आर्थिक रुपले सबल र समृद्ध नभई प्रदेश समृद्ध नबन्ने भएकोले प्रदेश २ लाई समृद्ध कृषि प्रधान प्रदेश बनाउने गरी प्रदेश सरकार अघि बढेको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री सैलेन्द्र प्रसाद साहले बताएका छन ।
विहीबार सर्लाहीको लालबन्दी नगरपालिका स्थित डुमडुमे महादेव मन्दिर अगाडी रहेको कृषि थोक बजार व्यवस्थापन समितिको प्रवेशद्वारको उद्घाटन गर्दै मन्त्री साहले यस्तो बताएका हुन् । प्रदेश नम्बर २ लाई समृद्ध कृषि प्रधान प्रदेश बनाउन प्रदेश २ सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर निति,कार्यक्रम तथा बजेट विनियोजन गरेको उहाँले जानकारी गराउनुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यहाँका किसानहरुलाई जिल्ला बाहिरबाट बीउ ल्याएर खेती गर्नुपर्ने बाध्यता रहदै आएको प्रदेश सरकारले महसुस गरेको र यस्तो अवस्थाबाट किसानहरुलाई छुटकारा दिलाउन अब चाँडै सर्लाही जिल्लामै बीउ उत्पादन तथा भण्डारण गर्ने व्यवस्था मिलाउने तयारी प्रदेश सरकारले गरिरहेको समेत उहाँले जानकारी गराउनुभयो । प्रदेश सरकारको २५ लाख रुपैयाँ र बजार व्यवस्थापन समितिको १५ प्रतिशतको लगानीमा प्रवेशद्वार निर्माण गरिएको हो ।
कृषि ज्ञान केन्द्र सर्लाही मलंगवाले आयोजना गरेको कार्यक्रममा प्रदेश नम्बर २ का सांसद सञ्चमाया मोक्तान, बेची लुङ्गेली, लालबन्दी नगरपालिकाका नगर मानबहादुर खडका , कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेव कुशवाहा लगायतले आ– आफ्नो धारणा राखेका थिए ।


