प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार विश्वासको मत प्राप्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई सभामुख अग्नि सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा देउवाको पक्षमा १ सय ६५ मत परेको हो । विपक्षमा ८३ मत मात्र प¥यो । मतदानको बखत प्रतिनिधि सभामा २ सय ४९ जना सांसदको उपस्थिति रहेको थियो ।राप्रपा तटस्थ रह्यो । प्रधानमन्त्री देउवालाई काँग्रेस, माअोवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा)का दुवै समुह र एमालेकापनि दुवै समुहबाट मत परेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षमा खुलेका सांसदहरुले पनि देउवालाई मत दिएका हुन् । सर्वोच्च अदालतले ७६ (५) को प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसदलाई राजनीतिक दलसम्बन्धी ऐनअनुसार कारवाही गर्ने नमिल्ने फैसला गरेको थियो ।विश्वासको मत दिने एमालेका सांसदहरुलाई समेत कार्वाही नहुने भएकोछ । देउवाको पक्षमा रहेको जसपाका अध्यक्ष उपेन्द्र यादव समुहमा शनिवार र आईतवार महन्थ ठाकुर समुह छाडेर आउनेको संख्या ८ नाघेपछि बहुमतका लागि चाहिने आवश्यक संख्याको नजिक पुगेको थियो । यादव समुह १२जना सांसद सहित देउवाको पक्षमा चट्टान झै अडेपछि ठाकुर समुहको प्रलोभनमा परेका राजकिसोर यादव सहित ८ जना सांसद यादवको पक्षमा लागे लगतै ठाकुर समुहले ‘नाक’ जोगाउन अन्तिम समयमा देउवालाई नै मतदान गर्ने निर्णय लिए ।
ठाकुर समुह आइतवार बिहान सम्म देउवाको विपक्षमा मतदान गर्ने बताउँदै आएपनि सांसदहरु यादव समुहमा जान थालेपछि प्रधानमन्त्री देउवालाई मतदानका लागि आग्रह गर्न पत्र पठाइदिन अनुनय गरेका थिए ।देउवाले ठाकुरलाई व्यक्तिगत सांसदको हैसियतमा पक्षमा मतदान गर्न आग्रह गरेको पत्र दिएपछि उनीहरुले निर्णय फेर्दै मतदानमा सहभागि भएका थिए । पुनःस्थापित प्रतिनिधि सभाको दोस्रो बैठकमा तत्काल कायम संख्याको बहुमत सदस्यले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका हुन् । देउवालाई कांग्रेस र (माओवादी केन्द्र)का सांसदले पार्टी निर्णयबमोजिम नै मतदान गरे । राष्ट्रिय जनमोर्चाले देउवाको पक्षमा मतदान गरेको हो ।जनमोर्चा विपक्षी गठबन्धनमा प्रारम्भदेखि नै सहभागि थियो । जसपाका विवादरत दुवै पक्षले मतदान गरेपनि महत्वपूर्ण पक्ष भने एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षधर सांसदले समेत फ्लोर क्रस गरे ।यसले ओलीको नियन्त्रण पार्टीमा नरहेको प्रष्ट भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देउवालाई विश्वासको मत नदिने संस्थागत निर्णय गरेको थियो । तर माधव कुमार नेपाल सहित ओली समुहबाट समेत सांसदले देउवालाई मत दिए ।माधव नेपाल पक्षको समर्थन पाउने पक्का भएपछि नै देउवाले विश्वासको मत लिने प्रक्रिया अगाडि बढाएका थिए ।नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् ।
देउवालाई मत दिने एमालेका सांसदहरुमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् । त्यसैगरि गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिए । एमालेका माधव नेपाल पक्षका केही सांसद तटस्थ बसेका थिए ।सर्वोच्च अदालतमा रिट दायर गर्ने बेलामा देउवाको पक्षमा हस्ताक्षर गरेका एमाले नेता घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतले अन्तिममा आएर देउवालाई मतदान गरेनन् । भीम रावलले मतदान हुनुअघि नै सांसद पदबाटै राजीनामाको घोषणा गरे । सर्वोच्चको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले असार २९ गते देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

