जनता समाजवादी पार्टी(जसपा) लाई कब्जा गर्न महन्थ ठाकुर फेरी सर्वोच्च अदालतमा मुद्दा हालेका छन् ।
जसपाको विवादमा निर्वाचन आयोगले साउन ११ गते अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने गरेको फैसला बिरुद्ध ठाकुरले रिट दर्ता गरेका हुन् । यस अघि उनले निर्वाचन आयोगले गरेको हेड काउण्ट(सनाखत)को प्रकृयालाई रोक्न सर्वोच्चमा रिट हालेका थिए ।तर ठाकुरको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि निर्वाचन आयोगले नियमित प्रकृयालाई अगाडी बढाउदै हेड काउण्टगरि यादव पक्षलाई आधिकारिकताको मान्यता दिएको थियो । आयोगको निर्णयबाट आफ्नो राजनीतिक भविष्य समाप्त हुन लागेको ठाकुर दुःखेसो सहित अदालतमा रिट दायर गरेका हुन् ।यस अघि उनले साउन ८ गते निर्वाचन आयोगको हेड काउण्ट प्रकृयालाई रोक्न अन्तरिम आदेश मागगर्दै अदालतमा रिट हालेका थिए ।सो रिटमा शुक्रवार तीनै पक्षलाई छलफलका लागि बोलाउने अदालतले आदेश गरेको थियो । निर्वाचन आयोगले फैसलागरि यादव पक्षलाई आधिकारिकता प्रदान गरिसकेपछि छलफलको औचित्य नरहेको निस्कर्ष निकाल्दै फैसला कार्यान्वयन रोक्न अन्तरिम आदेशको माग ठाकुरले गरेका छन् ।अब दुवै मुद्दालाई एकै साथ अगाडी बढाउने अदालतले आदेश गरेको जसपा कार्यकारिणी समितिका सदस्य प्रकाश अधिकारीले जनाए । सर्वोच्च अदालतमा दर्ता गरिएको पछिल्लो रिटमा आयोगको आदेशले पार्टी विभाजन हुने र पार्टी विभाजन हुँदा केन्द्रीय नेतृत्वको प्रयोजन समाप्त भई आफू लगायतलाई अपूरणीय क्षति हुने भएकाले आयोगको निर्णय कार्यान्वयन नगर्न, नगराउन उत्प्रेषणको आदेश लगायतका आदेशहरु ठाकुरले माग गरेका छन् ।
निर्वाचन आयोगको निर्णयले आफूलाई अन्याय भएको भन्दै उनले उक्त निर्णय तत्काल कार्यान्वयन नगराउन माग रिट निवेदनमा माग गरेका छन् । ठाकुरले आफ्नो संवैधानिक हकमा समेत आघात परेको रिटमा उल्लेख गरेका छन् । ‘निर्वाचन आयोगको मिति २०७८/४/११ गतेको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भई यस पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने सम्भावना रहेकाले म समेत सम्पूर्ण सरोकारवालालाई अपुरणीय क्षति पुग्ने भएकाले सुविधा सन्तुलनको दृष्टिबाट समेत यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निर्वाचन आयोगको मिति २०७८/४/११ गतेको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरी पाउँ ’ठाकुरको रिट निवेदनमा उल्लेखछ । उनले यादव पक्षलाई जसपाको आधिकारिता दिने र आफ्नो पक्षलाई नयाँ दल दर्ता गर्न दिने आयोगको ११ साउनको निर्णय बदर गर्न माग गरेका छन् । १६ जना कार्यकारिणी सदस्य भएको ठाकुर पक्षलाई भने प्रचलित कानून अनुसार नयाँ दल दर्ता गर्न सक्ने भनिएको छ ।जसपाको हाल प्रतिनिधि सभामा रहेका ३२ जना सांसद मध्ये ठाकुरको पक्षमा १२ जना मात्र सांसद रहेका छन् । जसपालाई ठाकुर र राजेन्द्र महतोले मिलेर पूर्व राष्ट्रिय जनता पार्टी(राजपा)जस्तै बनाउन खोजेपछि यादव समुहसित टकराव सुरु भएको थियो ।ठाकुरले लोकतान्त्रिक विधिप्रकृयालाई लत्याउँदै पार्टीमा निर्णय गर्न थालेपछि विवाद चुलिएको थियो ।पार्टीको निर्णय बेगर नै उनले लक्ष्मण लाल कर्ण र सवेन्द्र शुक्ललाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सित छलफल गर्न कार्यदल बनाएका थिए ।संसदीय दलको विधान नबन्दै एमालेका नेता महेश बस्नेतको प्रमुख आतिथ्यमा महतो जसपा संसदीय दलका नेता बनेको आरोप सांसद प्रदिप यादवले लगाए ।
आयोगको निर्णयले आफूहरु अन्यायमा परेको भन्दै ठाकुरले रिटमा १ असार २०७८ मा आफूले हेरेफेर गरेको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने र त्यसका आधारमा पार्टीको आधिकारिकता निरुपण गर्नुपर्ने माग समेत गरेका छन् । पार्टीको ५१ सदस्यीय केन्द्रिय कार्यकारिणी समितिमा १६ जना मात्र पक्षमा देखिएपछि ठाकुरले असार १ गते कार्यकारिणी समितिबाट यादव पक्षका २० जनालाई हटाएर आफ्ना समर्थित २० जना थप गरेका थिए ।‘१६ जनाले २० जनालाई हटाउने निर्णय गरेको नै हास्याष्पद रहेको छ’कार्यकारिणी समिति सदस्य विजय कुमार यादवले भने, दुई तिहाई भन्दा बढी सदस्य रहेको पक्षलाई निर्वाचन आयोगले मान्यता दिएको फैसलालाई चुनौती दिनु नै गैह्र राजनीतिक चरित्र हो । जसपा गठन भएदेखि नै ठाकुरले विधिविधान अनुसार संगठनात्मक गतिबिधिलाई अगाडी बढन नदिएको आरोप लगाउँदै यादवले भने, सर्वोच्च अदालतलेपनि पार्टीको बहुमत पक्षलाई नै मान्यता दिनेछ । ठाकुरका वारेस महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ७ बस्ने प्रदिप कुमार पाठकले दायर गरेको सो रिटको आइतवार पेशी तोकिएको छ ।दुवै पक्षले अदालतको आदेश आ–आफ्नो पक्षमा आउने दावी गरिरहेका छन् ।
जसपाको कार्यकारिणी समितिबाट हाल औपचारिक रुपमा कसैलाई नहटाइएपनि अनौपचारिक रुपमा ठाकुरको पक्षमा सनाखत गर्ने सबैलाई कार्यकारिणी समितिबाट हटाइसकिएको छ ।पार्टीको तीन सम्म चलेको कार्यकारिणी समितिको बैठकमा ठाकुर पक्षलाई सहभागि गराइएको थिएन् ।

