सर्लाही । सर्लाहीमा निषेधाज्ञा फेरि थप गरिएको छ । सोमबार अपरान्ह सदरमुकाम मलंगवामा बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको जोखिम टरिनसकेका कारण असार ३१ गते राती बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले बताउनु भयो ।
सोमबारको बैठकले पसलहरु साँझ ७ बजेसम्म खोल्न दिने र जिल्लाभित्र सबै निजी तथा सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको उहाँले बताउनुभयो । सर्लाहीमा यसरी औपचारिकताका लागि पटक– पटक निषेधाज्ञा थपिए पनि यसको कार्यान्वयन भने भएको छैन् । सबै निकायबाट निषेधाज्ञाको हिच्किचाहट उल्लंघन भइरहेको छ । सरोकारवाला निकाय र आम नागरिक सबैको तर्फबाट भीडभाड र स्वास्थ्य मापदण्डको पालना हुन छाडिसकेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सर्लाहीमा अहिले कोरोना भाइरसका सक्रिय संक्रमित ६९ जना छन् । गएको २४ घण्टामा जिल्लामा नयाँ संक्रमित थपिएका छैनन् भने मृत्यु पनि कसैको नभएको कार्यालयले जनाएको छ । पछिल्ला दिनमा निकै कम मात्राका कोरोना परीक्षण भइरहेको छ ।


