रौतहट जिल्लाको सुरक्षा निकायका प्रमुखहरुको दोस्रो समकक्षी बैठक भारत विहार राज्यको पूर्वी चम्पारणको मोतिहारी जिल्लामा सम्पन्न भएको छ ।
नेपाल–भारत सिमामा उत्पन्न हुने समस्याको समाधानको विषयमा छलफल गर्नको लागि रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको पहलमा उक्त समकक्षी बैठक सम्पन्न भएको हो । यस अघि असार २८ गते सीतामढीमा बैठक भएको थियो । दुइ सत्ता भित्रमा भएको दोस्रो समकक्षी बैठकमा सहभागी हुन् पुगेका प्रमुख जिल्ला अधिकारी यादवलाई भारतीय प्रहरीले सम्मान गरेका थिए । कोरोना संक्रमणको कारण गएको डेढ वर्षदेखि बन्द रहेको आवागमनमा सहज बनाउने, सीमामा हुने अवैध कारोवार, गतिविधि नियन्त्रण गर्ने विषयमा दुवै देशका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक विच समन्वय बैठक भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । रौतहटको स्थानीयहरुको सुरक्षा प्रति गम्भीर रहेका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहको प्रयास जनहितकारी रहेको छ । बैठकमा दशगजा क्षेत्र इशनाथ नगरपालिका औरैया , बन्जरहामा भारत पक्षबाट निर्माण भएको बाँधबाट नेपाली भुमि अतिक्रमण , पिलर नम्बर ३४७ को मर्मत सम्वन्धि, अपराधी लुकेर बस्ने , तस्करी नियन्त्रण गर्ने विषयमा छलफल भएको छ । लालबकैया र बागमती नदीबाट आउने बाढीले उत्पन्न हुने प्राकृतिक समस्याको समाधानको लागि भारतीय बाँधमा लगाईएको सुलिस गेट खोल्ने विषयमा सहमति भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
कोभिड व्यवस्थापनमा द्विपक्षीय रुपमा सहयोग गर्नुको साथै अत्यावश्यक मेडिकल तथा आकस्मिक समस्या परेको बेला आवागमनमा व्यवस्थापन गर्ने र द्विपक्षीय सम्बादलाई निरन्तरता दिने प्रतिवद्धता भारतीय समकक्षीले जनाएको छ । बैठकमा नेपालबाट प्रमुख जिल्ला अधिकारी यादव, नेपाल प्रहरीका प्रहरी प्रमुख शिद्धि विक्रम शाह , सशस्त्र प्रहरी उपरीक्षक सुर्य बहादुर सेन ओली, मोतिहारी जिल्लाको डिएम शिर्षथ, एसपी नविन चन्द्र झा लगायतका प्रहरी पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


