्यमा झन् वृद्धि हुने हुन्छ र यसमा सम्पूर्ण नेपाली गर्व गर्न सक्छौँ ।

Comment


Related News

Latest News

Trending News