२०७८ श्रावण ४, सोमबार ०७:२३

जनकपुरधाम । कुर्था–जनकपुरधाम– जयनगर (भारत) रेल्वे लिकको आईतवार स्पिड परीक्षण र सर्टिफिकेसन गरिएको छ ।

११० देखि ११५ किलोमिटर प्रतिघण्टाको स्पिडमा रेल कुदाएर लिकको परीक्षण गरेको हो । भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पिड टेस्ट गरिएको बताइएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका इन्जिनियर बिनोद झाले रेल्वे लिकको परीक्षण सफल भएको दावी गरे । कुर्थाबाट जयनगर पुग्न २३ मिनेट लागेको उनकले बताए । उनले भने, ‘भारतीय पक्षका अधिकारीहरुले नै लिकको परीक्षण गरेका छन् । हामी पनि सहभागी थियौं ।’ १२० किलोमिटरको स्पिडमा रेल गुड्दा लिकले थेग्न सक्छ कि सक्दैनन् भन्ने यकिन हुन स्पिड परीक्षण गरिएको इन्जिनियर झाको भनाई छ । परीक्षण सफल भएपछि लिक मापदण्ड अनुसार बनेको देखाएको छ । तर परीक्षणका लागि कुदाएको रेलको क्षमता भने प्रतिघण्टा ११० किलोमिटर स्पिड मात्र रहेको थियो । त्यसैले १२० किलोमिटर प्रतिघण्टाको स्पिडमा रेल गुडेकोमा शंका उब्जिएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पनि १२० किलोमिटरको स्पिडमा रेल कुदाएर लिकको स्पिड परीक्षण गर्ने बताएको थियो ।

उनले रेल्वे लिकको स्पिड परीक्षण गर्नुपर्ने भन्दै वरपर खाली राख्न सूचना समेत जारी गरेको थियो । हरेक स्टेशनमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । रेल आउनुभन्दा आधा घण्टा अगावै प्रहरीलार्य सूचना दिइएको थियो । सूचना पाएलगत्तै प्रहरीले ठाउँ–ठाउँको क्रस बाटो अवरुद्ध पारेका थिए । यद्दपी परीक्षणका क्रममा रेलमा किचिएर एउटा बाख्राको मृत्यू भएको छ । जयनगरदेखि बर्दिबाससम्म ६४ किलोमिटर रेल्वे लिक बनाउने सम्झौता भारतीय कम्पनीसँग भएको छ । तर अहिले कुर्थासम्म ३४ किलोमिटर लिक मात्र तयार भएको छ । कुर्थादेखि बर्दिबासम्म लिक निर्माणाधिन अवस्थामा रहेको छ । सरकारले खरिद गरेको दुई सेट रेल भने इनर्वा स्टेशनमै थन्किएको छ । उक्त रेलबाट परीक्षण गर्न नमिल्दे भन्दै रेल्वे अधिकारीले भारतबाट अर्को रेल ल्याइएको थियो । कोरोना महामारी, कर्मचारी व्यवस्थापन र कानुन अभावका कारण रेल सञ्चालनको टुङ्गो अझै लाग्न सकेका छैन ।

Comment


Related News

Latest News

Trending News