राजविराज । विश्व हिन्दु परिषद् सप्तरीले बिहीबार राजविराजमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुतला दहन गरेको छ ।
भट्टराईले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथले गंगा नदीमा दुध चढाएको विषयमा ट्विटर मार्फत गरेको टिप्पणीको बिरोध गर्दै परिषद्का अगुवाहरुले उनको पुतला दहन गरेको हो । स्थानिय हनुमान मन्दिर अगाडीबाट निस्केको जुलुस नगर परिक्रमा गर्दै जनआन्दोलन चौकमा पुगि पुतला दहन गरेको थियो । भट्टराईको टिप्पणी हिन्दु धर्मप्रति आस्थावानहरुलाई चोट पु¥याउने खालको रहेको कारण बिरोध गर्नुपरेको परिषद्का सगरमाथा सत्संग विभागका सहसंयोजक जंगबहादुर सिंहले बताए । “विश्वास एउटा खतरनाक कुरा हो, यसले तपाईलाई दुध र मुत फ्याक्न प्रेरित गर्छ” भनी डा. भट्टराइले भारत उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले गंगा नदीमा दुध चढाउँदै गरेको चित्रप्रति ट्वीटरमार्फत टिप्पणी गरेका थिए । यस्तै सप्तरीमा पनि उनको पुतला जलाइएको छ । हिन्दु धर्ममाथि निरन्तर प्रहार गरिरहेको भन्दै राष्ट्रिय एकता अभियानका कार्यकर्ताले बिहीवार जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गरिएको छ । जनकपुरस्थित जनक चोकमा अभियानका कार्यकर्ताहरुले डा. भट्टराईविरुद्ध प्रदर्शन गरेका हुन् । अभियानका जनकपुर संयोजक मनिष पूर्वेको नेतृत्वमा युवाहरुले डा. भट्टराईविरुद्ध नाराबाजी गर्दै उनको तस्विर समेत जलाएका छन् । प्रदर्शनमा सहभागीहरुले इसाइका दलाल, देश बेचुवा, भातृभुमिका गद्दार लगायतका आरोप लगाएका थिए ।
डा. भट्टराईले ट्वीटरमार्फत हिन्दु धर्मको विषयमा विवादास्पद अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिको विरोध गर्दै वीरगञ्जमा जसपा यूवा संगठनका ११ जनाले राजीनामा समेत दिएका छन् ।


