बुधवार रातिदेखि भईरहेको अविरल वर्षाका कारण जनकपुरसहित धनुषा जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ ।
वर्षाका कारण धनुषाका एक दर्जन गाउँहरु डुबानमा परेका छन् । कमला र जुडे खोलामा आएको बाढीले उत्तरी र पुर्वी धनुषाका गाउँहरुको दर्जन बढी घर डुबानमा परेको छ । कमला नदिमा आएको बाढीको कारण कमला निर्माण हुदै गरेको पुलको एउटा स्पाम समेत धसेको छ । जनकपुरधाम, सबैला , क्षीरेश्वरनाथ,मिथिला,गणेशमान चारनाथ लगायतका नगरपालिका केहि घरहरु डुबानमा परेका छन् । सडक तथा नालाहरु जिर्ण रहेकोले वर्षाको पानीको निकास नहुदाँ जनकपुरधाम उपमहानगरपालिकाको पेठिया बजार, रामानन्द चोक, नमुना बस्ती, प्रगतिनगर, कपिलेश्वरको नयाँ बस्ती लगायतका मुख्य स्थानहरुमा वर्षाको पानी जमेको छ । जनकपुर बजारका कमद चोकदेखि कपिलेश्वर जाने सडक, पिरारी चोकदेखि नमुना बस्ती जाने सडक, मुजेलियादेखि कभर्ड हल जाने प्रगति नगरको सडक नालामा परिणत भएको छ । नालाको पानी सडक भएर नै बगिरहेकोले आवतजावत गर्ने सर्वसधारण तथा यात्रुहरु मर्कामा परेका छन् । त्यस्तै, बारहविघा तथा तिर हुतिया गाछीमा पनि पानी,हवाई अडाको वरिपरि पनि पानी जमेको छ ।
प्रदेश २ सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको परिसर, खानेपानी संस्थान, वन ,सार ,मालपोत,नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जनकपुर अञ्चल अस्पताल , हुलाक, जनगणना लगायतका कार्यालयहरुमा पनि पानी जमेको छ । धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जिल्लामा रहेको नदि तथा खोलाहरुमा पानीको बहाव बढ्दै गएको बताए । अहिले सम्म मानवीय क्षति नभएको उनले बताए । वर्षाका कारण अहिले सम्म त्यस्तो क्षति भएको छैन, उनले भने,‘ वर्षा जारी रहे क्षतिको सम्भावना छ ।’ पीडितहरुलाई सहयोग गर्न दैविक प्रकोप जिल्ला समन्वय समिति तयारी अवस्थामा रहेको भन्दै उनले भने,‘ प्रहरी सहित सबै निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिएका छौ, र स्थानीय निकायलाई पनि तयारी अवस्था छन्, त्यो अवस्था आए सबै निकाय सक्रिय सहयोगका लागि अगाडी आउँछ ।’


