राजबिराज । केही दिनदेखि परेको अबिरल बर्षाका कारण सप्तरी जिल्लाको त्रियुगा, खडग, सप्तकोशी लगायतको नदिमा आएको बाढीले आधा दर्जन स्थानिय तहका करिव ३ सय घर डुवानमा परेका छन् ।
लगातारको बर्षाले विभिन्न नदि र खोलामा आएको बाढीले जिल्लाको कतिपय स्थानमा रहेको तटबन्धमा कटान समेत सुरू गरेको छ । सप्तकोशी नदिको बाढी शुक्रबार राती बस्तीमा पस्दा हनुमाननगर कंकालनी नगरपालिकाको वडा नम्वर ९, १०, ११, १२, र १३ का करिव २ सय भन्दा बढी घर डुवानमा परेको र नियन्त्रणका लागि स्थानिय स्तरमा उपलब्ध साधन श्रोतले भ्याए सम्म प्रयास गरिरहेको नगरप्रमुख शैलेश साहले बताए । यस्तै त्रियुगा, अमहा, टेंगा, गंगाजली लगायत नदिको पानी पस्दा सप्तकोशी नगरपालिकाको वडा नम्वर १, २, ३ र ४ का करिव १ सय घर डुवानमा परेको नगरप्रमुख उतम गौतमले जानकारी दिएका छन् । उक्त नदिको उच्च बहावले सिद्विपुर र सखुवानीमा रहेको तटबन्ध कटान गरिरहेको नगरप्रमुख गौतमले बताए । यस्तै सप्तरीको डाक्नेश्वरी ६ स्थित खडग खोलामा आएको बाढीले कटैयास्थित तटबन्धमा कटान सुरू गरिसकेको र वर्षा निरन्तर रहे कुनै बेला पनि भत्काउने सम्भावना रहेको नगरप्रमुख शिवनारायण साहले जानकारी दिएका छन । कोरोनाको जोखिम कम नहुदै, बाढीको अर्काे समस्याले थप त्रासमा परेका स्थानियले बाढी ब्यबस्थापनको अविलम्ब माग गरेका छन् । अविरल वर्षाका कारण आएको बाढीले रौतहटमा ३० घरपरिवार विस्थापित भएका छन् । बाढीको कारण नेपाल प्रहरीका केहि युनिटहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण समेत गरिएको हो ।
लालबकैया तथा बागमती नदि ,झाझ खोलामा आएको बाढीले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा रखिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । बाढीको कारण बाँध र पुलमा क्षति पुगेको हो। रौतहटको इशनाथ नगरपालिका १ बन्जरहामा ३ फिट भन्दा बाढी पानी प्रवेश गरेकोले ३० घर परिवार विस्थापित भएको हो । सोहि नगरपालिकाको बैरियामा बकैया बाँधको ओभर फलो भएर पानी बगिदै गरेको र हाल बाध्न सकिने अवस्था नरहेकोले उच्च जोखिम रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताएका छन् । बागमती नदीको स्पर १ को मर्मत कार्य जारी रहेको छ भने गढि़माइ नगरपालिका ६ सिगर्मन धर्मपुर नजिक भएको पुल र बाँधमा क्षति पुगेको छ । बाँधको जाली १५ फिट लामो ३ फिट चौडाई क्षति भएको छ । पुलको पुर्व साइड ढुंगा तार जालीले बनाएको २ बटा ठोक्कर समेत नष्ट भएको प्रमुख जिल्ला अधिकारी यादवले जनाए । दुर्गा भगवती गाउपालिकाका वडा नम्बर ५ बडहरवामा बाढीको पानी प्रवेश गर्दा करिव २ सय घर डुवानमा परेको हो । बाढीको उच्च जोखिमबाट बाँधको सुरक्षित गर्न मर्मतको कार्य जारी रहेको छ ।
राजदेवी नगरपालिकाको बसतपुरमा रहेको प्रहरी चौकी , गौर भन्सार सुरक्षा गार्ड र महादेवपट्टीमा रहेका प्रहरी चौकीको परिसरमा बाढीको पानी पसेर डुवान भएकोले सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरी उपरीक्षक शिद्धि विक्रम साहले जानकारी गरेका छन् ।


