मलगंवा । गएको केही दिनदेखिको अविरल वर्षाका कारण सर्लाहीको पुर्वी पश्चिमी क्षेत्रका ग्रामीण बस्तीहरु जलमग्न भएको छ ।
सडकहरु पनि भत्केर क्षतविक्षत बनेका छन् । गत वर्ष लखनदेही नदीमा आएको बाढीले लाखौंको धनमाल क्षति गरेको मलंगवा नगरपालिका वडा न–५ भाँडसर र वडा न–६ खुटौना बस्तीमा यस वर्ष पनि बाढीले दर्जनौ घरगोठहरु डुबानमा परेको छ । खेतीयोग्य सयौं विग्हा जमिन डुबानमा परेका छन् भने दर्जनौं घरहरुमा पानी पसेको छ । दर्जनौ कच्ची घरगोठहरु भत्किएका छन् । गाउँको पश्चिम तर्फबाट बगेको लखनदेई नदीमा आएको बाढीले गाउँ अहिले टापुमा परिणत भएको छ । गाउँबाट बाहिरिने कुनै बाटो नभएको कारण स्थानियलाई दैनिक उपभोग्य समाग्री समेत खरिद गर्न खोला तरेर आवतजावत गर्नु पर्ने बाध्यता छ । अहिले बाढीको पानीले गाउँबाट सदरमुकाम मलंगवा जोड्ने एकमात्र सडक समेत अवरुद्ध बनेको छ । सदरमुकाम मलंगवाको पुर्वतर्फ भएर बग्ने झिम नदी र पश्चिम तर्फ भएर बग्ने लखनदेही नदीमा पानीको बढ्दा हरेक वर्ष नगरपालिकाको वडा न–५ भाँडसर ,वडा न–६ खुटौना , वडा न–७ मुसैली तथा वडा न–९ ,१० र ११ जलमग्न बन्दै आएको छ । बाढी र डुबानका कारण भएको क्षतिको डाटा संकलन गर्न आफुले सम्बन्धित वडाका वडाध्यक्षहरुलाई निर्देशन दिइसकेको मेयर साहले बताए । डाटा आईसके पछि नगरपालिकाबाट हुने सहयोग र राहत दिन आफु तयार रहेको मेयर साहले बताए ।
नेपाल–भारत सिमा छुट्याउने दशगजाको नहरमा पनि पानीको सतह बढेको छ । लामो समयदेखि मुख्य नाकाबाट आवतजावत बन्द रहेकोले विभिन्न चोर नाका भएर ओहोरदोहोर गर्दै आएका दुवै देशका नागरिकहरु नहरमा पानीको सतह बढेपछि कम्मरदेखि घाँटी मुनीसम्म गहिरो पानी तरेर आवतजावत गर्नुपरेको छ । बस्तीमा नगरपालिकाले सडक बनाउँदा पानीको निकासको लागि नाला नबनाएकै कारण बर्षाको पानी घरघरमा पसेको स्थानीयहरुले बताए । विकासको नाउँमा एउटा सिन्का समेत भाँच्न नसकेका यहाँका जनप्रतिनिधिहरु प्रत्येक वर्ष बाढी र डुबानको समस्याबाट गुज्रिदै आएका यहाँका सर्वसाधारण जनताहरुलाई त्यस्ता समस्याबाट छुटकारा दिलाउन जनताहरुकै बिचबाट निर्वाचित भएर उच्च ओहदामा गएको झण्डै चारवर्ष हुनै लाग्दा समेत केही नगरी बजेट पचाउने काम मात्र गरेको स्थानीयहरुको आरोप छ । जिल्लाका केही बस्ती वर्षाको पानीको निकास नभएर डुबानमा परे पनि बस्ती नै बगाउने खालको क्षति भएको सूचना हालसम्म नआए पनि खोलाले बगाएर सर्लाहीको इश्वरपुर नगरपालिका वडा न–१३ का ४५ वर्षीय रामचन्द्र महतो ,गोडैता नगरपालिका वडा न–३, सीमरा भगवतीपुर बस्ने सुरेन्द्र हजारीकी १३ वर्षीया छोरी रिभा हजारी र कौडेना गाउँपालिका–५ छपकैयाका रामबाबु रायकी ५ वर्षीया छोरी गुड्डी कुमारी रायको ज्यान गएको छ ।
यसवर्ष आएको बाढी र डुबानबाट सर्लाहीमा २८ वटा घर पुर्णरुपमा भत्किएर क्षति भएको छ भने १ सय २७ वटा घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी संतोष सिंह राठौरले जनाएको छ । अविरल वर्षाका कारण सर्लाहीको सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका अन्य सरकारी कार्यालयहरु पनि डुबानमा परेका छन् । वर्षाको पानी कार्यालयको कोठाभित्र पसेर कोठाभित्र राखिएका अतिआवश्यक कागजात तथा फाइलहरु डुबेर खराब हुने स्थितिमा पुगेको सहायक प्रमुख जिल्ला अधिकारी भूमीश्वर पोखरेलले बताए । पानीको निकास बिनाको विकासले पनि कतिपय बस्ती डुबानमा परेका छन् । सडकभन्दा होंचो स्थानमा भएका सर्वसाधारण जनताहरुको घर भित्र पानी पसेर सामानहरु काम नलाग्ने गरि खराब तथा नष्ट भएको छ । बाढीबाट सर्लाहीको सदरमुकाम मलंगवामा मात्र नभइ जिल्ला भएर बग्ने बागमती , लखनदेही ,झिम ,फुलजोर र बाँके खोलामा आएको बाढीले खोला छेउछाउका बस्तीहरु डुबानमा परेका छन् ।


