केश यादव गौर । रौतहटको मौलापुर नगरपालिकाका प्रधानमन्त्री स्वरोजगार कार्यक्रम संयोजक श्रद्धा अर्याल सुमनले रकम अनियमितता गरेको तथ्य खुलेको छ ।
१०० दिने रोजगार कार्यक्रम अन्तर्गत खटेका महिला पुरुषले पाउने पारिश्रमिकको रकम ठगि गरेको भन्दै पीडितहरुले संयुक्त रुपमा निबेदन दिदा तथ्य खुलेको हो । मौलापुर नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को कार्यक्रम अन्तर्गत खटाएका बेरोजगारहरुको तलब भुक्तानीमा रोजगार संयोजक अर्यालले सादा चेकबुकमा पहिला नै सहिछाप गराई रकम निकालेको आरोप लगाएका हुन् । जिल्ला प्रसाशन कार्यालयका प्रशासकीय अधिकृत मुकेश चौरसियालाई बुझाएको निबेदनमा खातामा नगरपालिकाबाट ५० हजार १ सय ८३ रुपैयाँ गएकोमा सो रकम रोजगार संयोजक अर्यालले निकाली १७ हजार रुपैयाँ मात्र दिएको उल्लेख गरिएको छ । कार्यक्रम अन्तर्गत १८३ जना कार्य गरेकोमा सवैलाई १७ हजारको दरले नगद भुक्तानी गरि ३३ हजारको दरले रकम भर्पाई गराएको निबेदनमा दावी गरिएको छ । स्थानीय वडा नम्बर ९ मा बस्ने माहा देवीले ५१७ रुपैयाको दरले १०० दिन कार्य गरेको र मौलापुरमा रहेको राष्ट्रिय बाणिज्य बैंक १ हजार रुपैयाँ राखेर खाता संचालन गरेको बताउदै पहिला नै सादा चेकमा सहि छाप गराएको बताए । गरिव अनपढ भएको व्यक्तिलाई सहि छाप गराई ५० हजार १ सय ८३ रुपैयाँ निकालेर ११ हजार तथा कसैलाई १७ हजार मात्र रकम दिएको बताए । बैंक खातामा असार १३ गतेमा ५० हजार १ सय ८३ रुपैया जम्मा भएको र सो रकम झिकिएको विवरणबाट पुष्टि भैरहेको छ ।
सोनरनिया , पतौरा , गम्हरिया र मर्यादपुरका दलित समुदायका महिलाहरु सो कार्यक्रममा सहभागी भएकोमा रोजगार संयोजकले ६० लाख ३९ हजार रुपैया हिनामिना गरेको छ । सोनरनियाका रिंकु देवी , लक्ष्मीनिया देवी र मिना देवीले आफुलाइ एक रुपैया समेत नदिएको बताएकी छिन् । निलम्बित संघीय सांसद प्रभु साहको पत्नी रिना कुमारी साह नगर प्रमुख भएको सो नगरपालिकाका रोजगार संयोजक मेयरको सुरक्षा गार्डको रुपमा पनि कार्य गर्दै आएको बुझिएको छ । नगरपालिकाका निमित प्रमुख प्रसाशकीय अधिकृत रामबाबु साहले छनौट भएका १८३ जना रहे पनि व्यवहारिक रुपमा २६४ जना खटेको जानकारी दिएका छन् । कानुनी रुपमा १८३ जना मात्र रहेको भनाइ उनको रहेको छ । १८३ जनाको खातामा नियमानुसार रकम भुक्तानी गरिएकोमा रोजगार संयोजक अर्यालले के कसरि गरेको भने जानकारी नरहेको प्रतिक्रिया उनले दिएका छन् । निमित प्रमुख प्रशासकीय अधिकृत साहले १८३ जनाको पारिश्रमिकबाट नै व्यवहारिक रुपमा खटेका ८१ जनालाइ रकम दिइएको बताए । मिहिनेत गर्नेको रकम अनियमित तरिकाबाट आफ्नो पार्टीका कार्यकर्ताहरुलाई बाडिएको आरोप स्थानीय युवा नेता लखिन्द्र राय यादवको रहेको छ ।
मौलापुर नगरपालिकामा खुलेयाम रुपमा भ्रष्टाचार हुने गरेको भएपनि छानविन गर्ने निकाय मौन रहेको यादवले बताए ।


