जनकपुरधाम । ‘धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ नाराका साथ धनुषाको शहीदनगर नगरपालिकाको हठ्ठीपुरमा १८औं राष्ट्रिय धान दिवस मनाइएको छ ।
विसं २०६१ को सरकारी निर्णयअनुसार असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको छ । हरेक वर्ष नयाँ नयाँ नाराका साथ यो दिवस मनाउने गरिएको हो । दही चिउरा खाने, हिलो छ् यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा यो दिवस मनाउने चलन बनेको छ । मंगलबार बिहान जनता समाजवादी पार्टी, नेपाल प्रदेश २ संसदीय दलका उपनेता रामअशिष यादवको नेतृत्वमा शहीदनगर नगरपालिकाको हठ्ठीपुर गाउँमा नेता, कार्यकर्ता कर्मचारीहरुको पुगेका थिए । प्रदेश सांसद यादवले बेर्ना लिएर खेतमा धान रोपाई गर्न थाले । उनीसँगै आएका नेता, कार्यकर्ता र कर्मचारीहरु पनि धान रोप्नमा जुटे । असार १५ को अवसर पारेर धान दिवस मनाउने साइत सदरमुकाम जनकपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जुराएका थिए । परियोजना प्रमुख युगल किशोर तिवारीको विशेष पहलमा जिल्लाको पूर्वी भेगमा आयोजित धान दिवस कार्यक्रममा सहभागीहरुले धान रोपाई गरे । प्रदेश सांसद यादवले कृषि प्रधान देश नेपालमा किसान समृद्ध नभए सम्म प्रदेश र देश समृद्ध हुन नसक्ने बताए ।
उनले देश र प्रदेशको आर्थिक समृद्धि र विकासका लागि आधुनिक प्रविधिबाट एकीकृत कृषि प्रणालीमा जोड दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयोजनमा ग्रामीण क्षेत्र हठ्ठीपुरमा धान रोपाई कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादव, जसपा नेपाल, धनुषाका अध्यक्ष पशुपति यादव, जनकपुरधाम उद्योग बाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह, एन्टी प्लास्टिक म्यान कृष्ण चन्द्र साह, जसपा नेपालका युवा नेता उमेश निराला, कृषक वौएलाल मण्डलसहित स्थानीय किसानहरुको सहभागीता रहेको थियो ।


