जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बन्धुप्रसाद बास्तोलाले भासिएको सिरहा–धनुषा जोड्ने कमला पुलको शुक्रवार निरीक्षण गरेका छन् ।
निरीक्षणपछि प्रजिअ बास्तोलाले सञ्चालनको तयारी भइरहेको बेला पुल भत्किनु राष्ट्रकै लागि क्षति भएको प्रतिक्रिया दिए । उनले भने, ‘मैले आयोजनासँग बुझेअनुसार हस्तान्तरण गरी नसकेको अवस्था रहेकाले ठेकेदार कम्पनीले नै पुल पुनः निर्माण गर्नुपर्ने हुन्छ ।’ ‘राज्यलाई आर्थिक रुपमा क्षति नभएपनि ढिलो सञ्चालनमा आउनु पनि क्षति हो’, उनले भने, ‘प्राविधिकले यसमा अविलम्ब छानविन गरी यथार्त कुरा सार्वजनिक गर्नुपर्छ । म पनि त्यही हिसावले रिपोर्टिङ र प्रतिवेदन बुझाउछु ।’ ४७० मिटर पुल ४२ महिनामै बनाउने गरी पप्पु–लुम्बिनी जेभीले २०६८ सालमै झण्डै २५ करोडमा ठेक्का लिएको थियो । अहिले भासेको पिलर पप्पुले नै बनाए । पछि घाटा लाग्ने देखेपछि पप्पुले हात झिक्यो । त्यसपछि लुम्बिनी बिल्डर्सले माथिको काम गराएको छ । १२ पिलरमध्ये सिरहा तर्फबाट दोस्रो पिलर बिहीवार विहान भासियो । शुक्रवार बीचको एउटा अर्को पिलर पनि भासिएको स्थानीयले बताएका छन् । पिलर भासिएपछि पैदल आवत–जावतमा पनि रोक लगाइएको छ । यद्दपी शुक्रवार जोखिम मोलेर पनि मानिसहरु आवत जावत गरिरहेको देखियो । पिलर भासिएपछि पुल सञ्चालन अनिश्चित बनेको छ । भासिएको ठाउँमा पुनः पिलर निर्माण गर्न बर्षौ लाग्नेछ ।
अब पुल सञ्चालन हुन्छ र जोखिम यात्रा गर्ने बाध्यता समाप्त हुन्छ भन्ने आशा स्थानीयको थियो । तर पुल भासिएपछि सिरहा–धनुषाका लाखौं मासिन चिन्तित बनेका छन् ।


