अपडेट 
२०७८ श्रावण ३, आईतवार ०७:०६

सर्लाही । सर्लाहीको नवलपुर स्थित उष्ण प्रदेशीय बागवानी केन्द्रले यो वर्ष ५२ लाख बढीको आँप बिक्री गरेको छ ।

देशकै सबैभन्दा ठूलो बागवानीले यो वर्ष ठेक्का नलागेपछि कर्मचारी नै खटाएर आँप बिक्री गरेको हो । आँप बेचेर असार मसान्तसम्म ५२ लाख बढी राजस्व बैङ्क दाखिला गरेको केन्द्रका प्रमुख पद्म प्रसाद अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार, अझै एक लाख रुपियाँ हाराहारीको आँप बिक्री हुन बाँकी छ । केन्द्रले आँप बिक्रीबाट अघिल्लो वर्षको तुलनामा यो वर्ष पाँच गुणा बढी आम्दानी गरेको छ । गत वर्ष ठेक्कामार्फत आँप बिक्रीबाट १० लाख ३५ हजार रुपियाँ आम्दानी भएको थियो । यो वर्ष पनि आँप खरिदका लागि एक जना ठेकेदारले ३७ लाख ७२ हजार रुपियाँमा टेण्डर हाल्नु भएको थियो । तर पछि ठेकेदार सम्झौता गर्न नआएपछि कृषि विभागसँग स्वीकृति लिएर बागवानी केन्द्र आफैले मूलगेटमै आँप जम्मा पारेर कर्मचारीमार्फत बिक्री गरेको हो ।

बागवानीको आँप र लिची बर्सेनि एउटै व्यक्तिले सिन्डिकेट लादेर सस्तो मूल्यमा खरिद गर्दै आइरहेको भएपनि यस वर्ष आफूहरुले सिन्डिकेट प्रथाको अन्त्य गरेको केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो । केन्द्रले यो वर्ष सरकारलाई बुझाएको राजस्व पनि वृद्धि भएको छ । यस वर्ष एक करोड एक लाख २० हजार राजस्व जम्मा गरिएको बागवानी केन्द्रले जनाएको छ । गत वर्ष ६५ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो । केन्द्रले यसरी बर्सेनि सरकारलाई लाखौँ रकम राजस्व सङ्कलन गरेर बुझाएपनि केन्द्रको विकासका लागि भने उचित ध्यान पुग्न नसकेको कर्मचारीहरुले गुनासो गरेका छन् ।

Comment


Related News

Latest News

Trending News