अपडेट 
२०७८ श्रावण १२, मंगलवार ०७:००

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामले कोभिड–१९ वार्डका लागि भर्ना गरेका करार कर्मचारीहरुले पुनः ६ महिनाको नियुक्ति दिनुपर्ने माग गरेका छन् ।

एमबिबिएस, एचए, स्टाफ नर्स, ल्याबलगायतका १२६ कर्मचारी करारमा कोभिड वार्डका लागि नियुक्त गरिएको थियो । तर उनीहरुलाई डेढ महिनामै अर्थात् असार मसान्तसम्म मात्र राखेर विदा गरिएको छ । सामाजिक विकास मन्त्रालयको निर्देशन अनुसार कर्मचारीलाई बिदा गरिएको प्रादेशक अस्पतालले जनाएको छ । सामाजिक विकास मन्त्रालयले भने कतिपय जिल्लाका कोभिड अस्पतालका कर्मचारीहरुमध्ये आधालाई ६ महिनाका लागि म्याद थप्न पत्राचार गरेको छ । तर प्रादेशिक अस्पतालको कोभिड वार्डका कर्मचारीहरुको म्याद थप्न मन्त्रालय आनानकानी गरेको छ । जागिरको म्याद थप्न प्रादेशिक अस्पताल कोभिड वार्डका करिब दर्जनौं पूर्व कर्मचारी सोमवार सामाजिक विकास मन्त्रालय पुगेका थिए । तर मन्त्रालयमा न मन्त्री भेटे, न सचिव । मन्त्री नवल किशोर साह काठमाडौंमा छन् । सचिव समेत मन्त्रालय आउने गरेका छैनन् । कोही नभेटेपछि उनीहरु रित्तो हात फर्किए । एचए पदमा कोभिड वार्डमा काम गरेका धर्मेन्द्र पाण्डे भन्छन्, ‘कतिपय जिल्लामा कर्मचारीको म्याद थपिसकेको छ । प्रदेश २ को मुख्य अस्पताल त प्रादेशिक अस्पताल हो । तर यहाँकै कोभिड वार्डको कर्मचारीलाई बिदा दिएको छ ।

कम्तिमा ६ महिना राखेको भए प्रमाण–पत्र पनि पाउथेँ ।’ अस्पतालबाट बिदा पाएका कर्मचारीहरु भने विगत १० दिनदेखि मन्त्रालय धाएपछि सोमबार बल्ल तलब पाएका छन् । तर जोखिम भत्ता भने पाएनन् । बिदा पाएका एक कर्मचारीले भने, ‘नियुक्ति पत्रमै ५० प्रतिशत जोखिम भत्ता दिने उल्लेख छ । तर भत्ता नै दिएनन् ।’ ज्यान प्रवाह नगरी काम गरेको तर जोखिम भत्ता नदिएर अन्याय गरेको उनको भनाई छ ।

Comment


Related News

Latest News

Trending News