लालबन्दी । सर्लाहीको बागमतीस्थित भरत तालमा डुबेर बेपत्ता भएका युवक मृत फेला परेका छन् ।
शनिबार तालमा माछा मार्न जाँदा डुबेर बेपत्ता भएका बागमती नगरपालिका–१ मिलन चौकका १८ वर्षीय सुशान्त थापा मगर आईतबार साँझ साँढे ५ बजेतिर मृत फेला परेका हुन् । शनिबार अपरान्ह ४ बजेदेखि तालमा डुबेर बेपत्ता भएका युवकको २५ घण्टापछि शव फेला परेको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर खोजी गर्दा युवकको शव फेला परेको हो । बोटमा चढेर तथा पौडी खेलेर खोज्दा समेत युवकको अवस्था थाहा हुन नसकेपछि भ्याकुमको सहायतामा पानी पन्छाएपछि युवकको शव फेला परेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अवधेश कुमार यादवले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, मलङ् गवा पठाईएको छ । बागमती नगरपालिकाले वडा नं. १२ मा १ सय २१ बिघा क्षेत्रफलमा ताल निर्माण गरिरहेको छ । तालमा बागमती नदीको पानी ल्याएर हाल्ने गरिएको छ । निर्माणाधीन ताललाई दुई भागमा बिभाजन गरिएको छ । अहिले तालको दक्षिणी भागमा पानी सुकिसकेको छ भने उत्तरी भागमा मात्रै पानी छ ।
गहिरो पानी जमेको स्थानमा डुबेर युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । युवकसँगै माछा गर्न गएका अरु ५/६ जना भने सकुशल बाहिर निस्कन सफल भएका थिए ।


